शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महाशिवरात्रिमा पशुपतिनाथको मन्दिरमा २० लाख तीर्थालु: फूलै फूलले ढकमक्क, अघिल्लो वर्षभन्दा दर्शन गर्न सजिलो

शुक्रबार, ०९ फागुन २०७६, १७ : १८
शुक्रबार, ०९ फागुन २०७६

काठमाडौं ।  महाशिवरात्रीका अवसरमा पशुपतिनाथको मन्दिरमा यो वर्ष २० लाख हाराहारी तीर्थालुले दर्शन गरिरहेका छन् । अघिल्लो बर्षभन्दा यसवर्ष मन्दिरमा दर्शन गर्न सजिलो भएको भक्तजनले बताएका छन् । 
बालाजुबाट पूजा गर्न आएकी जानकी अधिकारीले गत बर्ष भन्दा यस वर्ष लाइन बस्न र पूजा गर्न सजिलो भएको बताइन् । उनले मानिसहरु धेरै भएका कारण बढी समय लाइन बस्नु परेपनि जुत्ता चप्पल ब्यवस्थापन तथा दर्शन गर्ने व्यवस्था राम्रो भएको प्रतिक्रिया दिइन् । 

यस्तै रामेछापबाट आएका भीमबहादुर खड्काले पैसा हुनेले गत बर्ष टिकट काटेर मन्दिरको दर्शन गर्ने परम्परा यसवर्ष हटाएको राम्रो लागेको बताए ।  यसवर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराईको अध्यक्षतामा १ सय १० सदस्यीय मूल समारोह समिति बनाइएको थियो । जसअन्र्तगत ११ वटा उपसमिति बनाएर महाशिवरात्रि व्यवस्थापनमा खटिएको पशुपति क्षेत्र विकास कोषका सञ्चालक समितिका सदस्य ध्रुव उप्रेतीले जानकारी दिए । 

मेला व्यवस्थापनका लागि ७५ वटा संस्था र ५ हजार भन्दा बढी स्वंयसेवकले विहान ३ बजेदेखि काम गरिरहेका छन् । पशुपतिनाथको मन्दिर प्रवेशका लागि ४ लाइन बनाइएको र गत बर्षभन्दा यो वर्ष सजिलोसँग भक्तजनले दर्शन गर्न पाएको उप्रेतीले बताए । 

उनले भने–‘गत वर्ष भन्दा लाइन सहज छ, बिचबाट कोही छि¥यो भन्ने छैन । गत बर्ष जुत्ता चप्पलमा समस्या थियो । यसबर्ष जुन बाटो गएको हो त्यही बाटो यू टर्न लिएर फर्किने व्यवस्था गरेका कारण तीर्थयात्रीलाई सहज भएको छ । अघिल्लो वर्षजस्तो गाह्रो भएको छैन ।’

महाशिवरात्रीलाई व्यवस्थित गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर गरी ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । पशुपति क्षेत्रमा बिहान पर्यटनमन्त्री योगेश भट्टराई तथा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले अनुगमन गरेका थिए । यस्तै नेपाली सेनाको हेलिकप्टबारबाट पशुपति क्षेत्रमा पुष्पबृष्टि गरिएको थियो । 

भारतबाट विभिन्न अखडा तथा सम्रदाय अन्र्तगत रहेका करिब ५ हजार साधु सन्त जोगी पशुपतिनाथको मन्दिरमा रहेको उप्रेतीले बताए । नेपालबाहेक भारत, मलेसिया, इन्डोनेशियादेखि दर्शनार्थी आइपुगेको उनको भनाई छ । 
साधु, सन्त तथा बाबाहरुको व्यवस्थापन पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले गरिरहेको उनले बताए । सोमबार उनीहरुलाई बाटो खर्च दिएर बिदा गरिने उनले बताए । 

रातीको ४ प्रहरमा पूजा, ध्यान, योगको काम 
शिवरात्रिको मूख्य समय रातीको चार प्रहर रहेको छ । सो समयलाई जप–तप ध्यान, योग, साधानाको समय भएको उप्रेतीले बताए । आज बेलुका घाम अस्ताएदेखि बिहान घाम नउँदाएसम्मको चार प्रहरको रात्रिकालीन समय महाशिवरात्री भएको र सो समय गरेको धार्मिक कर्मले पूण्य प्राप्ति हुने विश्वास रहेको छ । 

१० लाखले प्रत्यक्ष रुपमा पशुपतिनाथको मन्दिरमा पूजा गर्ने र बाँकी १० लाख तीर्थयात्री पाशुपत क्षेत्रको धार्मिक मेलामा सहभागी हुने उनले बताए । शिवरात्री मेला ३ दिन लाग्ने भएका कारण सुरक्षा ब्यवस्था प्रभावकारी बनाइएको उनको भनाई छ । 

अघिल्लो वर्षभन्दा फरक साजसज्जा 

शिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा अघिल्लो वर्षभन्दा फरक प्रकारले साजसज्जा गरिएको छ । विभिन्न प्रकारका प्राकृतिक फूलको प्रयोगबाट शिवलिंग, महादेवको बाहान साँढे लगाएको आकृति बनाएको छ । प्राकृतिक फूलै फूल प्रयोग गरेर विभिन्न ठाँउमा स्वागतद्धार बनाइएको छ भने पशुपतिनाथको मन्दिरको मूल गेटमा प्राकृतिक फूलबाट गणेशको मूर्ति बनाइएको छ ।

 भारतका विभिन्न हिन्दू मन्दिरमा फूलबाट सजावटको काम गर्नेहरुले काम गरिरहेको सञ्चालक समितिका सदस्य उप्रेतीले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा भारतीय व्यवसायीको दानबाट सो काम भइरहेको हो ।  महाशिवरात्री पर्वमा पशुपतिनाथ क्षेत्रभित्र विभिन्न संघ संस्थाको तर्फबाट निःशूल्क खानेपानी, स्वास्थ्य सेवा तथा खानपानको व्यवस्था गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप