बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अनशनरत वडाध्यक्षको स्वास्थ्यावस्था जटिल

आइतबार, ११ फागुन २०७६, १९ : ११
आइतबार, ११ फागुन २०७६

पाँच दिनदेखि आमरण अनशन रहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । 

माडी नगरपालिकाका जनताका सरोकारका विषयलाई लिएर उहाँ फागुन ७ गतेबाट अनशनमा बसेको हुन् । 

उनको स्वास्थ्य अवस्थाको बारेमा आज भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो । 

तिवारीका अनुसार उनको पिसाबमा क्रिटिनिनको मात्रा दुई नाघेको छ । सामान्य मानिसमा शून्य हुनुपर्ने क्रिटिनिनको मात्रा बढेको हो ।

त्यसैगरी शरीरमा चाहिने ग्लुकोजको मात्रा घटेपछि शरीरबाटै प्रोटिन र फ्याट टुक्रिएर ग्लुकोज बन्न थालेको उनले जानकारी दिए । त्यस्तै अक्सिजनको मात्रा घटेको, मुटुको चाल बढ्दै गएको र अनियमित बनेको छ । 

उनलाई कार्डियक मनिटरमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ । तिवारीका अनुसार भरतपुर अस्पतालबाट मनिटर लगेर अनशनस्थल नजिकैको स्वास्थ्य चौकीमा जोडेर राख्ने तयारी गरिएको छ ।

चिकित्सक टोलीले बघौडा अस्पतालमा जान आग्रह गरेको भए पनि पौडेलले अस्वीकार गरेको उनले जानकारी दिए । 

पौडेललाई विशेषज्ञ चिकित्सकको टोलीले हेर्नुपर्ने भएकाले भरतपुर अस्पताल ल्याउन सुझाव दिएको उनको भनाइ छ ।

तिवारीसँगै भरतपुर अस्पतालका डा प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी र प्रयोगशालाका अनिल न्यौपानेले पौडेलको स्वास्थ्य परीक्षण गरेका थिए ।

आजै अनशनस्थलबाट स्थानीयले माग पूरा गर्न दबाब दिँदै मोटरसाइकल ¥याली गरेका थिए । 

¥यालीको शुभारम्भ गर्दै नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले राज्यले पौडेलले राखेका माडीवासीसँग प्रत्यक्ष सरोकार राख्ने माग पूरा गरेर जीवनरक्षा गर्नुपर्नेमा जोड दिनुभयो । 

¥यालीले माडी क्षेत्रमा रहेका चार वडा मध्यवर्ती उपभोक्ता समितिमा पुगेर त्यहाँका कार्यालय बन्द गराएका छन् । राष्ट्रिय निकुञ्ज ऐन, २०२९ लाई जनपक्षीय बनाउनुपर्ने उहाँको माग छ ।

राष्ट्रिय निकुञ्जसम्बन्धी २०२९ को विनियम संशोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) नियमावली, २०७६ ले माडी जस्तो बहुउपेक्षित क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानवअधिकारको संरक्षणका लागि पुनः संशोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणका लागि ठोसरूपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने साथै उत्तरी सिमानामा पर्ने रीउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग रहेका छन् ।

यस्तै लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरूपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवतजावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको केन्द्रका रूपमा विकास गर्न विशेष योजना ल्याइनुपर्ने, प्राकृतिक स्रोतसाधनमा पूर्णरूपमा स्थानीय निकायको अधिकार हुनुपर्ने माग उनका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप