बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा सचिवालय बैठकमा एमसीसीबारे ब्रिफिङ : परिमार्जनसहित अनुमोदन गर्ने सहमति

शनिबार, १० फागुन २०७६, २० : १६
शनिबार, १० फागुन २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा आवश्यक छलफल गरेर अगाडी बढ्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडी बढ्ने निर्णय गरेको हो ।

नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमसीसी पारित गर्ने÷नगर्ने विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने बताए ।

सचिवालय बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए ।

थापाका अनुसार एमसीसीमा रहेका गम्भीर र आपत्तिजनक कुराहरु सुनाएपछि एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने विषयमा सचिवालयमा सहमति भएको छ ।

शनिबारको सचिवालय बैठकमा प्रतिवेदनलाई भाषिक रुपमा अन्तिम सम्पादन गरेर कार्यान्वयनका सम्बन्धमा अगाडी बढ्ने विषयमा पनि छलफल भएको उनले बताए । 

संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ ।

अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनको विवरण पेश गर्नुभएको थियो । बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लेनदेनको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका गोकुल बास्कोटाका विषयमा अख्तियार लगायतका थप निकायले छानबिन गरिरहेको विषयमा पनि जानकारी गराइएको उनले बताए ।

कार्यदलले झण्डै २० दिन लगाएर तयार पारेको प्रतिवेदन शुक्रबार अध्यक्षद्वयलाई बुझाएको थियो । नेकपा केन्द्रीय समिति बैठकले एमसीसीका विषयमा अध्ययन गर्न खनालको संयोजकत्वमा स्थयी समिति सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप