शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानको संसदीय निर्वाचनः अनुदारवादी समूहले विशाल मतान्तरले विजय हाँसिल गर्ने सङ्केत

शनिबार, १० फागुन २०७६, २२ : ३३
शनिबार, १० फागुन २०७६

तेहरान । इरानमा शुक्रबार सम्पन्न संसदीय निर्वाचनको प्रारम्भिक मतगणनाले त्यहाँको अनुदारवादी समूहले विशाल मतान्तरले विजय हाँसिल गर्ने सङ्केत देखिएको छ । 

निर्वाचनका लागि आकांक्षी रहेका झण्डै आधा उम्मेदवारलाई अयोग्य घोषण गरेपछि भएको निर्वाचनमा सुधारवादी समूहका अधिकांश नेताहरू बाहिरिएका थिए । सुधारवादी समूहको नेतृत्वमा वर्तमान राष्ट्रपति रहेका छन् भने अनुदारवादी समूहलाई कट्टरपन्थी सर्वोच्च नेता आयोतोल्ला खामेनीको समर्थन रहेको छ ।

उम्मेदवारी दिने सूचीमा रहेका १६ हजार व्यक्तिमध्ये आधा सङ्ख्यालाई निर्वाचन लड्न अयोग्य घोषणा गरेपछि सुधारवादी समूहलाई यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको चर्चाहरू सञ्चारमाध्यममार्फत सार्वजनिक भएका थिए ।

शनिबार मध्य दिनसम्ममा कूल २९० निर्वाचन क्षेत्रमध्ये ७१ स्थानको मत गणना शुरू भैसकेको र अधिकांशमा अनुदारवादी समूह अगाडि देखिएको इरानको समाचार संस्था आइएसएनएले राष्ट्रिय निर्वाचन समितिले जनाएको छ ।

समितिका प्रवक्ता इस्माइल मौसभीले राज्य सञ्चालित टेलिभिजनसँग भने, “अनुदारवादी तथा अति अनुदारवादी समूहको गठबन्धनले राजधानी तेहरानका ३० सीटमा सहज परिणाम निकाल्ने देखिएको छ । मतगणना जारी रहेको छ ।” 

निर्वाचनमा तीन पटकसम्म राष्ट्रपतिको उम्मेदवार बनी पराजित बनेका तथा पूर्व प्रहरी प्रमुख र रिभोलुसनरी गार्डका सदस्य मोहम्मद बाघर घालिबाफले राम्रो अग्रता लिएको बताइएको छ । 
राजधानी र अन्य प्रान्तको निर्वाचन परिणाम आइतबार बिहानसम्ममा आइसक्ने मौसभीले बताए । यदि निर्वाचन परिणाम यहि गतिमा अघि बढेमा राष्ट्रपति हसन रौहानी, जसले चार वर्ष पहिले, अत्यधिक बहुमत ल्याएर सत्तामा पुगेका थिए, उनको राजनीति लगभग धरापमा देखिएको छ । 

तर अनौपचारिक सूचनाका आधारमा शनिबार अपरान्ह् फार्स न्यूज एजेन्सीले दिएको जानकारीमा कूल २९० सीटमध्ये प्रतिस्पर्धामा १८३ स्थानको मतपरिणाम आइसकेको र अनुदारवादी समूहले १३५ सीटमा विजय हाँसिल गरेको बताइएको छ ।

सुधारवादी समूहले जम्मा २० स्थान र स्वतन्त्रले २८ स्थानमा विजय निकालेको उल्लेख छ । फार्सले तेहरानमा ९० लाख मतदाता रहेकोमा १९ लाखले मात्र मतदान गरेको ट्वीटमार्फत् सार्वजनिक गरेको छ । तेहरानमा अधिकांशले मतदानमा भाग नलिएको एक गैर–सरकारी संस्थाका अर्घाभान अरामले शुक्रबारको प्रक्रियालाई निर्वाचन भन्न नसकिने तर उम्मेदवारको चयन भन्नु ठीक हुने बताए ।

निर्वाचन आयोगले शनिबार औपचारिकरूपमा निर्वाचित घोषणा गरेका ५६ सांसदमध्ये ४६ नयाँ अनुहार आएका र बाँकी १० जना पूराना अनुहार रहेका राज्य संचालित टेलिभिजनको वेबसाइटमा राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप