केन्द्रीय संस्करण
साहित्य

एउटा सुगाको कथा

सुगाको मुख त ठसाठस भरेर बन्द गरिएको थियो, रुन–कराउन र चिच्याउनसमेत नहुने गरी टम्म भरिएको थियो– किताबी ज्ञान

person explore access_timeफागुन १०, २०७६ chat_bubble_outline0

एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो, तर किताब पढ्न भनेपछि कोसौं टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगा हाँगा चाहार्थ्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो तर उसलाई नियम–कानून भनेको कुन चरोको नाम हो, पटक्कै थाहा थिएन ।

एक दिन राजाले सोचे– ‘यस्तो मूर्ख चरोको के काम ? यसबाट फाइदा हुनु त परै जाओस्, घाटामात्रै भइरहेको छ । यसले वनजंगलका सबै फलफूल खाइदिन्छ र फलफूलको बजारमा अभावमात्रै सिर्जना गरिदिन्छ ।’

त्यसैले राजाले मन्त्रीलाई बोलाए र आदेश दिए– ‘यस सुगालाई पढाउने व्यवस्था गर ।”

https://i.ytimg.com

सुनारलाई सुनको पिँजरा बनाउन राजाको आदेश पठाइयो । महिना दिनभित्रै उनले एउटा अत्यन्त सुन्दर पिँजरा बनाए । पिँजरा यति अनौठो र भव्य थियो कि त्यसको बयान गरी साध्य नै छैन । त्यस पिँजराको प्रसिद्धि देश–विदेशमा फैलियो । त्यो पिँजरा हेर्न मानिसहरुको ओइरो लाग्यो ।


पण्डितहरुको सभा बोलाइयो । गम्भीर विचार विमर्श गरियो । र, यस जीवको मूर्खताको कारण के हो भन्ने विषयमा धेरै दिनसम्म मगज खियाइयो । लामो वाद–विवादपछि एउटा निष्कर्ष निकालियो । निष्कर्ष थियो– यो सुगाले आफ्नो गुँड सामान्य झारपात र छेस्काहरुले बनाउने भएकाले यसलाई श्रेष्ठ विद्याको वातावरणबाट वञ्चित रहनु परेको छ । त्यसैले यसको लागि एउटा सुन्दर आवास बनाउनुपर्छ । यसका लागि सुनको पिँजडाको व्यवस्था गर्नु आवश्यक छ ।

सभा विसर्जनपछि पण्डितहरुलाई समुचित सम्मान दिइयो, मोटो रकम दक्षिणाको रुपमा दिइयो । उनीहरु प्रसन्न भएर आ–आफ्नो घरतिर गए ।

अनि सुगालाई शिक्षित गर्ने दायित्व राजाका भान्जालाई सुम्पियो ।

सुनारलाई सुनको पिँजरा बनाउन राजाको आदेश पठाइयो । महिना दिनभित्रै उनले एउटा अत्यन्त सुन्दर पिँजरा बनाए । पिँजरा यति अनौठो र भव्य थियो कि त्यसको बयान गरी साध्य नै छैन । त्यस पिँजराको प्रसिद्धि देश–विदेशमा फैलियो । त्यो पिँजरा हेर्न मानिसहरुको ओइरो लाग्यो ।

कसैले भन्यो– ‘लौ, अब शिक्षाको अन्त्य भो !’ अर्को कसैले भन्यो–  ‘राजाको हुकुम हो, सानोतिनो कुरा हो र ?

यो सुगाको भाग्यै बलियो रहेछ । पढोस् नपढोस्, बस्न त यसले सुनकै पिँजरामा बस्न पाउने भयो । सुनारले पनि प्रशस्तै पैसा पायो । ऊ राजाको जयजयकार गर्दै घरतिर लाग्यो ।


यो सुगाको भाग्यै बलियो रहेछ । पढोस् नपढोस्, बस्न त यसले सुनकै पिँजरामा बस्न पाउने भयो । सुनारले पनि प्रशस्तै पैसा पायो । ऊ राजाको जयजयकार गर्दै घरतिर लाग्यो ।


त्यसपछि शुरु भयो, सुगाको पढाइ । पण्डितजी उसलाई विद्या दान दिन थाले । उनले जोड जोडले नसा ताने अनि फर्माइस गरे– ‘यस्ता थोत्रा–पुराना पुस्तकहरुबाट यति महान काम हुन  सक्दैन ।’

राजाका भान्जाले तत्कालै नयाँ पुस्तक लेख्ने विद्वानहरुलाई बोलाउन पठाए । तुरुन्तातुरुन्तै एकसेएक नयाँ पुस्तकहरुको थुप्रो लाग्यो । हेर्नेहरुले टिप्पणी गरे– ‘आम्मै !  विद्याको यत्रो पहाड कहाँ अटाउला र ?’

 पुस्तक लेख्ने विद्वानहरुले पनि ठूलै इनाम पाए । ती सबै इनामहरु उनीहरुले गोरुगाडामा खाँदाखाँद भरेर घर लगे । त्यसपछि त उनीहरुका गरीबी र अभावका दिनहरु पनि सकिए ।

राजाका भान्जाको त कुरै छोडौं, उनी अति व्यस्त थिए । अत्यन्त मूल्यवान पिँजराको रेखदेख गर्दैमा उनलाई फुर्सद हुँदैनथ्यो । कहिले पालिस  लाउने, कहिले पुछपाछ गर्ने, कहिले यताउति मरमत गर्ने काम पनि आइपर्थ्यो । जजसले यस्तो देख्थे, उनीहरु प्वाक्क भनिहाल्थे– ‘लौ उन्नतिको काम शिखरमा पुगेको छ !’

कामको चाप थुप्रै बढ्यो । त्यसैले अनेकथरी कामदारहरुको खाँचो पर्‍यो । तीमध्ये केहीलाई काममा लगाइयो, केहीलाई काम गर्नेहरुको काममाथि निरीक्षण गर्नका लागि खटाइयो । र, केहीलाईचाहिँ यी सबै कामहरुको रेखदेख र सेवा सुश्रुषाका लागि राखियो ।

अझ मज्जाको कुरो त के छ भने उनीहरु सबैले मोटो रकम तलबको रुपमा लिएर आ–आफ्नो सन्दूस भर्नतिर लागे । राजाको भान्जाका दाइ, भान्दाइ, दिदी, भान्जीदिदी, काका–भतिजा, फुपु–फुपाजु आदि–इत्यादि खाँदाखाँदा सुँगुरझैं मोटाघाटा भए । अनि उनीहरु ठूलाठूला बैठक कोठाहरुमा मोटा, बाक्ला र नरम डसनाहरु बिछ्याएर आरामसँग बस्न थाले ।

संसारमा अनेक वस्तुको अभाव छ तर निन्दा गर्नेहरुको भने कुनै कमी छैन । त्यस्तो व्यक्ति एकजना खोज्दा हजारजना भेट्टिन्छन् । त्यस्ता निन्दकहरुले आफ्नो काम थाले– ‘पिँजराको त ठूलै उन्नति भइरहेको छ तर विचरा सुगाको सन्चोबिसन्चो बुझ्ने कोही छैन ।’


संसारमा अनेक वस्तुको अभाव छ तर निन्दा गर्नेहरुको भने कुनै कमी छैन । त्यस्तो व्यक्ति एकजना खोज्दा हजारजना भेट्टिन्छन् । त्यस्ता निन्दकहरुले आफ्नो काम थाले– ‘पिँजराको त ठूलै उन्नति भइरहेको छ तर विचरा सुगाको सन्चोबिसन्चो बुझ्ने कोही छैन ।’


त्यस्ता निन्दकहरुको निन्दा उड्दै उड्दै राजाको कानसम्म पुग्यो । उनले भान्जालाई शाही फर्मान जारी गरेर तुरुन्तै बोलाए । र, भने– ‘मैले के सुन्नु परिरहेको छ ? के हो वास्तविकता ?’

भान्जाले जवाफ दिए– ‘वास्तविकता बुझ्न चाहिबक्सिन्छ भने सुनारहरुलाई बोलाइस्योस्, पण्डितहरुलाई बोलाइस्योस् र पुस्तक लेखकहरुलाई बोलाइस्योस् । रेखदेख गर्ने र मर्मत संभार गर्नेहरुलाई बोलाइस्योस् । सत्य कुरो के हो भने निन्दकहरुलाई लाभको अंशियार नबनाइएकोले उनीहरुले विनासित्ति चारैतिर भाँजो हाल्दै हिँडेका छन् ।’

राजा त राजै थिए । उनी आफ्नो भान्जाको शब्दजालबाट सम्मोहित भए । उनको घाँटीमा बहुमूल्य सुनको हार पहिर्‍याइयो, किनभने उनले राजालाई सबै कुरा छर्लङ्गै पारेर बुझाइदिएका थिए ।

 ५

एक दिन सुगालाई दिइएको सबै शिक्षाको प्रक्रिया आफ्नै आँखाले दर्शन गर्ने इच्छा राजाको मनमा जाग्यो र उन्नतिको रफ्तारबारे थाहा पाउने चाहना उब्जियो । त्यसैले उनी एकाएक आफ्ना दलबलका साथ शिक्षास्थलको भ्रमणमा निस्के । राजाको सवारीको मौकामा उनका हुक्के, छाते, मन्त्री र मित्रहरुको लावालस्करले गर्दा वातावरण नै झकमक्क भयो ।

राजाको सवारीको खबर सुन्नेबित्तिकै मूलद्वारमा शंख, घण्ट, नगरा, नर्सिङ्गा, सनही, मृदङ्ग, मुर्चुङ्गा, मुरली र करतालजस्ता बाजागाजाहरु आफसेआफ बज्न थाले । पण्डितहरुले गला नै सुक्ने हदसम्म चिच्याई–चिच्याई स्वस्ति गर्न थाले र लामा लामा टुप्पीहरु हल्लाई–हल्लाई मन्त्र पाठ गर्न थाले ।

 काममा डुबेर लागिपरेका धेरैधेरै कालिगढहरु, उनीहरुको निरीक्षण र रेखदेख गर्नेहरु, उनीहरुमाथि पनि रेखदेख गर्नेहरु तथा उनीहरुका पनि मामा, काका, भाइ–भान्जा र भतिजाहरुले सबै राजाको जय–जयकार गर्न लागे ।

गर्वले फुलेर भान्जाले भने– ‘राम्ररी हेरिस्या’हो महाराज, आफ्नै आँखाबाट सबै कुरा दर्शन गरिस्योस् ।’

राजाले भने– ‘ओ हो कति आश्चर्य ! तर सर्वत्र शब्द नै शब्द मात्रै भइरहेको छ ।’

भान्जाले तत्काल जवाफ दिए– ‘अर्थ पनि कम भइरहेको छैन नि महाराज । हजुर हेरिमात्रै बक्स्योस् न !’

प्रसन्नचित्त राजा महलतिर फर्कन लागे । हात्तीमाथि सवार भई उनी हिँड्नमात्रै के लागेका थिए, नजिकैको झाडीमा लुकेर बसेका निन्दकले बोलाए– ‘महाराज, आफ्नो सुगालाई पनि अलिकति दर्शनभेट दिएर गइस्योस् न ।’

 राजा एकछिन झस्के, भीडतिर हेरे अनि असजिलो मान्दै भने– ‘ए, साँच्चै आफ्नो सुगालाई हेर्न त झन्नै भुलेको है !’


राजा खुशीले गद्गद् भए– सुगाको तुच्छ अस्तित्वको तुलनामा उसलाई पढाइने तरिका कति महान, प्रक्रिया पनि कति विशिष्ट ! त्यसैले त्यस्ता महान तरिका र विशिष्ट प्रक्रियाका अगाडि सुगाको अस्तित्व कहिँकतै देखिएन, कहाँ हरायो कहाँ । साँच्चै भन्ने हो भने राजाले उसलाई हेर्नुपर्ने जरुरत नै ठानेनन् ।


राजालाई पण्डित नजिकै लगियो । उनले पढाउने तरिका जान्न खोजे । उनलाई सबै कुरा प्रष्टै देखाइयो । राजा खुशीले गद्गद् भए– सुगाको तुच्छ अस्तित्वको तुलनामा उसलाई पढाइने तरिका कति महान, प्रक्रिया पनि कति विशिष्ट ! त्यसैले त्यस्ता महान तरिका र विशिष्ट प्रक्रियाका अगाडि सुगाको अस्तित्व कहिँकतै देखिएन, कहाँ हरायो कहाँ । साँच्चै भन्ने हो भने राजाले उसलाई हेर्नुपर्ने जरुरत नै ठानेनन् । उनले राम्ररी बुझे– पढाउने व्यवस्थामा कहीँकतै पनि त्रुटि छैन ।

तर पिँजरामा भने दानापानीसमेत थिएन । केही पनि हुँदै नभएको चाहिँ पक्कै होइन । हो, त्यहाँ थिए– केवल शिक्षाको पहाड, केवल चाङका चाङ पुस्तकहरुको शिखर । पुस्तकका सबै पानाहरु च्यातेर कलमको टुँडोले सुगाको मुखमा कोच्ने काम गरिन्थ्यो । दानापानीको सट्टा किताबकै अक्षरहरु जबर्जस्ती कोची कोची खुवाइन्थ्यो । त्यसैले उसको गाउने अभ्यास दुईचार दिनमै हटिसकेको थियो । सुगाको मुख त ठसाठस भरेर बन्द गरिएको थियो, रुन–कराउन र चिच्याउनसमेत नहुने गरी टम्म भरिएको थियो– किताबी ज्ञान । उसको स्थिति हेर्दा देख्नेहरुको जीउ नै सिरिङ्ग सिरिङ्ग हुन्थ्यो ।

राजाले हुकुम दिए– ‘निन्दकको जिब्रो थुति दे, कान काटेर कुकुरलाई ख्वाइ दे ।’

यस्तो कुलीन शिक्षा व्यवस्थामा निरीह सुगा दिनदिनै मरणासन्न हुँदैगयो । अभिभावकहरुको बुझाइ हेर्नुस्त, उनीहरुलाई लागिरहेको थियो– आशा गरिएभन्दा बेसी मात्रामा प्रगति हुँदैछ ।

वास्तवमा मरणासन्न अवस्था पनि सुगामा पक्षीसुलभ स्वभावको सहजता बाँकी नै थियो । बिहान हुन नपाउँदै ऊ घामका किरणहरु एकटकले टोल्हाएर हेरिरहन्थ्यो र परिवेशविरुद्ध प्रतिवाद गर्ने ढंगले आफ्ना पखेटाहरु फ्याटफ्याट चलाइरन्थ्यो । यतिमात्रै होइन, कहिलेकाहीँ त ऊ आफ्ना निर्बल भइसकेका रोगग्रस्त टुँडो (चुच्चो)ले पिँजराका डण्डीहरु काट्ने काममा जुटिरहेको दृश्यसम्म पनि देखिन्थ्यो ।

उसको यस्तो ढिठ र अशिष्ट चरित्र प्रहरीका हाकिमलाई पटक्कै सह्य भएन । उनी गर्जे– ‘लोहारलाई तुरुन्तै यहाँ हाजिर गर ।’

लोहार आफ्ना सम्पूर्ण सरसामानका साथ तुरुन्त उपस्थित भए । दनदनी आगो बालियो, फलाम तताउन थालियो र भकाभक पिट्न थालियो र छिटै एउटा बलियो साङ्लो तयार गरियो । र, साङ्लोद्वारा बाँधिएपछि सुगाका पखेटाहरु पनि मुठारियो । राजाका आसेपासेहरुले तुरुन्तै अँध्यारो मुख लाएर रिस पोखिहाले– ‘यो राज्यका चराचुरुंगीहरु मूर्खमात्रै होइनन् रहेछ, नूनको सोझो पनि गर्न नजान्ने नकच्चराहरु पनि रहेछन् ।’

त्यसपछि पण्डितहरुले एक हातमा कलम र अर्को हातमा भाला लिएर कर्मकाण्ड शुरु गरे, जसलाई उनीहरुले शिक्षाको रुपमा व्याख्या गरे ।

 लोहारको कलालाई सबैले मुरीमुरी प्रशंसा गरे । लोहारकी पत्नीको शरीर स्वर्ण–आभूषणहरुले सुशोभित गरियो । अनि प्रहरीका हाकिमको कुशलताको बदलामा उनलाई पनि शिरोमणि पुरस्कार दिइयो ।

अन्ततः सुगाको मृत्यु भयो । ऊ कुन दिन कसरी मर्‍यो ? कसैलाई केही पनि थाहापत्तै भएन । मोरा अभागी निन्दकहरुले नै उसको मृत्युको हल्ला चारैतिर फैलाई दिए । राजाले फेरि एकपटक भान्जालाई बोलाउन पठाए । महलमा आउनासाथ राजाले सोधे– ‘फेरि के यस्तो अशुभ खबर सुन्नुपरेको भान्जा ?’


अन्ततः सुगाको मृत्यु भयो । ऊ कुन दिन कसरी मर्‍यो ? कसैलाई केही पनि थाहापत्तै भएन । मोरा अभागी निन्दकहरुले नै उसको मृत्युको हल्ला चारैतिर फैलाई दिए । राजाले फेरि एकपटक भान्जालाई बोलाउन पठाए । महलमा आउनासाथ राजाले सोधे– ‘फेरि के यस्तो अशुभ खबर सुन्नुपरेको भान्जा ?’


भान्जाले सहज रुपमा जवाफ दिए– ‘महाराज, साँच्चै भन्ने होभने सुगाको शिक्षा–दीक्षा पूरा भएको खबर हो यो ।’

राजाले फेरि सोधे– ‘ऊ अहिले पनि  पहिलेजस्तै उफ्रीउफ्री हाँगा हाँगा चाहार्छ कि चाहार्दैन ?’

भान्जाले भने– ‘अहँ, त्यसको त नामै लिँदैन ।’

‘अहिले पनि भुर्रर्र भुर्रर्र उड्ने गर्छ कि ?’

‘पटक्कै गर्दैन ।’

‘गीतसीत गाउँछ कि ?’

‘अहँ, कहिल्यै गाउँदैन ।’

‘खान–पिउन नपाएपछि चिच्याउँछ कि ?’

‘चिच्याउँदैन महाराज ।’

राजाले भने– ‘त्यसो भए म एकपटक सुगालाई हेर्न चाहन्छु, भान्जा । उसलाई मेरोसामु पेश गर ।’

त्यसपछि मृत सुगालाई महलमा ल्याइयो । ऊसँगै आए, प्रहरीका हाकिम, प्रहरीहरु र घोडचढीहरुसहितको फौज । 

राजाले सुगालाई हातमा लिएर यस्सो थिचेर हेरे तर उसले चाइँचुइँ केही पनि आवाज निकालेन । हो, त्यतिखेर उसको सिंगो पेट पुस्तकका सुख्खा पानाहरुले भरिएको देखियो । जब राजाले सुगालाई हल्लाएर हेरे, हिँड्डुल गराएर पनि हेरे, तब सुख्खा पातहरुको खस्य्राकखुस्रुक आवाजमात्रै आयो ।

त्यतिखेर बाहिर भने नयाँ सालको वसन्त आइसकेको थियो । वसन्तलाई स्वागत गर्न दक्षिणतिरबाट बग्ने हावाले आफ्नो पछ्यौरा फैलाइरहेकी थिई । नयाँ पालुवाहरुले लामा लामा उच्छ्वासहरुबाट फूलहरुले भरिएका वनहरु र विस्तृत रुपमा फैलिएको आकाशलाई विव्हल पारिरहेका थिए ।

ø अनुवाद– राजेन्द्र महर्जन,

  स्रोत : ‘उद्भावना’, नई दिल्ली, अंकः ५९–६०

Homepage Photo: http://niyogibooksindia.com

Title Photo: http://www.indoindians.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...