राजा वीरेन्द्रलाई देखाउन पाखाभरी काउली, ओलीलाई नेपालको नक्सासहितको केक !
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ जन्मोत्सव मनाइरहँदा कतिपय विषयले विवाद सिर्जना गरेका छन् । कम्युनिस्ट प्रधानमन्त्रीको जन्मोत्सव मनाउन चार वटा हेलिकप्टर प्रयोग गर्नु, केक ओसार्न हेलिकप्टर प्रयोग गर्नु, नेपालको नक्सा अंकित केक काट्नुजस्ता विषयले विवाद सिर्जना गरेका हुन् ।
रोगबाट बेलाबखत सास्ती खेप्दै आएका प्रधानमन्त्री ओलीले आफू अझै १०÷१५ वर्षसम्म बाँच्ने बताउँदै आएका छन् । उनी त्योभन्दा बढी बाँच्न सकुन्, जनताको शुभेच्छा छ । यो शुभेच्छा उनको जीवनबाट देश र जनताले नयाँ काँचुली फेर्न सकोस् भन्ने सामूहिक स्वार्थका साथ जनस्तरबाट प्रकट हुने गरेको हो ।
यस विपरीत प्रधानमन्त्री ओलीको वरिपरि संकीर्ण स्वार्थ बोकेको एउटा यस्तो समूह छ, जसले उनलाई प्रयोग गरेर आफू र आफ्नो राजनीतिक, आर्थिक भविष्य सुधार्ने पहलकदमी नै बुद्धि र विवेक खर्चने गरेको छ ।
त्यस्तो समूहले ओलीलाई लोकप्रिय बनाउने, उनले अघि सारेका लक्ष्यलाई साकार तुल्याउने भूमिका निर्वाह गर्नुभन्दा पनि ओलीले आर्जन गरेको लोकप्रियतामा टेकेर आफ्नो स्वार्थ पूरा गर्नु नै मुख्य लक्ष्य बनाएको छ ।
प्रधानमन्त्रीको स्वभाव
प्रधानमन्त्री ओलीको स्वभाव अन्य नेताको तुलनामा केही पृथक छ । उनी अध्ययनशील छन्, इतिहास तथा घटनाक्रमबारे राम्रो ज्ञान राख्छन् तर त्यस्ता ज्ञानलाई उनी व्यङ्ग्यमार्फत विरोधीहरुमाथि प्रहार गर्न खर्चन्छन् ।
उनीबाट व्यक्त हुने यस्ता प्रतिक्रिया सुन्दा धेरैलाई हाँसो उठ्छ, त्यो हाँसोलाई प्रधानमन्त्रीले आफ्ना भनाइ तथा टिप्पणीप्रतिको समर्थन ठान्छन् । वास्तवमा सबै हाँसो उनीप्रतिको समर्थन हुँदैनन्, कयौँ हाँसोले उनको सोच र मानसिकताको मजाक उडाइरहेको पनि पाइन्छ ।
प्रधानमन्त्री ओली आफ्नै सोच अनुसारको टीमलाई वरिपरि राख्छन् । विपक्षीमाथि तिखो टिप्पणी गर्ने, विरोधीहरुले उठाएका मुद्दालाई खारेज गर्न सक्ने, तिनमा कडा प्रतिक्रिया दिन सक्ने व्यक्ति नै प्रधानमन्त्री ओलीको सहयोगी समूहमा सामेल गरिएका हुन्छन् । जसले गर्दा कहिलेकाहीँ सामान्य छलफलबाट समाधान हुन सक्ने मुद्दा पनि अनावश्यक रुपमा चर्किन्छन्, विवादमा आउँछन् र नकारात्मक परिणाम ल्याउँछन् ।
यस अतिरिक्त प्रधानमन्त्री ओली शक्ति एकत्रित गर्न रुचाउँछन् । यसैको उदाहरणस्वरुप उनले नीति–नियममा परिवर्तन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई अभूतपूर्व अधिकारसम्पन्न बनाएका छन् ।
प्रधानमन्त्री ओलीले सम्पूर्ण शक्ति एकत्रित गर्ने भएकै कारण उनका सहयोगीहरुले अरु कसैको वास्ता गर्दैनन् । पार्टीका कतिपय अनुभवी, पुराना नेताको तुलनामा प्रधानमन्त्रीका सहयोगी टिममा रहेका सदस्यहरु आफूलाई नै प्रमुख र शक्तिशाली ठान्ने गर्नुमा पनि प्रधानमन्त्री ओलीमै सर्वशक्ति निहीत रहनु मुख्य कारण हो ।
त्यसैले पार्टीको वरियतामा निकै तल्लो क्रममा रहे पनि प्रधानमन्त्री ओलीका सल्लाहकार समूहले माथिल्लो वरियताका नेताहरुसँग वाकयुद्धसमेत गर्ने गरेका छन् । जसले गर्दा पार्टीभित्रै पनि ओलीका कार्यशैलीप्रति असन्तुष्टि चुलिँदै गएको देखिन्छ ।
आत्मप्रशंसा
प्रधानमन्त्री ओली आत्मप्रशंसा रुचाउँछन् । सरकारका आलोचनालाई उनीहरु ‘विरोधीको स्वाभाविक धर्म’ मान्दै वास्ता गर्दैनन् । जबकि कतिपय विषयमा उनका शुभचिन्तकहरु, पार्टीभित्रकै सदस्यहरुले समेत बेलैमा सचेत तुल्याउन कमी–कमजोरी तथा गल्तीहरु औँल्याइदिने गरेका हुन्छन् । तर कसैले यस्तो चेष्टामात्र गरेमा उसलाई ‘विरोधी’ कित्तामा राख्ने र तिखा टिप्पणीमार्फत प्रहार गर्ने प्रवृत्ति पनि बारम्बार देखिएको छ ।
यसको विपरीत प्रधानमन्त्री ओलीका निकट रहने समूहले भने आत्मप्रशंसामै बल पुग्ने खालका गतिविधि र क्रिया–प्रतिक्रियाका लागि ओलीलाई उक्साउने गर्दछन् । परिणामस्वरुप सप्तकोशीमा चलेको स्टिमर होस् या नारायणी नदीमा हालै सञ्चालन भएको पानी जहाजलाई समेत ‘सरकारका उपलब्धि’ का रुपमा प्रधानमन्त्री ओलीले गणना गर्दै आएका छन् । जबकि यी दुवै नदीमा ‘पानी जहाज’ सञ्चालन हुनुमा सरकारले अनुमति दिनबाहेक अर्को कुनै भूमिका निर्वाह गरेको छैन । न त ओलीले भन्दै आएको ‘महासागरमा नेपाली झण्डा अंकित पानी जहाज सञ्चालन हुने’ योजनासँग यसको कुनै साइनो छ ।
वीरेन्द्रलाई काउली, ओलीलाई केक
भनिन्छ, सल्लाहकार गतिलो भएमा मात्र शासकले जनताका आकांक्षाहरु पूरा गर्न सक्छन्, अन्यथा आफ्नै सल्लाहकारका आकांक्षा पूरा गर्नमै शासकको भूमिका सीमित हुन सक्छ ।
पञ्चायतकालमा तत्कालीन राजा वीरेन्द्र शाह पहाडी जिल्लाको भ्रमणमा जाँदा उजाड पाखामा रातारात काउली फल्थे रे ! भनिन्छ, राजालाई खुशी पार्नका लागि उनका सल्लाहकारले यस्तो योजना बनाउँथे कि, रातारात उजाड पाखामा काउली फलाइन्थ्यो । राजाको भ्रमण हुने क्षेत्रमा भक्तपुरबाट फक्रिएको काउली जरासहित उखेलेर लगेर रातारात रोपिन्थ्यो र राजालाई ‘विकासको लहर’ देखाइन्थ्यो रे !
पाखाभरी काउली फलेको देखेपछि राजा दङ्ग । मुलुकमा विकासको लहर नै चलेछ भन्ने सन्देश दिनका लागि त्यो ‘नाटक’ सफल हुन्थ्यो तर मुलुकबाट गरिबी हटेन । त्यसअनुसारको विकास मुलुकले हासिल गरेन । केही चाटुकारहरुको त्यो कलाले क्षणिकरुपमा उनीहरुलाई फाइदा त पुग्यो होला, तर जनताको जीवनस्तर जहाँको तहीँ थियो ।
अहिले प्रधानमन्त्री ओलीको सल्लाहकारहरु पनि त्योभन्दा फरक भूमिकामा देखिएका छैनन् । कोशीमा चलेका स्टिमर, नारायणीमा चलेको ‘मिनी क्रुज’ होस् या विराटनगरमा सञ्चालित सामूहिक गोबरग्याँस प्लान्टलाई प्रधानमन्त्री ओलीका उपलब्धिसँग किन तुलना गरिएका हुन् भन्ने कुरा आम सर्वसाधारणले बुझ्न सकेका छैनन् ।
अर्कोतिर उनको जन्मोत्सवमा नेपालको भूगोल आकारको केक काटेर कस्तो सन्देश दिन खोजिएको हो ? त्यसले सरकारको लक्ष्यमा कुनै टेवा पुग्छ या प्रधानमन्त्रीको स्वास्थ्य तथा दिर्घायुमा कुनै आयाम थप्छ ? सर्वसाधारणले बुझ्न सकिरहेका छैनन् । बरु सामाजिक सञ्जालमा त्यसले नकारात्मक टिप्पणीहरु सिर्जना गरिदिएको छ । कम से कम प्रधानमन्त्रीले जन्मदिन मनाइरहँदा त्यस प्रकारका नकारात्मक टिप्पणी नआउन् भनेर प्रधानमन्त्रीका सल्लाहकार एवम् सहयोगी टिम सचेत हुनुपर्ने होइन र ? सादगीपूर्ण रुपमा जन्मदिन मनाउँदा प्रधानमन्त्रीको लोकप्रियता घट्ने थियो र ? नेपालको नक्साको ठाउँमा अन्य कुनै आकृति भएको केक काट्दा जन्मदिन खल्लो नै हुन्थ्यो ? यस्ता प्रश्नको उत्तर पनि फेला पर्न सकेको छैन ।
कहाँ मनमोहन, कहाँ ओली !
२०५१ सालमा मध्यावधि निर्वाचन पनि तत्कालीन एमालेले संसदको सबैभन्दा ठूलो दलका रुपमा सरकार गठन ग¥यो । मनमोहन अधिकारी नेतृत्वको सरकारले ९ महिना शासन ग¥यो । तर त्यो ९ महिने शासन अहिले पनि उदाहरणीय मानिन्छ । कम्युनिस्टप्रतिको सोचलाई नै नेपाली जनतामा आमुल परिवर्तन ल्याइदिएको थियो त्यो सरकारले । विपक्षी दलहरुले उक्त सरकारका कामका आलोचना गरे पनि जनताले कतिपय कामलाई रुचाए, जो आजसम्म पनि सरकारका लागि ‘अनुशरणीय’ भइरहेका छन् । वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता लगायतका कार्यक्रम आज पनि जारी छन्, जो मनमोहन नेतृत्वको तत्कालीन सरकारले सुरु गरेको थियो ।
अल्पमतका बाबजुद मनमोहन नेतृत्वको सरकारले नौ महिनामा बटुलेको प्रशंसा झण्डै दुई तिहाइ बहुमत भएको वर्तमान सरकारले दुई वर्षसम्म पनि किन पाउन सकेको छैन ? प्रधानमन्त्री ओली र उनका सहयोगी समूहले नै विश्लेषण गर्न आवश्यक छ ।
मनमोहन अधिकारीले कहिल्यै ‘मपाइत्व’ खोजेनन् । मिडियामा उनको पनि आलोचना नै हुन्थ्यो तर उनले कहिल्यै असन्तुष्टि जनाएनन् । बरु मिडियाकर्मीलाई आवश्यकता अनुसार बोलाएर उनी छलफल गर्थे, उनीहरुका कुरा सुन्थे, राम्रा कुरालाई ग्रहण गर्ने र कार्यान्वयनमा लैजाने उनको शैली थियो ।
प्रधानमन्त्री ओली मिडियाले आफूलाई ‘तपाइँ’ नभनेकोमा सार्वजनिक रुपमा गुनासो गर्नेमात्र होइन, मिडियामा सरकारविरुद्ध आएका समाचारको पनि सार्वजनिक रुपमै खण्डनमा समय बिताउँछन् । मुलुकको प्रधानमन्त्रीले सार्वजनिक समारोहमा कुन मिडियाले के समाचार लेख्यो भन्नेबारे टिप्पणी र प्रतिक्रिया जनाइरहनु उचित होइन ।
उनले आलोचना कति सही हो, विभिन्न स्रोतमार्फत बुझ्ने, अरु नेता तथा कार्यकर्ताका प्रतिक्रिया सुन्ने र कमी कमजोरी भएको अवस्थामा तिनलाई सच्याएर अघि बढ्ने सदासयता देखाएका भए दुई वर्षमा सायद निकै परिणाममुखी काम गरिसकेका हुन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता