बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधनबारे काँग्रेसको टिप्पणी : कम्युनिस्ट पार्टीले अर्को तमासा देखायो

आइतबार, ११ फागुन २०७६, १९ : २७
आइतबार, ११ फागुन २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि पार्टीगत  कार्यदल गठन गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । शनिबार बसेको नेकपाको सचिवालय बैठकले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्ने बाटो खोल्न सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्सीय कार्यदल बनाएको छ ।

यस्तै नेकपाले हाल कायम रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्य संख्या बढाउन पनि संविधान संशोधन गर्न तयारी थालेको छ । जसलाई प्रतिपक्षी दल काँग्रेसले कम्युनिस्ट सरकारको अर्को तमासाको रुपमा टिप्पणी गरेको छ ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको माग गर्ने नागरिकाे चाहना भन्दा अमुक नेतालाई विशेष ठानेर  नेकपाले यो एजेण्डा अगाडि सारेको प्रतिक्रिया दिए । 

‘संविधान संशोधनका लागि मधेशी, जनजाति, महिला, थारुललगायले माग गर्दै गर्दा राज्यको नेत्र नखुल्ने ? सधैँ हुन्न भनियो,’ रातोपाटीसँगको संक्षिप्त कुराकानीमा शर्माले भने, ‘यी सबैभन्दा त ठूलो एउटा अमुक नेता रहेछन् नि । सबैको अपनत्व गाँस्ने गरी संविधान संशोधन गर्नु नपर्ने ? अनि कसैका लागि प्रधानमन्त्रीको ढोका खोल्नेगरी संविधान संशोधन गर्ने ? यो एउटा रमिता वा तमसा भन्दा अर्को केही होइन ।’

संविधान संशोधन जस्तो गम्भीर विषयमा प्रवेश गर्दा पहिले  राष्ट्रिय विमर्श जरुरी रहेको उनले बताए । ‘संविधान संशोधनजस्तो गम्भीर विषयमा प्रवेश गर्दैगर्दा त्यसको पृष्ठभूमिमा मधेशले, दलितले, जनजातिले मागेका कुराको भावना कसरी सम्बोधन गर्ने भन्ने हिसाबले गर्न कुरामा राष्ट्रिय विमर्शको जरुरी पहिले हुन्छ ? त्यो विषयमा नजाने ?,’ दोहोर्याउँदै भने शर्माले, ‘अनि एक जना अमुक नेतालाई प्रधानमन्त्री बन्ने ढोका खोल्ने ढंगले संविधान संशोधन गर्न प्रस्ताव ल्याउने भनेको कम्युनिस्ट पार्टीले देखाउन बाँकी रहेको एक अर्को तमासा मात्र हो ।’

यस्तै, काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पनि संविधान संशोधनको विषय सदनको विषय भएको बताएकी छन् । उनले भनिन्, ‘पार्टी विशेषले कार्यदल बनाएको छ । संविधान संशोधनको विषय सदनको विषय हो ।’

 संविधान संशोधनको विषयमा आज सामान्य जानकारी मात्र आएको भन्दै यो विषयमा पार्टी  र संसदीय दल गम्भीर छलफल चलाउने बताइन् । ‘यस विषयमा काँग्रेसको आधिकारिक धारणा छलफल पछि मात्र आउँछ । कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउने र राष्ट्रिय सभाको संख्या बढाउन कुराले यतिबेला सबै आफ्नो तजबिजमा छ भनेर दलीय स्वार्थले यो एजेण्डा अगाडि आएको छ,’ सचेतक भुसालले भनिन्, ‘यसलाई काँग्रेसले गम्भीर रुपमा लिएको छ । गम्भीर ढंगले छलफल हुन्छ ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप