बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पिएन क्याम्पस झडपः राजनीतिक बार्गेनिङमा व्यक्तिगत रिसिबीको मुद्दा !

आइतबार, ११ फागुन २०७६, २२ : ४८
आइतबार, ११ फागुन २०७६

पोखरा । सबैभन्दा बढी राजनीति हुने विश्वविद्यालयको रुपमा चिनिन्छ पृथ्वीनारायण क्याम्पस । पृथ्वीनारायण क्याम्पस(पिएन)बारे व्याखा गर्नुपरे राजनीति करणले आक्रान्त क्याम्पस भन्न कोही पनि हिचकिचाउँदैनन्, सायद ! विश्वविद्यालय भरिमा सबैभन्दा बढी राजनीतक बार्गेनिङ चल्ने पिएनमा बिहीबार एउटा घटना घट्यो । जुन घटना अहिले राजनीतिक मुद्दातर्फ मोडिएको छ । 

क्याम्पस परिसरमा नेकपा निकटको अनेरास्ववियु र काँग्रेस निकटको नेवि संघका सदस्यबीच हानाहान भयो । दुवै पक्षबीच हानाहान हुँदा अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त गम्भिर घाईते भए । नेविसंघका सतिश बास्तोला नेतृत्वको समुहले रड प्रहार गर्दा उनीहरु घाईते भएका थिए । उनीहरुको अवस्था अहिले सामान्य छ । मणिपाल अस्पतालमा उपचारपछि दुबै जना डिस्चार्ज भइसकेका छन् ।

रातोपाटीलाई प्राप्त जानकारीअनुसार व्यक्तिगत रिसिबीका कारण सो घटना भएको थियो । उक्त घटना घटेको केही दिनअघि पनि विराट र विशालमाथि हमला भएको थियो । कलेजमा आउने नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम राख्न प्रस्ताव क्याम्पस प्रमुखलाई बुझाएर आउँदा सतिशको समूहले उनीहरुमाथि हमला गरेको थियो । पहिलो मुठभेटमा साइकलको चेन बोकेर हमला गर्न पुगेका सतिशले दोस्रो पटकको मुठभेटमा २०/२५ जनाको समूहसहित पुगेका थिए । 

घटना विवरणअनुसार प्रतिशोध साँध्नको लािग उक्त घटना घटाइएको थियो । यद्यपि, उक्त घटनालाई लिएर काँग्रेस निकटको नेविसंघले विज्ञप्ति जारी गरेर सांगठनिक मतभेदका कारण अनेरास्ववियु निकटका विद्यार्थीबाट आफूहरुमाथि पटक—पटक हमला हुँदै आएको उल्लेख गरेको छ । क्याम्पस प्रशासनले घटना साम्य पार्न समन्वय नगरेको भन्दै नेवि संघले आपत्ति समेत जनाएको छ । 

आफूहरुमाथि हातियारसहित जाई लागेको भन्दै उक्त आक्रमणको प्रतिरक्षामा उत्रिँदा सो घटना घटेको बताएको छ । त्यतिमात्रै होइन, विगतमा यस्ता किसिमका घटना घट्दा क्याम्पस प्रमुखले समन्वय गरेर मिलाउँदै आएपनि यसपटक भने पूर्वाग्रही ढंगले प्रहरी र प्रशासनसँग मिलेर आफूहरुलाई फसाउन खोजेको विज्ञप्तिमा आरोप लगाइएको छ । 

घटनाबारे क्याम्पस प्रमुखसँग बुझ्न खोज्दा विद्यार्थीहरु सम्पर्कमा नआएको बताए । घटनालाई लिएर नेविसंद्दघ इकाई समिति पिएनले जिम्मेवारी लिए पनि अनेरास्ववियुले भने लिएको छैन । 

नेविसंघका पृथ्वीनारायण इकाई समिति अध्यक्ष दीपक शर्मा वाग्लेले रातोपाटीसँगको टेलिफोन सम्पर्कमा व्यक्तिगत रिसिबीको झगडा भनिए पनि नितान्त सांगठनिक घटना भएको बताए । ‘नितान्त सांगठनिक हो,’ उनले भने, ‘नेविसंघ अन्तर्गत विभिन्न इकाईहरुमा रहेको साथीहरु बीचमै झडप भएको छ । अखिलका साथीहरु छन्, यसलाई नितान्त व्यक्तिगत भन्नै मिल्दैन । सांगठनिक रुपमै उब्जिएको विषय हो ।’

उनका अनुसार बिएललबीको पढाईको विषयमा विवाद बढ्दै गएपछि घटनाले मुठभेट निम्त्याएको थियोे । पढाईको विषयमा छलफल हुँदाहुँदै निम्तिएको तिक्ततालाई उनी व्यक्तिगत रिसिबी मान्न तयार छैनन । ‘पढाईको विषयमा दुई पक्षबिचमा विवाद भयो,’ उनले भने, ‘डिस्कसले नै ल्याएको घटना हो ।’ 

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा सार्वजनिक अपराधको मुद्दा दर्ता भइसकेको छ । वडा प्रहरी कार्यालय बगरका अनुसार जाहेरीका आधारमा कानुनी प्रक्रिया अघि बढाइने छ । नेविसंघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष शर्माले क्याम्पस परिसरभित्रको घटनलाई कानुनी उपचार खोज्नुभन्दा क्याम्पस प्रशासनले नै मिलउनुपर्ने बताउँछन् । ‘कलेज परिसरभित्र विद्यार्थी लड्यो भने त क्याम्पस प्रशासनले नै त्यो कुरा मिलाउनुप¥यो,’ उनले भने, ‘कलेजले नै त्यो सबको जिम्मेवारी नलिई भाग्न खोज्यो भने त, हामी त सबैको पक्षमा अघि बढ्नुप¥यो नि । ल, कसो हो भनेर दुई वटै पक्षलाई राखेर त कलेजले छलफल गर्नुप¥यो नि त ।’ 

कलेजले घटनाको जिम्मेवारी लिएर विवाद नसुल्झाएमा क्याम्पसमा तालाबन्दीसहित क्याम्पस चिफको राजीनामा माग्ने उनले सुनाए । विवाद नसुल्झाएसम्म क्याम्पस प्रमुखको राजीनामा माग्ने मेन एजेण्डासहित नेविसंघ अघि बढ्ने उनको भनाई छ ।  यता, अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटा भने संगठनमा आबद्ध हुँदैमा सबै मुद्दा संगठनसँग नजोडिने बताउँछन् । ‘उनीहरुको प्रर्सनल झगडा हो,’ उनले भने, ‘प्रर्सनल उजुरी गर्छन् । प्रर्सनल न्याय माग्छन् ।’

आफूलाई मुद्दाबारे कुनै जानकारी नभएको बताउँदै उनले व्यक्तिगत घटना भएको दोहो¥याए । ‘मैले कुटाई खाएको पनि होइन, मलाई सोधेर कुटेका पनि होइनन्,’उनले भने, ‘उनीहरुको व्यक्तिगत कुरा हो । संगठनमा महासागर यति धेरै हजारौं अखिल कार्यकता छन्, सबैका मुद्दा पोलिटिकल हुन्छन् ? हुँदै/हुँदैनन् नि ।’

मुठभेड हुँदा क्याम्पसका निमित्त प्रमुखको जिम्मेवारीमा रहेका सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारी रिसिबी साँध्नको लागि दोस्रो पक्षले हमला गरेको थियो । उनका अनुसार झगडा परेको थाहा पाउने बित्तिकै उनी उक्त स्थानतर्फ लागेका थिए । उनी घटनास्थलतर्फ पुग्दा दुवै पक्ष त्यहाँबाट हिडिँ सकेका थिएँ । पछि घटनाबारे बुझ्ने क्रममा सोही समुहको बिचमा तिन÷चार दिन अघि पनि झगडा परेको थियो । ‘रिसिबी साँध्न अर्को आक्रमण भएको रै छ के,’ उनले भने । 

घटनाको विवरण र प्रवृतिबारे बुझ्दा आफूहरुलाई व्यक्तिगत रिसिबी नै घटनाको मुख्य कारण देखिएको उनले सुनाए । ‘एकदमै, व्यक्तिगत घटना हो यो,’ उनले भने, ‘हुन त अब विद्यार्थीहरुले पोलिटिकलाइज गर्न पनि खोज्छन् । तर, हाम्रो नजरमा एकदमै व्यक्तिगत लाग्छ । व्यक्तिगत नै हो ।’

घटनाबारे बुझ्दै जाँदा खासै ठुलो कारण केही नदेखिएको उनले बताए । ‘न पढाईको विषयमा झगडा भयो जस्तो देखिन्छ, न पार्टीगत रुपमा कसैले लगाएर गरेको जस्तो देखिन्छ,’ उनले भने, ‘यो स्वतस्फूर्त आफ्नै इगोमा गरेको हो ।’ कुनै पनि विद्यार्थी संगठनहरुले घटनाको जिम्मेवारी अहिलेसम्म नलिएको उनले बताए । 

क्याम्पस प्रमुखको कार्यकक्षमा विद्यार्थीहरुले ताला समेत लगाएका छन् । बिएललबी पाँचौ समेस्टरमा अध्ययनरत विद्यार्थीहरुले आफूहरु क्याम्पसमा असुरक्षित भएको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा सुरक्षाको माग गर्दै ताला लगाएको हुन् ।

 ‘हामी असुरक्षित भयौं, एकले अर्कोलाई हतियार लिएर आएर आक्रमण गर्न थाले, क्याम्पसले यसको समाधान गर्नतर्फ लागोस् भनेर पहल हो, सांगठनले ताला लगाएका होइन,’ उनले भने । क्याम्पस प्रमुख चन्द्रबहादुर थापाकाअनुसार पिटिएका अनेरास्ववियुका विद्यार्थीहरुलाई क्याम्पसमा डाँक्न सम्पर्क गर्न खोज्दा फोन स्वीच अफ बताएको छ । अनेरास्ववियुका विराट र विशालद्वयले सतिश र उनको समुहबिरुद्ध सार्वजनिक अपराधको उजुरी दर्ता गराएका छन् । प्रहरीले उनीहरु विरुद्ध पक्राउ पुर्जी समेत जारी गरि सकेको छ । 

नेविसंघले झुठो विज्ञप्ति जारी गरेको भन्दै कुटिने विशाल र विराटद्वयले आपत्तिसमेत जनाएका छन् । ‘हामी कुटिने उनीहरुले विज्ञप्ति निकाल्ने यो त भएन नि,’ नेविसंघको समुहद्वारा कुटिने विराट दवाडीले भने, ‘यो एकदमै झुट छ । तपाईंले स्थानीय प्रत्यक्षदर्शीलाई पनि सोध्न सक्नुहुन्छ । गल्ती नै नभएको भए, उहाँहरुलाई किन भाग्नुप¥यो ?’ यता, नेविसंघले भने सत्ता र शक्तिको आडमा जाहेरी लिएर नियोजित ढंगले फसाउन खोजेको भन्दै खेद प्रकट गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप