मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कपालभाती प्राणायाम जीवनको साथी

आइतबार, ११ फागुन २०७६, १२ : ४७
आइतबार, ११ फागुन २०७६

धेरै पहिलादेखि नै श्वास प्रश्वासका तरिका अपनाई पूरा शरीर स्वस्थ राख्ने प्रयास मानिसले गर्दै आएका हुन् । यसलाई सुरुमा योगको दृष्टिले हेर्दा यौगिक श्वास प्रश्वास भनिन्थ्यो । यही क्रममा कपालभाती जस्तो अत्यन्तै महत्त्वपूर्ण प्राणायाम पनि अस्तित्वमा आएको हो ।

विधिपूर्वक कपालभाती प्राणायाम नियमित रूपमा गर्ने हो भने राम्रा परिणाम छोटो समयमा नै देख्न सकिन्छ । सबै किसिमका श्वास प्रश्वास वा प्राणायामका विधिमध्ये कपालभातीलाई शरीर स्वस्थ र पवित्र राख्ने विधि भनिन्छ । कपाल भनेको खप्पर वा टाउको, भाँती भनेको चमक  र प्राणायाम भनेको श्वास प्रश्वासको विधि हो ।  कपालभातीलाई आभा मण्डलमा चमक ल्याउने श्वासप्रश्वासको तरिका पनि भनिन्छ । यसको अर्थ नियमित रूपमा यस्तो अभ्यास गर्नाले टाउकाको भागमा चमक आउनु, आभामण्डल उज्यालो हुनु वा बुद्धि प्राप्त गर्नु भन्ने बुझिन्छ । अनुहारको छाला, कपाल र मस्तिष्क चमकदार, सुन्दर तथा स्वस्थ बनाउनु भन्ने लाग्छ ।

कपालभातीमा सामान्य अभ्यासले निकै प्रभावकारी फाइदा दिन्छ । यो एउटा सत क्रिया प्रविधि हो, जसले शरीरको दूषित हावा बाहिर निकाल्छ र शरीरको शुद्धीकरण गर्छ । यो प्रक्रिया सँगसँगै मानसिक र शारीरिक फाइदा समेत हुन्छन् । कपालभाती गर्दा योगासनमा (सुखासन वा पद्मासन) ढाड र कम्मर सीधा बनाई आँखा बन्द गरी आनन्दले बसेर श्वासप्रश्वास प्रक्रिया जारी राखिन्छ । सकभर समयको ख्याल गरी कति मिनेट गरियो भन्ने कुरा हेरेर गर्नुपर्छ । यो योगको आठौँ अङ्ग भएको कुरा ऋषि पतञ्जलिले बताएका छन् । कपालभातीको अभ्यासले स्वस्थ मन, स्वस्थ शरीर र स्वस्थ आत्माको प्राप्ति हुन्छ ।

कपालभाती कसरी गर्ने ?
सामान्य रूपमा हामीले श्वास लिनुलाई सक्रिय प्रक्रिया र छोड्नुलाई निस्क्रिय प्रक्रिया भनिन्छ । तर कपालभातीमा यो ठीक उल्टो प्रक्रियाबाट सम्पन्न गरिन्छ । यस प्रक्रियामा श्वास बलपूर्वक बाहिर फ्याँकिन्छ र श्वास लिएको थाहै हुँदैन वा श्वास लिँदा कुनै बल प्रयोग गरिँदैन । श्वास लिँदा र छाड्दा कुनै ग्याप गर्नुहुँदैन । यीबाहेक कपालभातीको अभ्यास निम्न विधिहरु अपनाई गर्नुपर्छ ।

१. सही आसनमा बस्ने - सुखासन वा सजिलो आसनमा बस्ने र दुवै हात घुँडामा राख्ने, अनुहार सीधा उठाउने र ध्यान पेटको क्षेत्रमा दिने ।

२. राम्रोसँग श्वास लिने - दुवै नाकबाट गहिरोसँग श्वास तानी फोक्सो पूर्णरूपले हावाले भर्ने । श्वास लिँदा बिस्तारै र शान्त तरिकाले लिने । यतिबेला पेट बाहिर जान्छ ।

३. दु्रत श्वास फ्याँक्ने - आमाशयलाई पछाडि धकेल्ने र सुइँय गर्ने आवाजका साथ फ्याँक्ने । उक्त अवस्थामा शरीरका खराब तत्त्वहरु पेटबाट बाहिर फ्याँकिरहेको अनुभव गर्ने र फोक्सोभित्र हावा भरिएको अनुभव गर्ने । यतिबेला पेट भित्र धसिन्छ ।

४. राम्ररी आराम गर्ने - श्वास लिने र श्वास फ्याँक्ने क्रम दोहोर्‍याउँदै जाने र २० पटकसम्म गर्ने र पहिलो राउन्ड सकेपछि राम्रोसँग आराम गर्ने ।
कपालभातीका प्रकार

१. वातकर्म कपालभाती - श्वास छाड्दा सक्रियतापूर्वक र श्वास लिँदा निस्क्रियतापूर्वक गर्नु ।

२. व्युत्कर्म कपालभाती - नाकभित्र पानी परेमा जोडले बाहिर फ्याँक्ने जस्तै प्रकारको कपालभाती ।

३. शीतकर्म कपालभाती - व्युत्कर्मको ठीक विपरीत र मुखले पानी लिने र नाकले फ्याँक्ने खालको कपालभाती ।

कपालभाती प्राणायामका फाइदा
-    यसले शरीरमा ताप उत्पन्न गर्छ र विषालु पदार्थ वा खराब तत्त्वहरु नष्ट गर्छ ।

-    मिर्गाैला र कलेजोको कार्यमा सुधार ल्याउँछ ।

-    तनाव, पीर चिन्ता र आँखाको डार्क सर्कल हटाउँछ । कम्तीमा ३० दिनभित्र अनुहारमा हुने यस्ता रक्तसञ्चारसम्बन्धी समस्याका कारण उत्पन्न हुने रोग निको पार्छ ।

-     प्रत्येक दिन कम्तीमा ५ देखि ८ मिनेटसम्म बेलुका कपालभाती गरेमा निद्रा नपर्ने समस्या समाधान हुन्छ र मीठो निद्रा लाग्छ ।

-    कुण्डलिनी जागरण (सबै चक्रहरु सक्रिय बनाउने) गराई शरीरमा शक्ति र आनन्द प्राप्त भएको समाधि अवस्थाको अनुभव हुन्छ ।

-    रक्तसञ्चार बढाउँछ र पाचन क्षमता बढाउँछ । न्यून रक्तसञ्चारका कारण हुने छालाको एलर्जी, कपाल झर्ने, हातखुट्टा चिसो हुने, नङमा सुक्खापन आउने लगायत सबै समस्या समाधान गरी छालामा चमक ल्याउँछ । यसका साथै डन्डिफोर जस्तो समस्याको समेत सफलतापूर्वक उपचार गर्छ ।

-    मेटाबोलिज्म प्रक्रिया बढ्छ र दु्रततर रूपले तौल घटाउँछ । दैनिक नियमपूर्वक कपालभाती गरेमा ४५ दिनभित्रमा १० किलोभन्दा बढी तौल घटाउन सक्ने एउटै उपाय कपालभाती हो ।

-    पेटका अङ्गहरु उत्तेजित पार्छ, पेटका मांसपेसी बलियो बनाउँछ र मधुमेहमा समेत फाइदा गर्छ ।

-    मस्तिष्क र स्नायुहरुलाई शक्ति प्रदान गर्छ । स्नायुको कमजोरीका कारण हुने थकावट, कमजोरी, टाउको दुखाइ, नपुंसकता, बाँझोपन जस्ता समस्याको समाधान नियमित अभ्यास गरेको २५ देखि ३० दिनभित्र गर्छ ।
-    शान्त र मन मस्तिष्कमा आनन्दको अनुभूति गराउँछ ।

-    सन्तुलनको अनुभव गराउनुका साथै आफूलाई शुद्ध र व्यवस्थित भएको अनुभव दिन्छ ।

-    अम्लपित्त, अपच, मुटु पोल्ने, घाँटीसम्बन्धी र ग्याँससँग सम्बन्धित समस्या निराकरण गर्छ । यसका साथै कब्जियत र पाइल्स् जस्ता रोग पूर्णरूपले निको पार्छ ।

-    फोक्सो बलियो बनाउनुका साथै कार्य क्षमता बढाउँछ र फोक्सोसँग सम्बन्धित सबै खालका रोगको उपचार हुन्छ ।

-    नियमित अभ्यासले सक्रिय बनाउनुका साथै अनुहारमा चमक ल्याउँछ ।

-    स्मृतिमा सुधार ल्याउने र एकाग्रताको क्षमता बढाउँछ ।

-    शरीरका सबै चक्रहरु सक्रिय पार्छ ।

-    दम, पिनास र रौँ झर्ने समस्याको उपचारमा (टाउकोमा रक्तसञ्चार बढाई) सहयोग गर्छ । साथै कम उमेरमा रौँ फुल्ने समस्यासमेत समाधान गर्छ ।

-    डिप्रेसन जस्ता समस्या समाधान र सकारात्मकताको विकास गराउँछ ।

-    स्तन क्यान्सरको उपचार गराउँछ ।

-    शरीरको रोगविरुद्ध लड्ने क्षमता बढाई शक्ति प्रदान गर्दछ । फलस्वरूप ज्वरो, रुघाखोकी, पिनास जस्ता समस्या समाधान हुन्छन् ।

-    यौन क्षमता बढाउने र शुक्रकीटको उत्पादन बढाउँछ ।

-    महिलाहरुका लागि यो प्राणायाम बरदान नै हो । अनियमित महिनावारीदेखि अन्य समस्या पनि करिब १५ दिनको नियमित अभ्यासबाट निको हुनथाल्छन् ।

-    महिलाको पाठेघरमा हुने गिर्खा जस्तो समस्या पनि समाधान हुन्छ । तर यसका लागि नियमित रूपमा कम्तीमा १५ मिनेट (९०० पटकको सास धकेलाई) कुनै आराम नलिई गर्नुपर्छ ।

-    मिर्गौलाको पत्थरी जस्तो समस्या पनि यो प्राणायामले समाधान गर्छ ।

-    रगतमा क्याल्सियमको तह बढाई हाडहरु मजबुत बनाउँछ । यसका लागि कम्तीमा २ हप्ताको समयपछि नतिजा आउन थाल्छ । यसैगरी रगतमा हेमोग्लोबिनको मात्रा समेत बढाउँछ । यसका साथै शरीरको दुखाइ समेत हटाउँछ ।

-     बुढ्यौलीपन घटाउँछ । नियमित यस्तो प्राणायाम गरेमा आफ्नो उमेरभन्दा ८ देखि १० वर्ष कम देखिन्छ ।
कपालभाती प्राणायामका प्रतिअसरहरु

-     उच्च रक्तचाप र हर्नियाको समस्या निम्त्याउन सक्छ ।

-    टाउको दुख्ने र रिँगटा लाग्न सक्छ ।

-    कहिलेकाहीँ बान्ता हुनसक्छ ।

-    मुख सुक्खा हुनसक्छ ।

-    बढी मात्रामा पसिना तथा -याल उत्पन्न हुनसक्छ ।

कपालभाती प्राणायामका सावधानीहरु
श्वास प्रश्वास नै जीवन हो र यदि यसलाई विधिपूर्वक राम्रो आसनमा बसेर गर्न सकियो भने यसबाट धेरै फाइदा लिन सकिन्छ । धेरै फाइदा लिनका लागि ढिला नगरी कपालभाती सुरु गर्नुपर्छ तर यो प्राणायाम गर्नुपूर्व निम्न सावधानी अपनाउनुपर्छ । कपालभातीका लागि समेत सबैभन्दा राम्रो समय बिहान खाली पेटमा हो तर खाना खाएको ४ देखि ५ घण्टापछि मात्र अन्य अवस्थामा गर्न सकिन्छ ।

-    उच्च रक्तचाप तथा मुटुका समस्या हुनेहरुले श्वास प्रश्वास बिस्तारै सुचारु गर्नुपर्छ ।

-    कपालभाती बिहानको समयमा खाली पेटमा र केही समय ज्यान तताउने क्रियाकलाप गरेपछि मात्र गर्नुपर्छ ।

-    कपालभाती गरिसकेपछि कम्तीमा पनि २० देखि ३० मिनेटसम्म केही नखाने किनकि आमाशयलाई खाना पचाउन शक्ति सञ्चयको जरुरी पर्छ ।

-    उच्च रक्तचाप तथा मुटुका रोग हुनेहरुले कपालभातीको दर विचारपूर्वक घटाएर गर्नुपर्छ र छारेरोग हुनेले कदापि गर्नुहुँदैन ।

-    स्वास्थ्य परीक्षण पश्चात् आधिकारिक योग शिक्षकबाट सिकेर मात्र कपालभाती गर्नुपर्छ ।

-    गर्भवती तथा महिनावारी भएको बेला कपालभाती गर्नुहुँदैन ।

-     ढाडको समस्या र हर्निया भएमा कपालभाती गर्नुहुँदैन ।

-     पेटको अल्सर छ भने सावधानीपूर्वक कपालभाती गर्नुपर्छ ।

-    आधारभूत तहका प्राणायाममा दक्षता हासिल गरेपछि मात्र कपालभाती जस्तो उच्च तहको प्राणायाम विधि अपनाउनुपर्छ ।

-    कपालभातीका सीमितताहरुलाई ख्याल गर्दै यसको अभ्यास गर्नुपर्छ ।

-     श्वासप्रश्वासका दमरोग जस्ता समस्यामा कपालभाती गर्दा निकै सावधानी अपनाउनु पर्छ ।

-     पहिलो पटक यो अभ्यास गर्न थालेको हो र उमेर ४० वर्ष कटेको छ भने एक सेकेन्डमा एक झड्का मात्र दिने, युवाहरुले २ झड्का प्रति सेकेन्ड दिन सकिन्छ तर २ झड्काभन्दा बढी १ वर्षसम्मको अभ्यासकर्ताले दिनुहुँदैन ।

अन्त्यमा, माथि उल्लेखित विभिन्न शब्दहरुको आधारमा कपालभाती प्राणायामको वैज्ञानिक तरिकाले जीवनलाई लाभ हुने भएकाले कपालभाती जस्तो प्राणायाम मानव जीवनको लागि वरदान हो । जबसम्म जीवन रहन्छ तबसम्म कपालभाती नियमित रूपमा गर्नु आवश्यक छ ।

मानव जीवनसँगै कपालभाती समेत अनिवार्य आवश्यक भएकाले यसलाई जीवनकै एक अङ्ग बनाउनु जरुरी छ । कपालभाती प्राणायामले कतिपय अवस्थामा जीवन आयु बढाउने, जीवनदान दिने, जीवनमा अत्यन्तै उपयोगी हुने र कपालभाती नगर्दा जीवन स्वस्थ, सुन्दर र आनन्दित नहुने भएकाले कपालभातीलाई जीवनसाथी भन्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप