बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१४ औं महाधिवेशनको रस्साकस्सी : गगन र विश्वप्रकाशमा बेचैनी

शनिबार, १० फागुन २०७६, ११ : २५
शनिबार, १० फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनको तिथि मिति सार्वजनिक भएसँगै पदाधिकारीका आकांक्षीमा बेचैनी देखिएको छ ।

काँग्रेसले आगामी वर्षको फागुन ७ देखि १० गतेसम्म १४ औँ महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।

मुख्यत सभापति, उपसभापति र महामन्त्रीका आकांक्षीहरुमा बचैनी देखिएको पाइन्छ ।

सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र  डा. शेखर कोइराला आन्तरिक रणनीतिमा देखिन्छन् ।

जिल्ला दौडाहा र कार्यकर्ता भेटघाटमा निधि बाहेकका नेताहरुले आफूलाई सभापतिको प्रत्यासीका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

यद्यपि, सभापतिको लाइनबाट रिङआउट भएपछि माथि उल्लेखित  दोस्रो तहका नेताहरुलाई उपसभापतिको प्रतिस्पार्धीका रुपमा अनुमान लगाउन गाह्रो छैन । 

काँग्रेसको नयाँ विधान अनुसार कोषाध्यक्ष बाहेक १३ जना पदाधिकारी निर्वाचित हुने प्रावधान छ ।

जसमा दुई उपसभापति र दुई महामन्त्री निर्वाचित हुनुपर्ने व्यवस्थाले काँग्रेस नेताहरुमा यतिबेला नै बेचैन थपिदिएको छ ।

यसअघि एक जना उपसभापति, एक महामन्त्री मनोनित र एक महामन्त्री निर्वाचित हुने व्यवस्था थियो ।

उपसभातिमा नेताहरुको त्यति आकर्षण देखिँदैन । तीन सहमहामन्त्रीमा पनि आकर्षण देखिएको छैन ।

तर सभापतिपछिको शक्तिशाली मानिने महामन्त्री पदका लागि आकांक्षीको लर्को सभापति पदकै जस्तो लामै छ ।

संस्थापन पक्षमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउदलगायत महामन्त्रीका प्रमुख दाबेदरका देखिन्छन् ।
महामन्त्रीका लागि संस्थापन इतरमा डा. रामशरण महत, मिनेन्द्र रिजाल, गगन थापा र चन्द्र भण्डारीलगायतको बलियो दाबी छ ।

तर काँग्रेस वृत्तमा विश्वप्रकाश शर्मा र गगन थापाको चर्चा जबरजस्त ढंगले उठेको छ । तर, महामन्त्री बन्न शर्मा र  थापालाई सजिलो छैन ।

संस्थापन पक्षमा खड्का, महत, शर्मा, खाँड, कार्की र साउदमध्येबाट महामन्त्री प्रत्यासी उतार्नुपर्ने बाध्यता देखिन्छ । यस्तै बाध्यता संस्थान इतरपक्षमा पनि छ । 

थापालाई चुनौती
थापालाई महामन्त्रीमा आउन सिटौलाले ‘त्याग’ गर्नुपर्ने देखिन्छ ।

एक्लै महाधिवेशन फेस गर्ने अवस्थामा सिटौला समूह छैन । कुनै समूहसँग मिल्दा सिटौला र थापा मध्ये एकले ‘कम्प्रमाज’ गर्नुपर्ने देखिन्छ ।

त्यसैपनि यतिबेला थापामा चैन छैैन । उनी सिटौला समूह छोडेर पौडल समूहतर्फ आफ्नो स्पेसको खोजीमा छन् ।  सिटौला समूहमा थापाको भूमिका किनारको साक्षीका जस्तो मात्र देखिन्छ । पार्टीको आन्तरिक गतिविधिमा उनको उपस्थिति शुन्य बराबर नै छ । सिटौला समूहमा प्रदीप पौडेले भूमिका पढाउँदै गएका छन् ।

पार्टीका विभिन्न समिति–उपससमितिमा सिटौलाको पहिलो रोजाइ पौडेल बन्न पुगेका छन् ।

यो ४ वर्षमा थापाले सिटौला समूहबाट पाएको भनेको स्वास्थ्यमन्त्री मात्र हो । पार्टी राजनीतिमा सिटौलामा देखिएको पौडेल मोहले थापालाई केही झस्काएको बताइन्छ । 

सिटौलाले आफ्नो लागि ‘कम्प्रमाइज’ गर्न नसक्ने चाल पाएका थापामा यतिबेला छट्पट्टी सुरु भएको छ ।

५५ वर्षमा सक्रिय राजनीतिबाट बाहिरिने उद्घोष गरेका ४३ वर्षीय थापालाई पार्टी नेतृत्वमा पुग्न यो पटक जसरी पनि महामन्त्री बन्नुपर्ने छ ।

तर, संस्थापन इतरमा पौडेलले रामशरण महतलाई र महामन्त्री कोइरालाले रिजाललाई बोकिरहेका छन् ।

यस्तै दृश्य चुनावी मैदानमा पनि देखिन सक्ने काँग्रेस वृत्तमा अहिले देखि नै चर्चा हुन थालेको छ । जसले थापाका लागि चुनौतीको पहाड बन्न सक्ने कतिपयको विश्लेषण छ ।

थापाले १३ औँ महाधिवेशनमा शशांक कोइराला र आफ्नै ससुरा समेत रहेका अर्जुननरसिंह केसीविरुद्घ महामन्त्रीमा उम्मेदवारी दिए पनि पराजित भएका थिए । उनी विगतमा जसरी नेतृत्वको आलोचनामा केन्द्रित रहे, त्यो अहिले पनि जारी छ । 

तर, थापाले विभिन्न समयमा पार्टीका सबै गुटबाट केही न केही ‘उपहार’ भने पाउँदै आएका छन् । 

तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला, वर्तमान सभापति देउवा, नेताहरु सिटौला र नरहरि आचार्यसँग खेलअनुसार ताल मिलाउन सक्दा थापाको उचाइ चुलिएको उनलाई नजिकबाट नियाल्नेहरु बताउँछन् ।

१४ औँ महाधिवेशनमा थापाले कुन नेतासँग ताल मिलाउँछन् भनेर अहिल्यै अनुमान गराउन भने गाह्रो छ । 

शर्मालाई चुनौती
यता संस्थापन पक्षका नयाँ सदस्य शर्माको हालत पनि थापाको भन्दा कम छैन ।

देउवाको पहिलो प्राथमिकता विगतमा आफूले पार्टी फुटाउँदा साथ दिएकाहरु नै रहने विश्लेषण गरिन्छ । जसले शर्माको लोकप्रियता र प्रवक्ताका रुपमा देखाएको क्षमता गौण बन्न पनि सक्छ । देउवाले पार्टी सत्ता सम्हालेदेखि त्यसको छनक देखाउँदै आएका छन् ।

त्यसको पछिल्लो उदाहरण उपनिर्वाचनको टिकट वितरण र नेविसंघको नेतृत्व चयनमा देखिन्छ । पार्टी विभाजनका गरेका बेला बहुमत भ्रातृ र शुभेच्छुक संस्थाले देउवालाई साथ दिँदा शर्माले भने तत्कालीन संस्थापनमै रोजेका थिए । यस्तै त्यतिबेला देउवालाई साथ दिनेमा महत र खाँण पनि दिए । अहिले तिनै खाँण र महत देउवा गुटका सबैभन्दा प्रभावशाली मानिन्छन् । देउवा गुटका प्रमुख हस्ती महत र खाँणलाई उछिन्न शर्माका लागि फलामको चिउरा चपाउन सहर बराबर बन्ने काँग्रेस वृत्तमा चर्चा छ । 

तर, ४९ वर्षीय शर्माको अहिलेसम्म महामन्त्री बाहेकमा  नजर परेको छैन ।

१३ औँ महाधिवेशनमा देउवाको समूहका मुख्य योजनाकारका रुपमा देखिएका शर्मा १४ औँ महाधिवेशनमा पनि आफूले सोही भूमिका पाउने अपेक्षा राख्छन् ।

 शर्माले देउवा समूहको चुनावी रणनीति बनाउने सम्पूर्ण जिम्मेवारी पाएका थिए । तर अगामी महाधिवेशनमा शर्माका लागि आफू रहेको समूहसँगै एक्लो लडाइँ र प्रवक्ता भएपछि युवा नेताहरुसँग टुटेको साथ महंगो बन्ने देखिन्छ ।

विद्यार्थी राजनीतिकालका सहयात्री थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, गुरु घिमिरे र प्रदीप पौडेललगायतसँग शर्माको साथ टुटेको छ । गत आमनिर्वाचनमा काँग्रेसले हार व्यहोरेपछि ‘एकठाउँ, एक स्वर’ गर्दै पार्टी रूपान्तरणका लागि उनीहरुले लबिइङ सुरु गरेका थिए ।

तर देउवाले शर्मालाई प्रवक्ता बनाएपछि त्यो समूह छिन्नभिन्न भयो । त्यसपछि युवा नेतासँग शर्माको सम्बन्ध चिसिएको छ ।

तर शर्माको संस्कारसँग भने पार्टी नेतादेखि विपक्षीसम्म नतमस्तक छन् । जिल्लाको स्ववियु राजनीतिबाट उदाएका शर्मामा हार स्वीकार्ने राजनीतिक संस्कार छ ।

स्ववियु निर्वाचन होस् वा संसद् अथवा पार्टी राजनीतिमा पराजित हुँदा उनले देखाएको राजनीतिक संस्कार अझै पनि धेरैको स्मरणमा ताजै छ । उनले नेविसंघको नेतृत्वमा हुँदा देखाएको कौशलता पनि सम्झनलायक छ ।
०५७ सालमा नेविसंघका केन्द्रीय सभापति बनेका उनी दुई वर्षे कार्यकालभन्दा एक दिन बढी पनि उक्त पदमा बसेनन् । महाधिवेशन गराएर शर्माले नयाँ नेतृत्वलाई नेविसंघ सुम्पिएका थिए ।

विद्यार्थी नेताका रूपमा आफ्नो क्षमता देखाइसकेका शर्माले ०७५ फागुनमा प्रवक्ता नियुक्त भएपछि पार्टीलाई चलायमान बनाउन सक्दो कसरत गरिरहेका छन् । तर पार्टीभित्र दोहोरो भूमिकामा देखिएको भन्दै शर्माको आलोचना भइरहेको छ ।

शर्मा एकै पटक सार्वजनिक खपत र नेतृत्वको च्याप्लुसीमा उत्रिने गरेको भन्दै देउवा समूहका केही नेताहरुले उनको भूमिका माथि प्रश्न उठाउँदै आएका थिए र छन् ।

तर सभापति देउवाले अहिलेसम्म शर्माप्रति कुनै आग्रह पूर्वाग्रह राखेका छैनन् । तर, अगामी महाधिवेशनसम्म देउवा र शर्माको सम्बन्ध अहिलेको अवस्था नै कायम हुनेमा आशंका छ । जसले शर्मामा बैचनी थपिएको पाइन्छ ।
थापा र शर्माको सम्बन्ध 

०५३ को स्ववियु निर्वाचनदेखि एक अर्कालाई नजिकबाट चिनेजानेका शर्मा र थापाबीच यतिबेला प्रतिस्पर्धा देखिए पनि पूर्वाग्रह भने देखिँदैन । त्यसको दुई वर्षपछि ०५५ सालमा त्रिचन्द्रमा स्ववियु सभापति बनाउन शर्माले नै थापालाई सघाएका थिए ।

०७४ सालको संघीय संसद्को निर्वाचनमा शर्मा र थापाबीच एकअर्काको प्रसारसहितकोे भिडियोको ‘क्लिप’ सामाजिक सञ्जालमा आएकै थियो ।  

कुनै बेला विद्यार्थी मोर्चा र अहिले पार्टीको केन्द्रीय समितिमा सँगै रहेका शर्मा र थापाका लागि महामन्त्री प्रतिष्ठाको लडाइँ बनेको छ ।

जोसँग आफ्नो मिहिनेत र सार्वजनिक साखबाहेक अर्को कुनै वंश–विरासत छैन । दुवै जनाले आफूलाई महामन्त्रीका लागि सार्वजनिक रुपमा प्रस्तुत गरिसकेको पाइन्छ । थापाले भन्ने गरेका छन, ‘आगामी महाधिवेशनमा म महामन्त्रीको दाबेदार हुँ । उस्तै परिस्थिति निर्माण भयो भने म सभापतिको उम्मेदवार पनि हुन सक्छु ।’ 

यता शर्माको पनि रेडिमेट जवाफ छ, ‘ठीक समयमा यो कुरा भन्छु । तर विश्वप्रकाश शर्मा पार्टी प्रवक्ताको पदबाट रिटायर्ड हुने गरी काँग्रेस राजनीतिमा आएको होइन ।’

तर निकटस्थसँगको आन्तरिक गफगाफमा भने शर्माले आफूलाई महामन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप