शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मनोमानी रुपमा चल्ला र दानाको मूल्य निर्धारण : अतिरिक्त मूल्य असुल्न कृषकलाई दर बिनाको बिल

कृषकहरु भन्छन्– गुणस्तरको कुनै मापदण्ड छैन
बिहीबार, ०८ फागुन २०७६, १० : २८
बिहीबार, ०८ फागुन २०७६

काठमाडौं । पोल्ट्री व्यवसायीहरुले आफूअनुकुल मनोमानी रुपमा मूल्य निर्धारण गर्न खाली बिल दिने गरेको प्रमाण भेटिएको छ । राजधानीमा कुखुरा व्यवसायीहरुको आन्दोलनकाबीच पोल्ट्री व्यवसायीहरुले कुखुरा पालक कृषकहरुलाई मूल्य निर्धारण नगरिएको बिल दिने गरेको प्रमाण भेटिएको हो ।

यस्तो बिलमा वस्तुको क्वान्टिटी (परिमाण) उल्लेख गर्ने तर, वस्तुको दर र मूल्य भने उल्लेख नगरेको पाइएको छ । यस्तो बिल नियोजित रुपमै उद्योगी व्यवसायीहरुले मनलाग्दी रुपमा कृषकहरुसँग अतिरिक्त मूल्य असुल्न खाली बिल थमाउने गरेको पीडित कृषकहरुको भनाइ छ ।

राष्ट्रिय कुखुरा पालक संघर्ष समितिका संयोजक विष्णु खड्का अनुसार किसानहरुले महँगोमा चल्ला र दाना पाए पनि गुणस्तरीय हुँदैन । चल्ला र दानामा तोकिएको मापदण्ड पुरा भएकै हुँदैन । ह्याचरीले पठाउने चल्ला ‘थर्ड क्लास’को हुने र दानाको क्वालिटी नै नहुने उनले बताए ।

संयोजक खड्काले भने, ‘त्यसमा पनि व्यवसायीहरुले आफु खुशी मूल्य निर्धारण गर्छन् । कृषकलाई खाली बिल पठाइन्छ ।’

संयोजक खड्काका अनुसार व्यवसायीहरुले सुरुमा खाली बिल पठाउने र पछि आफु खुशी मूल्य निर्धारण गर्छन् । आन्दोलित कृषकहरुले सार्वजनिक गरेको एक बिलमा वस्तु र परिमाण उल्लेख भए पनि दर र मूल्य निर्धारण नगरिएको पाइएको छ ।

भक्तपुरमा रहेको कार्की पोल्ट्री सप्लायर्सको नामद्वारा काटिएको बिलमा चल्लाको परिमाण उल्लेख गरिए पनि दर र मूल्य नतोकिएको भेटिएको हो । बिलको विवरणमा चल्ला र परिमाणमा ३३ सय २९ उल्लेख छ । तर बिलमा दर र मूल्य भने छैन ।

यस्तो छ बिल....

त्यस्तै अर्को एक बिलमा दर र मूल्य तोकिएको छ तर अर्को अतिरिक्त मूल्य जोडिएको छ । कृषक विष्णु खड्काको नाममा जिजे पोल्ट्री ब्रिडिङ एण्ड ह्याचरी प्रा.लिले काटेको बिलमा अधिकतम ७० रुपैयाँका दरमा चल्लाको मूल्य निर्धारण गरिएको छ भने भ्याक्सिन चार्ज भनेर थप ५ रुपैयाँ जोडिएको छ । गत माघ १० गते काटिएको उक्त बिलमा भ्याक्सिनसहित चल्लाको मूल्य ७५ रुपैयाँ पु-याइएको छ ।

यता, दाना तथा चल्ला उत्पादक संघ तथा वितरकहरु भने खाली बिलको विषयमा अनविज्ञता प्रकट गर्छन् । आफुहरुले स्पष्ट परिमाण र मूल्य उल्लेख गरेर पठाए पनि बीचमा सप्लायर्स वितरकहरुले त्यस्तो गरेको हुन सक्ने उनीहरुको भनाइ छ ।

राष्ट्रिय ह्याचरी संघका कोषाध्यक्ष बलराम सन्जेल आफुहरुले बिलमा स्पष्ट दर उल्लेख गरेर पठाए पनि सप्लायर्सहरुले यस्तो बदमासी गरेका हुनसक्ने बताउँछन् ।

‘उत्पादित चल्ला हामीले सिधै कृषकलाई दिने गरेका पनि छौँ र कुनै मिडियटर सप्लायर्सहरुमार्फत पनि चल्ला बजारमा वितरण गर्ने गर्छौँ । तर हामीले चल्ला दिँदा स्पष्ट रुपमा रेट तोकेर दिन्छौं ।’

सप्लायर्सहरुबाट बिचमा बदमासी भएको हुनुपर्ने उनको भनाइ छ । ‘यस्तो गर्नु आफैँमा बदमासी हो । यसमा हाम्रो आपत्ति छ,’ उनले भने, ‘तर सप्लायर्स तथा वितरकहरुले गरेको गल्तिमा हामी जिम्मेवार हुदैनौँ ।’

सन्जेलका अनुसार ह्याचरीले अधिकतम ६० देखि ६२ रुपैयाँमा चल्ला उपलब्ध गराए पनि सप्लायर्सहरुले अतिरिक्त १०–१५ रुपैयाँ नाफा राख्ने गरेका छन् । जसले गर्दा चल्लाको मूल्य बढ्न गएको हो ।

हाल बजारमा तीन सय बढी ह्याचरीहरुले चल्ला उत्पादन गर्दै आइरहेका छन् ।


दानामा उस्तै समस्या

कुखुरा व्यवसायमा चल्लाको तुलनामा दानामा अझ भयाभह स्थिति रहेको कृषकहरुको भनाइ छ । एक त महँगो, अर्कोतर्फ अझ गुणस्तरहिन हुनाले दानाकै कारण कुखुरा व्यवसाय धारासायी हुँदै गएको कृषकहरुको आरोप छ ।

अहिले बजारमा जाने अधिकांश दाना गुणस्तरहीन हुने गरेको कृषकहरुको भनाइ छ । दानाको बोरामा गुणस्तर प्रमाण, छाप वा चिन्ह नहुने उनीहरुले बताए । त्यसमा पनि उत्पादन मिति हुने तर म्याद गुज्रिने मिति उल्लेख नभएको कृषकहरुको भनाइ छ ।

यसले राम्रो भनिएको दाना खुवाउँदा समेत कुखुराको वृद्धि विकास नहुने र मर्ने गरेको उनी बताउँछन् ।

गुणस्तरियताका आधारमा दाना उत्पादन भएको मितिले ३५ देखि ४० दिनभित्र प्रयोग गरिसक्नु पर्ने मान्यता छ । तर अहिले दानाको उपयोग मिति कहिले सकिने भन्ने कुनै टुङ्गो छैन ।

दाना उत्पादक संघका अध्यक्ष रबिन पुरी दाना उत्पादन उद्योगबाट त्यस्तो नहुने तर डिलर सप्लायर्सहरुले त्यस्तो गर्ने गरेको हुन सक्ने बताउँछन् ।

‘हामीले त गुणस्तरीय दाना उत्पादन गरेर बजारमा पठाउने हो । त्यसमा मिडियटर सप्लायर्स वितरकहरुले के गर्छन्, हामीलाई जानकारी हुँदैन,’ उनले भने, ‘जहाँसम्म गुणस्तरको कुरा छ, त्यसमा हामीले गुणस्तरको छाप, चिन्ह र दाना उत्पादनमा प्रयोग भएका कच्चा पदार्थको विवरण उल्लेख गरेका हुन्छौँ । उत्पादन भएको मितिले ३० देखि ३५ दिनभित्र प्रयोग गरिसक्नु पर्ने भनेर उल्लेख गराएका हुन्छौँ ।’ दानाको बोरामा गुणस्तर, एक्सपायर डेट छैन भन्नु हौवामात्र रहेको उनको भनाइ छ ।

पुरीका अनुसार दानाका लागि मकै र भटमासजस्ता कच्चा पदार्थ बाहिरबाट ल्याउनु पर्ने र त्यसका लागि भन्सार शुल्क तिर्नुपर्ने भएका कारण पनि दाना महँगो हुन गएको हो ।

अहिले भारतबाट वार्षिक रुपमा झण्डै १२–१३ अर्बको मकै ल्याउनुपर्छ । जसमा सरकारले ५ प्रतिशत भन्सार शुल्क लगाउने गरेको छ । त्यस्तै भटमासमा पनि बाहिरबाट ल्याउने पर्ने र अधिकतम ८ प्रतिशत भन्सार शुल्कका कारण महँगो पर्न गएको उनको भनाइ छ । दुई वर्ष अघि यस्तो कच्चा पदार्थ आयातमा सरकारले १.६ प्रतिशत मात्र भन्सार शुल्कको व्यवस्था गरेको थियो । 

भारतमा समेत मकै, भटमासको अभाव हुँदा अन्य मुलुकबाट ल्याउनु पर्ने र लागत मूल्य बढी पर्ने भएका कारण नेपालमा दानाको मूल्य महँगो पर्न गएको पुरीको बताउँछन् । त्यसमा पनि उद्योगबाट बिचका वितरक तथा सप्लायर्सहरुले केहि प्रतिशत मार्जिन(फाइदा) राख्दा कृषकहरुमा महँगो पर्न गएको उनको भनाइ छ ।

हाल उद्योगबाट प्रतिबोरा ३ हजार रुपैयाँ बिक्री हुने दाना कृषकको घरमा पुग्दा ३५–३६ सय रुपैयाँ पर्ने गरेको छ ।

बजारमा दानाको मूल्य आकासिएको छ । गत वर्ष सम्म २६–२७ सय रुपैयाँ प्रतिबोरा (५० केजी) पाइने दानाको मूल्य अहिले ३५–३६ सय रुपैयाँ पुगेको छ । चल्लाको मूल्य पनि अधिकतम ७०–८० रुपैयाँ प्रतिगोटासम्म पुगेको छ । ‘तर बजारमा कुखुराको मूल्य भने, प्रतिकेजी १ सय ९० देखि २ सयको हारहारीमा मात्र छ । अनि कसरी टिक्ने ?’ कुखुरापालक कृषक कार्कीले भने, ‘चल्ला, दाना र मासुमा सिन्डिकेट लगाएर उद्योग व्यवसायीहरुले मनोमानी गरिरहेका छन् ।’

आफूहरुले बारम्बार विभागको ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको उनले बताए ।

विभागको प्रतिक्रिया

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी आफुहरुले चल्ला, दाना तथा मासुको मूल्यवृद्धिको विषयमा बजार अनुगमन गरिरहेको बताउँछन् । चल्ला, दाना, वा मासु व्यवसायीमध्ये को दोषी हो भन्ने अनुसन्धान भइरहेको उनले बताए । जो दोषी भए पनि कारबाही गर्ने उनको भनाइ छ ।

हामीले यस विषयमा अनुसन्धान गरिरहेका छौं । सम्बन्धित कृषि मन्त्रालय, विभागसँग मिलेर वाणिज्य, विभागले काम अघि बढाएको छ,’ महानिर्देशक सुवेदीले भने,‘अब छिट्टै सम्बन्धित पक्षसँग मूल्य वृद्धि गर्नुपर्नाको कारण सोधिने छ ।’

कृषकहरुले बजार अनुगमन र दोषीलाई कारबाहीमा ढिलासुस्ती हुनुमा विभागको कामप्रति नै आशंका जनाएका छन् । तर महानिर्देशक सुवेदी भने विभागको त्यस्तो नियत नभएको बताउँछन् ।

‘तपाईहरु बढि क्रान्तिकारी बन्नु भयो । आदर्श बनेर हामीमाथिनै दोषि लगाउँनु भयो,’ महानिर्देशक सुवेदीले भने, ‘हामीले त्यस्तो कोही कसैसँग साठगाँठ गरेका छैनौँ । म त्यस्तो व्यक्ति पनि होइन । बरु जसले बजार अनुगमनमा हामीलाई साथ दिन्छ, तिनीहरुसँग हाम्रो साठगाँठ हुन्छ ।’

बजारमा मासुको मूल्य वृद्धि भए पनि दाना र चल्लाको मूल्य बढेपछि किसानहरुले मंगलबार राजधानीमा आन्दोलन गरेका छन् । आफुहरुले पटकपटक विभागको ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको र बजार अनुगमन नभएको भन्दै विभागको ध्यानाकर्षण गर्दै १० बुँदे मागपत्र समेत पेस गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप