केन्द्रीय संस्करण
मेराे जीवन

काँग्रेस नेता सुरेन्द्र पाण्डेको जीवन : म ‘अनेस्ट्ली’ भन्छु, राजनीति सुखको पेसा होइन

person explore access_timeफागुन १०, २०७६ chat_bubble_outline0

नेविसङ्घ, तरुण दल हुँदै नेपाली काँग्रेसको राजनीतिमा उक्लिएका सुरेन्द्र पाण्डे सरल र मिलनसार व्यक्तिका रूपमा परिचित छन् । गोरखा पालुङटारका पाण्डेलाई सुरुमा भेट्नेले रूखो व्यक्तिका रूपमा चिन्न सक्छन् । किनभने उनी सीधा बोल्छन् । खरो बोल्छन् । साथीभाइसँग बसेर रमाइलो गर्न, घुम्न र कार्यकर्ता संरक्षण गर्न उनी रमाउँछन् ।

राजनीतिक कार्यक्रमहरूमा पनि उनको बाक्लो उपस्थिति रहन्छ । पार्टी सङ्गठनमा समेत सक्रिय रहने पाण्डे प्रमुख विपक्षी दल नेपाली काँग्रेसको राष्ट्रिय सभाका नेता पनि हुन् । काँग्रेसको केन्द्रीय सदस्यसमेत रहेका पाण्डे पार्टीभित्र स्पष्ट वक्ताका रूपमा समेत परिचित छन् ।

राजनीतिमा करिब ४० वर्ष बिताएका पाण्डे परिवारका सदस्यलाई राजनीति नरोज्नसमेत सुझाउँछन् । राजनीति दुःखको पेसाका रूपमा आफूले अनुभव गरेको बताउने नेपाली काँगे्रसका नेता सुरेन्द्र पाण्डेसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो अध्ययन
मेरो रुचिको विषयमध्ये अध्ययन पनि एक हो । बजारमा आएको चर्चित पुस्तक अध्ययन गर्छु । विशेष गरेर बायोग्राफी र राजनीतिक विषयमा पुस्तक मनपर्छ । साहित्यतिर खासै रुचि छैन ।
जगत नेपालले बाहिर ल्याएको बीपीका विचार समेटिएको एक पुस्तक छ । त्यो अहिले पढिरहेको छु । अध्ययन गरेकामध्ये मनपरेको पुस्तक महात्मा गान्धीको बायोग्राफी, बीपी कोइरालका पुस्तकहरु हुन् । बीपीको जेल जर्नल मैले धेरै पटक पढेको पुस्तक हो ।
कृष्णप्रसाद भट्टराई, गणेमान सिंह लगायतका विषयमा बाहिर आएका पुस्तक पनि पढेको छु । पछिल्लो समयका घटना समेटिएको उहाँहरुको पुस्तक पढ्दा आफू नै प्रत्यक्षदर्शी जस्तो लाग्दो रहेछ ।

मेरो फुर्सद
अहिले खासै फुर्सद छैन । घरका लागि र साथीभाइलाई आवश्यक परे समय निकाल्न सक्छु । समय निकाल्न नसक्ने भनेको कुनै कुनै दिन मात्र हो । फुर्सदमा पत्रपत्रिका, पुस्तक अध्ययन गर्ने गर्छु । मेरी आमा ९७ वर्षको हुनुहुन्छ । फुर्सदमा उहाँलाई पनि समय दिन्छु ।

मेरो पोसाक
फर्मलभन्दा इन्फर्मल पोसाक मनपर्छ । त्यसमा पनि क्याजुअल सर्ट पाइन्ट, टिसर्ट जिन्स पाइन्ट सजिलो लाग्छ । विशेष अवसर र लगाउनै पर्ने समयमा फर्मल ड्रेस पनि मनपर्छ । 
मेरो फेबरेट पहिरन कलर निलो हो । पहिरन किन्न जाँदा जहिले पनि पहिलो आँखा निलो पोसाकमा परिहाल्छ । पहिले रेडिमेड किन्थे । अहिले शरीरको तौल बढेका कारण सिलाउनु पर्छ ।
म ब्रान्डेडमै विश्वास गर्छु । खल्तीमा पैसा छ र कतै गएको छु भने सपिङ गर्छु । योजना बनाएर सपिङ गर्ने बानी छैन । त्यस्तै १५, २० हजार भए वर्षभरिलाई पहिरन खर्च पुग्छ ।

मेरो फिट्नेस 
फिट्नेसका लागि म दैनिक हेल्थ क्लब जान्छु । ट्रेडमिल लगायतका एक्सरसाइज ट्रेनरको सल्लाह अनुसार प्रयोग गर्छु । प्रत्येक दिन दुई घण्टा हेल्थ क्लबमा बित्छ । पहिले घरका लागि ट्रेडमिल किनेर ल्याएको थिएँ, त्यो अहिले छैन । 

मेरो खाना
मेरो मनपर्ने खाना नेपाली दालभात तरकारी नै हो । मासु र चिउरा, गुन्द्रक र साँदेको भट्मास पनि धेरै मीठो लाग्छ । मन नपर्ने केही तरकारी छन् । जुन मैले सानैदेखि खाइनँ । जङ्गफुड र फास्टफुड पनि मनपर्दैन ।
रेस्टुरेन्ट साथीभाइ, परिवारसँग बेलाबेलामा जाने गरेको छु । रेस्टुरेन्टमा इन्डियन र चाइनिज खाना मनपर्छ । मासु पकाउन निकै मनपर्छ । घरमा धेरैजसो मासु पकाउने व्यक्ति नै मै हँु ।

मेरो खेलकुद 
स्कुल पढ्दा भलिबल खेल्थेँ । स्कुलमा कक्षाबाट खेलाडीको रूपमै छानिन्थे । एक पटक भलिबल वीरेन्द्रशील भन्ने गेमका लागि खेलेको थिए । अहिले भने टिभीमा क्रिकेट र फुटबलहरु हेर्छु । 

मेरो मबाइल 
अहिले मसँग एउटा मात्र सामसुम ब्रान्डको नोट नाइन मोबाइल छ । यसअगाडि आइफोन सिक्स थियो । त्योभन्दा अगाडि आइफोन फोर पनि चलाएँ ।
अहिलेको मोबाइल चलाएको करिब २ महिना मात्र भयो । फोन गर्न, इमेल, म्योसन्जरदेखि फोटो खिच्ने, पठाउनेलगायत कम्प्युटरबाट गर्नुपर्ने सबै काम मोबाइलबाट गर्छु । केही मोबाइल गिफ्ट पाएको पनि छु । अहिले चलाइरहेको मोबाइल पनि गिफ्ट आएको हो ।

मेरो टिभी 
पहिले पहिले नियमित टिभी हेर्थें । अहिले सोसियल मिडिया चलाउन थालेपछि नियमित हेर्दिनँ । हेर्ने पर्ने विषयका समाचारका आउने दिन र इन्डियन आइडलका लागि टिभीमा हेर्छु । क्रिकेट पनि हेर्छु ।

मेरो चलचित्र
चलचित्रमा म असाध्यै गरिब छु । विवाह गरेको अहिले २० वर्ष भयो । श्रीमतीलाई लिएर एकपटक पनि चलचित्र हेर्न गएको छैन ।
एक पटक छोराले कर गरेकाले लगेको थिएँ । फिल्म नहेर्ने पनि होइन । हलमा गएर हेरेको भने छैन । घरमा टिभी रिमोट घुमाउँदै जाँदा हेरौँ हेरौँ लागेको फिल्म हेर्छु । त्यसमा हिन्दी, नेपाली, अङ्ग्रेजी यही भन्ने छैन । 

मेरो भाषणशैली
म भाषण एग्रेसिप खालकै गर्छु । तर सीधा गर्छु । घुमाएर भन्न जाँन्दिनँ । एग्रेसिप भाषणाले मानिसलाई आफूतिर खिच्छ । कुराकानी गर्दा पनि फुलबुट्टा भरेर घुमाएर गरेको मन पर्दैन । म पनि जान्दिनँ । जे देख्छु, त्यो कुरो फ्र्याङ भन्छु । 

मेरो प्रेम 
मैले एरेन्ज म्यारिज गरेको हो । विवाहपछि श्रीमतीसँग प्रेम बस्यो । मेरा लागि सांसद सरिता प्रसाईंले केटी खोजिदिनु भएको हो । २०५६ मा मैले पूर्ण नेपाली परम्पराअनुसार विवाह गरेको थिए । विवाह अगाडि वा पछाडि बाहिर प्रेम भएन, गरिनँ । 

मेरो राजनीति
२०३५ सालमा नेपाल विद्यार्थी सङ्घको सदस्या लिएर जानीनजानी राजनीतिमा प्रवेश गरेँ । उक्त समय म स्कुल पढ्थँे । त्यसपछि अस्कल क्याम्पसमा पढ्दा नेविसङ्घबाटै कलेजको एकाइ सचिव भए । त्यसपछि फेरि त्रिचन्द्र कलेज गएको म त्यहाँ एकाइ र स्ववियु सभापति भए । 

नेविसङ्घमा निरन्तर लाग्दै जाँदा नेविसङ्घको केन्द्रीय सदस्य, तरुण दलको महासचिव हुँदै अहिले नेपाली काँग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेता भएको छु । नेपाली काँग्रेसको कुरा गर्ने हो भने २०५४ को महासमितिको सदस्य हुँ । १२औँ महाधिवेशनबाट म केन्द्रीय सदस्यमा निर्वाचित भएको थिए ।

म सानैदेखि स्वतन्त्रता मनपराउने मानिस थिए । चित्त नबुझेको कुरामा कमेन्ट गर्ने बानी थियो । मैले बाहिर मानिसलाई सघाएको देखेर आमाले त घरको काम केही नगर्ने । बाहिरको अरूको काम चाहिँ गर्दिने भन्नुहुन्थ्यो ।

म सानो छँदा पञ्चायती व्यवस्था थियो । सो समयका शासकको धेरै भनाइ र व्यवहार चित्त बुझ्दैन थियो । मेरो गाउँमा सो समय प्रजातन्त्रवादी पनि थिए । परिवारका दाइहरु पनि काँग्रेसमा लागेका थिए ।
बीपी, गणेशमान लगायत काँग्रेसका नेताले त्यतिबेला पञ्चायती बेवस्थामा फ्रिडम् छैन । त्यो समय आफूलाई आफ्नो स्वतन्त्रताको अधिकार प्राप्त गर्नुपर्छ भन्ने फिलिङ थियो । त्यसका लागि काँगे्रस बाहेकको विकल्प थिए । त्यसैले यो पार्टी रोजे ।  

मेरो दुःख
बाहिरबाट हेर्दा राजनीतिक मानिसले सुख पाएको देख्छन् । तर मेरो विचारमा राजनीति जस्तो दुःखको पेसा अर्काे छैन । हुन त सबैले आफूले गरेको काम दुःखको पेसा भन्ने गरेका छन् ।

तर म भन्छु राजनीति सहज पेसा होइन । राजनीतिमा कुनै कुरो हुन्छ, हुँदैन भन्नै सकिन्न । जे सोच्नुहुन्छ । त्यो नहुन पनि सक्छ । नसोचेको उन्नति आइपर्छ । राजनीतिमा लागेको यो लामो समयमा मैले राज्यको राम्रो पद पाएको यो पहिलो पटक हो । राजनीतिमा लाग्ने केही मानिसले छोटो समयमा धेरै सुख पनि पाएका छन् ।

तर म अनेस्ट्ली भन्छु, राजनीति सुखको पेसा होइन । म परिवारको सदस्यलाई राजनीतिमा आउ भन्दिनँ । परिवारको सदस्यको रुचि नै यसमा छ भने रोक्दिनँ । तर यो दुःखको पेसा हो । राजनीतिभित्रको दुःख सम्झने र बुझ्ने हो भने राजनीतिमा मानिस लाग्न गाह्रो छ । 

मेरो मापसे 
विभिन्न पार्टी, भोजभतेर लगायतमा पिउँछु । कहिले दैनिक मापसे पनि हुनजान्छ । कहिले एक सातमा पनि हुन्छ । तर हरेक दिन खानुपर्छ भन्ने लाग्दैन । रक्सी सकेसम्म गतिलै ब्रान्डको खान पाएहुन्थ्यो भन्ने छ । अन्त गएको समय ब्रान्डेड रक्सी छैन भने नपिउन पनि सक्छु । 
घरमा बार बनाएर रक्सी सजाएर राखेको छैन । तर साथीभाइ आउँदा र आफैलाई पनि घरमा माछामासु पाकेको दिन हल्का लिन काम लाग्छ भनेर राखेको छु । परिवारका सबै सदस्यसँगै बसेर कहिले काहीँ थोरै थोरै पिउँछौँ ।

मेरो गीतसङ्गीत 
पहिले त सेन्टिमेन्टल गीत धेरै सुन्थेँ । अहिले पनि त्यस्तै गीत बढी मनपर्छ । श्रीमतीले बिहान भजन पनि सुनाउँछिन् । त्यो पनि सुन्छु । स्कुल पढ्दा एक पटक गीत पनि गाएको थिए । गाउन र नाच्न रुचि छ । तर क्षमता छैन ।
मेरो सपना 
म प्रजातन्त्रका लागि भनेर पञ्चायती व्यवस्थादेखि राजनीतिमा होमिएको थिए । प्रजातन्त्र आएपछि आर्थिक रूपमा देश सम्पन्न होला भन्ने सो समय लागेको थियो । युरोप, अमेरिका, एसियाका विकसित मुलुक लगायत ३०, ३५ देश म घुमेको छु । विदेश देख्दा र आफ्नो देश देख्दा कहिले काही वैराज्ञ पनि लाग्छ । नरमाइलो लाग्छ ।
विदेशको जस्तो विकास कहिले गर्न सकिएला । नेपालीले पहिले त्यो सुख भोग्लान् भन्ने लाग्छ । यसको विषयमा पश्चाताप पनि हुन्छ । म आफै झण्डै ४० वर्षदेखि राजनीतिमा छु । देश विकास हुन नसक्दा दिक्क लाग्छ ।
 
मेरो घुमफिर
घुमघाममा रुचाउने मानिस हुँ म । प्राकृतिक सौन्दर्यले भरिएको एकान्त ठाउँ घुम्न मनपर्छ । कर्णालीका २ जिल्ला डोल्पा र कालीकोट पुग्न बाँकी छ । सुन्दर पश्चिमको केही गरेर ५, ६ जिल्ला पुग्न बाँकी होला । 
अहिलेसम्म करिब ७० जिल्ला घुमेको छु । विदेश सबैभन्दा पहिले नेपाल विद्यार्थी सङ्घबाट १९९६ मा जर्मन गएको थिए । पछिल्लो ६, ७ वर्षयता वर्षको एक पटक विदेश पुगेकै हुन्छु । युरोप ३, ४ चोटि, अमेरिका ३ चोटि र अन्य देश पनि घुमेको छु ।

मेरो घर 
मेरो पुरानो घर गोर्खा हो । अहिले बसुन्धरामा बस्छु । मैले र भाइले संयुक्त नाममा एउटा घर बनाएका छौँ २०५१, ०५२ मा । त्यतिखेरको चलेको डिजाइनअनुसार घर बनाएको हो ।  सो समय वास्तुशास्त्र हेरिएन । कतैकेही मिलेको छैन भनेर पछि वास्तुशास्त्री ल्याएर मिलाएका थियौँ । 


मेरो भुल
भुल त धेरै भयो होला जीवनमा । नजानेर पनि, जानेर पनि  भुल गरियो होला । पछुताउनुपर्ने भुल अहिलेसम्म गरेजस्तो लाग्दैन । म कहिलेकाहीँ मानिसलाई प्याच्च भन्छु । त्यसो नभनेको भए हुन्थ्यो भन्ने पछि लाग्छ ।
सीधा कुरा गर्ने बानी मेरो भुल होजस्तो लाग्छ । किनभने यस्तो कुरा धेरैलाई पच्दो रहेन छ । यस कुराले कहिले काही पछुतो हुने गरेको छ ।

मेरो रोग 
अहिलेसम्म त्यस्तो ठूलो रोक केही छैन । विगत ३ वर्षदेखि प्रेसर छ । त्यसको औषधि नियमित खाँदैछु ।

मेरो राशि  
मेरो राशि कुम्भ हो । ग्रहदशा म हेराउँदिनँ । विश्वास पनि लाग्दैन । तर श्रीमतीजी भने हेराउनुहुन्छ । कहिलेकाहीँ सामाजिक, घरायसी परिस्थितिले पूजापाठ गरिन्छ । मेरो बुबा हुनुहुन्न । बुबाको श्रद्धा भने म आफै गर्छु । 
मेरो मृत्यु 
मृत्यु स्वाभाविक प्रक्रिया हो । म मृत्युबाट डराउने मानिस होइन । जन्मेपछि मृत्यु निश्चित छ । मृत्यु सत्य नै हो । कतिपय अब यति वर्ष बाँच्नुपर्छ भन्छन् । ह्रास उठ्छ । मृत्यु चाहेर रोक्न कहाँ सकिन्छ र ?
म ६ वर्षको हुँदा बुबा बित्नुभयो । मिल्ने र सक्ने भए बुबाको मृत्यु रोक्थेँ होला । मृत्यु हाम्रो बसमा छैन । यसको बारेमा चिन्ता किन गर्ने ? दुःख पाएर, थलिएर, ओछ्यान नपरी मर्न पाए हुन्थ्यो भन्ने चाहना छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.