शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

९० लघुवित्तको रु दुई खर्ब ५६ अर्ब लगानी

शनिबार, १० फागुन २०७६, २१ : ४६
शनिबार, १० फागुन २०७६

देशका ९० लघुवित्त संस्थाले तीन हजार ८६१ शाखामार्फत रु दुई खर्ब ५६ अर्ब लगानी गरेको जनाएका छन् । नेपाल लघुवित्त बैंकर्स सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा २८ लाख पाँच हजार ऋणीलाई सो ऋण प्रवाह गरेको जानकारी दिइयो । 
     
सो अवसरमा सङ्घका अध्यक्ष वसन्तराज लम्सालले लघुवित्तले आधाभन्दा बढी रकम कृषि क्षेत्रमा लगानी गरेको भन्दै त्यसमा कृषकले अनुदान पाउन नसकेको बताए । ठूला किसानले करोडौँ ऋण रकमको ब्याजमा पाँच प्रतिशत अनुदान पाउने गरेको भए पनि लघुवित्तबाट ऋण लिएर कृषिकर्म गर्नेले अनुदान पाउन नसकेको उनको भनाइ थियो ।
 
त्यसैगरी कृषि बीमाको सरकारले दिने ७५ प्रतिशत अनुदान रकमबाट पनि साना किसान बञ्चित भएको उनले बताए । अध्यक्ष लम्सालले भने, “लघुवित्तबाट ऋण लिएका कृषकले ब्याजमा सहुलियत र बीमाको भुक्तानीमा पाउनुपर्ने अनुदान पाएका छैनन् ।’ नेपालका लघुवित्त संस्थाले रु ९८ अर्ब ७५ करोड बचत सङ्कलन गरेका छन् ।

शेयर रकम रु २५ अर्ब हाराहारी रहेको भन्दै लम्सालले बाँकी सबै रकम बैंकबाट महङ्गो ब्याजमा लिएर लगानी गरेको जानकारी दिनुभयो । लघुवित्तको ब्याजदर बढी हुनु स्वभाविक भएको भन्दै उहाँले अहिले बैंकबाट १३ प्रतिशतसम्ममा रकम लिएर १८ प्रतिशतमा लगानी गर्नुपर्दा ब्याजदर बढी भएको उनको भनाइ थियो । 

यद्यपि विश्वका अन्य देशको तुलनामा यहाँका लघुवित्तको ब्याजदर कम भएको लम्सालले दाबी गरे । सङ्घका महासचिव रामबहादुर यादवले राष्ट्र बैंकबाट सहुलियतमा लघुवित्त बैंकले रकम पाउन नसकेको भन्दै दुई प्रतिशतमा सरकारी पैसा ल्याएर महङ्गोमा ब्याज लगाउने गरेको हल्ला निराधार भएको बताए । 

कर्जाको दोहोरोपना, कर्जाको गुणस्तरमा ह्रास, कर्जाको स्रोतको अपर्याप्तता, कर्जा कोषको ब्याजदर महङ्गो र अस्थिरजस्ता समस्या लघुवित्तले भोग्नुपरेको महासचिव यादवको भनाइ थियो ।
 
लघुवित्त संस्थामा कार्यरत एक÷दुई कर्मचारी र संस्थाका कारण सबै लघुवित्तलाई मुछेर बदनाम गर्ने काम भइरहेको भन्दै सङ्घले गम्भीर ध्यानाकर्षणसमेत सो अवसरमा गरेको थियो । लघुवित्तमा ४५ लाख ४६ हजार सेवाग्राही छन् । देशका ७७ जिल्लामा लघुवित्तको पहुँच रहेको सङ्घका उपाध्यक्ष भेषराज पन्थीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप