बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोराना भाइरसका कारण गर्मीका कपडा महँगो हुने

शनिबार, १० फागुन २०७६, १७ : ५२
शनिबार, १० फागुन २०७६

काठमाडौं । अघिल्लो वर्ष यतिबेला नेपाली व्यापारीले खासा बजार भरिन्थ्यो । फागुन लाग्दा नलाग्दै अहिले उनीहरु खासा बजारमा सामान अर्डर गर्न जान्थे । तर, यो वर्ष अवस्था फेरिएको छ ।

कोरोना भाइसरको असरका कारण चीनको आर्थिक गतिविधि ठप्प भएपछि व्यापारीहरु गर्मीको कपडाको लागि भारत, बंगलादेश र थाइल्यान्डतिर धाउन थालेका छन् । 

कोरोना भाइरसको संक्रमणपछि चीनबाट करिब २ महिनादेखि सामान आउन सकेको छैन । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपतकाल घोषणा गरेसँगै नेपाल चीन सीमा नाका बन्दजस्तै छ ।

नेपाल सरकार र चीन सरकारले पनि नेपालबाट चीनमा जाने र चीनबाट नेपाल आउन रोक लगाएका छन् । व्यापारीहरुले पनि चीनबाट सामान ल्याउन नपाएपछि भारत, बंगलादेश जस्ता विकल्पहरु रोज्न थालेका हुन् । 

काठमाडौंको महाबौद्धस्थित रञ्जना व्यापार संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले चीनबाट आउने सामानको विकल्प खोज्दै व्यापारीहरु भारतदेखि थाइल्यान्डसम्म जान थालेको बताए । 

नेपाल र चीनबीचको सीमा नाका बन्द भएका कारण चिनियाँ सीमामा आफूहरुका केही कन्टेनर सीमापारि नै रोकिएको तथा कोलकत्ता बन्दरगाहबाट आउने चिनियाँ सामान समेत आउन छाडेपछि विकल्प खोज्नुपरेको उनले जानकारी दिए । 

नेपाली खुद्रा व्यापारीले चीनबाट सबैभन्दा बढी दशैंको समयमा सामान आयात गर्छन् । त्यसपछिको सबैभन्दा बढी आयात गर्ने समय भने फागुन हो ।

जाडो सकिएर गर्मी सिजन सुरु हुने बेलामा बजारमा पातला कपडाको माग धेरै हुन्छ । तर यही सिजनमा आयात ठप्प भएपछि व्यापारीहरु तनावमा परेका हुन् । 

चीनबाट सामान आउन नसकेको अवस्थामा वैकल्पिक रुपमा आउनसक्ने कपडा चीनको भन्दा केही महँगो भने पर्न सक्नेछ । गार्मेन्ट उद्योगमा ठूलो हिस्सा भएको चीनको उत्पादन ठप्प हुँदा विश्व बजारमै मूल्य बढ्नसक्ने र त्यसको प्रभाव नेपालमा समेत पर्नसक्ने उनीहरुको अनुमान छ । 

‘हामीले वैकल्पिक रुपमा कपडाहरुको माग गरेका छौं । नेपालको बजार सानो भएकोले नेपालको माग नै पूरा हुँदैन, सामान नै अभाव हुन्छ भन्ने अवस्था नहोला तर पहिलेभन्दा केही महँगो पर्न चाहिँ सक्छ,’ महाबौद्धकै एक जना होलसेल व्यापारीले भने ।

तर २ महिनासम्म चीनबाट सामान आयात ठप्प हुँदापनि अहिलेसम्म सामान कपडाहरु महँगिएको चाहिँ छैन । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालका अनुसार स्टक क्लियरेन्सको समय भएका कारण अहिले कपडाहरुको मूल्य नबढेको हो ।

‘अहिले जाडो यामको लागि किनिएको कपडाको क्लियरेन्स गर्ने समय हो, त्यसैले योबेला कपडाको मूल्य घट्ने समय हो । स्टक पर्याप्त रहेको र गर्मीको लागि कपडाको माग हुने बेला सुरु हुनमात्रै लागेका कारण अहिलेसम्म मूल्यमा दबाब देखिएको छैन,’ उनले भने । 

चीन गार्मेन्ट उद्योगको सबैभन्दा ठूलो निर्यातकर्ता मुलुक हो । विश्वमा खपत हुने करिब ४० प्रतिशत कपडाको उत्पादन चीनले गर्ने गर्छ ।

चीन ज्याला र कच्चा पदार्थको लागतको हिसाबले सस्तो देश भएको तथा सो देशले विभिन्न देशका उपभोक्ताहरुको क्षमतालाई विचार गरेर वस्तुहरु उत्पादन गर्ने भएकोले पनि चीनको सामान विश्व बजारमा लोकप्रिय छ ।

तर कपडा मात्रै नभएर चीनको उच्च हिस्सा भएका सबै उत्पादनहरुको मूल्य विश्व बजार बढ्दै जाने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप