मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतोको प्रतिक्रिया : नेकपाको संविधान संशोधन कार्यदल तातो न छारोको,  प्रतिनिधित्व नभए राष्ट्रिय आन्दोलन गर्छौँं

आइतबार, ११ फागुन २०७६, १८ : ४२
आइतबार, ११ फागुन २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेकपाले बनाएको संविधान संशोधनको कार्यदल व्यक्तिगत स्वार्थका लागि भएको बताएका छन् । 

आइतबार नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेपछि नेता महतोले त्यसमा आदीवासी मधेशी पक्षको प्रतिनिधित्वको माग गरे । 

उनले भने, ‘संविधान संशोधनका लागि मधेशी, आदीवासी जनजाति जसले माग गरेका छन् उनीहरुसँग सल्लाह पनि गरेको छैन, सहभागिताको कुरा पनि छैन । एकतर्फी रुपमा बनाइएको छ । उसले आफ्नो एकदलीय एजेण्डा राख्न संशोधन गर्न खोजेको होला, त्यसमा हाम्रो आपत्ति छ ।’

उनले जनताले खोजेको अधिकार स्थापित गर्नेगरी संविधान संशोधन नभए बलियो शक्ति बनाएर आन्दोलन गर्ने चेतावनी दिए । उनले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी लगायतका विचार मिल्ने दलसँग एकता गरी बलियो शक्ति बनाएर आन्दोलन गर्ने बताए । 

उनले भने, ‘वर्षौदेखि हामीले उठाएको माग पूरा भएको छैन । हाम्रो एजेण्डा प्रवेश पाएन भने वैकल्पिक शक्तिशाली पार्टी बनाएर राष्ट्रिय आन्दोलन गर्छौ । हामीलाई सरकार चाहिएको छैन, अधिकार चाहिएको हो । हामीलाई नश्लीय राष्ट्रवाद चाहिँदैन ।’

उनले मधेसी, आदीवासी जनजातीसँग छलफल नगरी नेकपाले संविधान संशोधनका लागि कार्यदल बनाउनु तातो न छारोको काम भएको प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप