एकै पटक दुईटा झोलुङ्गेपुल बनेपछि स्थानीयलाई सहज
कपिलवस्तुको शिवराज नगरपालिका–३ मा एकै पटक दुई वटा झोलुङ्गे पुल बनेपछि स्थानीय खुसी भएका छन् । स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । पूर्वपश्चिम राजमार्गबाट करिब तीन किलोमिटर उत्तरतर्फको भितिरिया गाउँमा स्थानीयलाई अहिले आवतजावत सहज बनेको छ ।
गाउँमा पुग्न तीन वटा खोला तर्नुपर्ने भए पनि अहिले तिनै वटा खोलामा पुल निर्माण भएपछि स्थानीयको जोखिम हटेको छ । जवाई खोलामा पक्की पुल, मैनार खोला र सुकबेल खोलामा झोलुङ्गे पुल बनेको छ ।
पानी परेको बेला बजार जान र विद्यार्थीलाई पठनपाठन गर्न समस्या भएको थियो । करिब ८० घरधुरी रहेको भितरिया गाउँमा पुल बनेपछि अहिले स्थानीय पुलबाटै आवतजावत गर्ने गरेका छन् ।
साथै भितरिया गाउँसँगै जोडिएको कपिलवस्तुकै पर्यटकीयस्थल सोनवागढ पुग्न सुकबेल खोला तर्नु पर्दछ । खोलामा पनि मैनार खोलाको पुलसँगै उक्त खोलामा पनि झोलुङ्गे निर्माण भएको छ । जुन ७३ मिटर लम्बाइ र ५६ लाखको लागतमा निर्माण भएको बताइएको छ ।
नेपाल सरकारले तुइन हटाउने योजना देशैभर सञ्चालन गरेको अभियान स्वरुप कपिलवस्तुका विभिन्न स्थानमा झोलुङ्गेपुल निमार्ण भइरहेको छ । लिडो र सेवक नामक संस्थाको प्रविधिक सहयोगमा ४९ लाख को लागतमा निमार्ण भएको निमार्ण उपभोक्ता समितिका अध्यक्ष कपिलदेव खनालले बताए ।
पुल नहुँदा विद्यार्थीलाई विद्यालय पुग्न र बिरामीलाई स्वास्थ्य संस्था पुग्न समस्या भएको थियो । वर्षातको समयमा करिब एक महिनासम्म विद्यार्थी विद्यालय जान नसक्ने अवस्था रहेको स्थानीय भितरिया गाउँका अध्यक्ष रामबहादुर थारुले बताए ।
“विद्यालय जान भनी विद्यार्थी खोलासम्म आउने तर खोलामा बाढी आउँदा फर्किने गरेका थिए, अहिले पुल बनेपछि नियमित विद्यालय जाने गरेका छन्” थारुले भने, “गाउँलेलाई अहिले सहज छ ।”
भितरिया गाउँ पुरानो गाउँ भए पनि विकासमा पछाडि रहेकाले वडाले भितरियालाई प्राथमिकतामा राखेको वडाध्यक्ष टेकलाल सापकोटाले बताए ।
वडामा चार वटा पुल निर्माण भएकाले पछाडि परेका गाउँहरु पनि अब बजारसँग जोडिएको उनले बताए । ऐतिहासिक क्षेत्र सोनवागढ जानको लागि सडक समस्या रहेकाले पुल निर्माण भएपछि त्यँहा पुग्न सहज हुने विश्वास उनले व्यक्त गरे ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नगरभित्रका सबै गाउँसम्म जोड्न पुलको व्यवस्था हुने बताए । अब कसैले पनि नदी तथा खोलाको कारणले गन्तव्यसम्म पुग्न नसक्ने पिडा सहन नपर्ने अधिकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी