बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सानेपा हत्या प्रकरण : ‘मालिक्नी’को हत्या आरोपी विजयको मोबाइलमा के–के भेटियो ?

शनिबार, १० फागुन २०७६, १६ : २०
शनिबार, १० फागुन २०७६

काठमाडौँ । ललितपुरको सानेपामा गत माघ २७ गते पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको हत्या र सोही घरमा काम गर्ने विजय चौधरीको आत्महत्याबारे प्रहरीले अनुसन्धान जारी राखे पनि अझै रहस्य पत्ता लगाउन सकेको छैन ।

महानगरीय प्रहरी परिसर ललितपुरले घटनालगत्तै मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका लागि पठाएको थियो । प्रहरीले मुना र चौधरी दुवैको मोबाइलको रिपोर्ट बुझिसकेको छ । 

मुना र कामदार चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लू’ नभेटिएको परिसरका एसएसपी टेकप्रसाद राईले बताए  । उनले भने, ‘फरेन्सिक रिपोर्टमा चौधरीले अपराध गर्नुपर्ने कुनै स्पष्ट कारण देखिएको छैन ।’

चौधरीको व्यवहार हिंसात्मक रहेको कुनै लक्षण मोबाइलबाट फेला नपरेको बताउँदै एसएसपी राईले भने, ‘रिपोर्टलाई अझै विभिन्न कोणबाट हेरेर थप विश्लेषण गर्छौं ।’

चौधरीले प्रयोग गर्ने मोबाइलमा थुप्रै फोटो फेला परेको प्रहरीले जनाएको छ । कुकुरसँग खेलेको, अर्जुन कार्कीको छोरासँग रमाएको र विभिन्न ठाउँ घुम्न जाँदाखेरी खिचेका फोटाहरु चौधरीको मोबाइलमा रहेको परिसरकी एसपी दुर्गा सिंहले बताइन् । 

चौधरीको मोबाइलमा अश्लील खालका र हिंसामा सघाउ पुर्याउने खालका केही पनि सामग्री फेला नपरेको एसपी सिंहले बताइन् । चौधरीले मोबाइलमा डिलिट गरिएका सामग्री ‘रिकभर’ गरेर हेर्दा त्यसमा समेत कुनै शंकास्पद विषय फेला नपरेको प्रहरीको दावी छ । 

 


पोस्टमार्टम रिपोर्टमा मुनाको मृत्युको कारण स्ट्रांगुलेसन (घाँटी थिचिएका कारण) भएको उल्लेख छ । यस्तै चौधरीको मृत्यु पनि झुण्डिएकै कारण भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।

ललितपुर परिसरले मुनाको घाँटीमा डोरीले कसेर र टाउकोमा पिर्काले हानेर हत्या गरी कामदार चौधरीले आत्महत्या गरेको पोस्टमार्टम रिपोर्ट आउनुअघि नै दाबी गरेको थियो । प्रहरीले घटनास्थलमा प्राप्त सीसीटीभी फुटेजको विश्लेषणको आधारमा यस्तो दावी गरेको थियो ।

चौधरीले ‘मालिक्नी’ मुनाको हत्यापछि आत्महत्या गरेको प्रहरीले सजिलै भनिरहेको छ । तर, यस्तो अपराधको कारणबारे चाहिँ प्रहरीले पनि केही बताउन सकेको छैन ।

हत्याको कुनै क्लू नभेटाएपछि प्रहरी अर्जुन कार्कीसँग पनि बयान लिने तयारीमा छ । श्रीमतीको हत्यापछि किरियामा बसेका कारण अर्जुनसँग सोधपुछ गर्न नपाएको प्रहरीले जनाएको छ । 

प्रहरी अर्जुनकै आनीबानी, श्रीमती मुनासँगको सम्बन्ध, घरपरिवारमा उनको व्यवहारबाट घटनाको कारण पत्ता लगाउने प्रयासमा छ । घटनाको १२ दिनसम्म पनि प्रहरीले कुनै क्लू समेत पत्ता लगाउन सकेको छैन । 

घटनास्थल पुग्दा पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा रगताम्य अवस्था अचेत फेला परेकी थिइन् भने कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँटीमा हरियो नाइलनको डोरी कसिएको अवस्थामा मृत फेला परेका थिए ।

चौधरीको शव परिवारले दाङमै लगेर दाहसंस्कार गरिसकेको छ भने मुनाको पनि परिवारले दाहसंस्कार गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप