शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको सिडनीस्थित वट्टामोला समुन्द्री तटमा मृत भेटिएका नेपाली युवकको पहिचान खुल्यो

बुधबार, ०७ फागुन २०७६, २२ : ३८
बुधबार, ०७ फागुन २०७६

अष्ट्रेलिया । गत सोमबार दिउँसो करिब १२ः१५  बजे  मृत भेटिएका युवकको शव चितवन खुरखुरेका अमित सुनारको रहेको खुलेको छ ।  अमितकी श्रीमती अनु जोशी र उनका साथी सुविन श्रेष्ठले शवको पहिचान  गरेका हुन् । बुधबार  दिउँसो अष्टेलियन प्रहरीले श्रीमती जोशी र नजिकका आफन्तलाई बोलाएर शव पहिचान  गरेको  सुनारका नजिकका साथी सुविनले रातोपाटीलाई जानकारी दिए ।

 अमितको शव अष्टेलियन प्रहरीले सिडनीस्थित रोयेल गार्डेन् वट्टामोलास्थित समुन्द्री किनारबाट डुबिरहेको अवस्थामा निकालेको थियो ।  चितवन खुरखुरे घर भएका अमित  गत १३ वर्षदेखि सिडनीस्थित बेलमोरमा बस्दै आएका उनका आफन्तले बताएका छन् । 

अमित सिडनीमा व्यवसायिक फोटोग्राफरको पहिचान बनाएका सक्रिय फुटबल खेलाडी समेत हुन् । उनले सिडनीस्थित सेन्टजर्ज तथा  ग्रानभिल राइनो फुटबल क्लबमा आबद्ध भई फुटबल खेल्दै आएको  एनआरएनएका प्रवक्त्ता नन्द गुरुङ्गले रातोपाटीलाइ जानकारी दिए ।  
उनका एउटै गाउँका आफन्त पदम सुनारले अमितलाई सम्झँदै भने, ‘उहाँ निकै  मिलनसार सहयोगी हुनुहुन्थ्यो ।’ सन् २००७ मा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका अमितकी  श्रीमती अनु जोशी केहि  महिनादेखी तासमानियामा बस्दै आएकी थिइन् । मृतक अमितले पनि  फेब्रुरी २५  मा तासमानिया जाने योजना अनुसार टिकट समेत काटिसकेका थिए । उनका नजिकका आफन्तहरुका अनुसार सुनार आईतबार साँझसम्म श्रीमती जोशी तथा उनका साथीहरुसँग सम्पर्कमा थिए ।

उनले पछिल्लो सम्पर्कमा काम गरिरहेका साहुलाई भेटन जान लागेको समेत बताएको सुबिन श्रेष्ठले बताए। श्रेष्ठले भने, ‘हामीहरुले  शनिबार राति ३ बजेसम्म बसेर गफगाफ अनि खानापिन गरेका थियौं, एस्तो होला भन्ने के थाहा ?’ आइतबार साँझ ४ बजेतिर श्रीमती अनु र साथीहरुसँग  टेलिफोन सम्पर्क गरेका अमितले त्यसपछि कसैलाई सम्पर्क गरेका थिएनन् । त्यसपछि उनको फोनमा सम्पर्क समेत हुन सकेको थिएन । श्रीमानसँग कुरा हुन नसकेपछि श्रीमती अनुले प्रहरीलाइ खोजिदिन अपिल गरेकी थिइन् । घटनास्थल नजिकबाट एक परिवारले मृतकले लगाएको ज्याकेट पानीमा तैरिएको देखेर प्रहरीलाइ खबर गरेको भन्ने आफुले सुनेको उनका साथी सुविनले बताए ।  प्रहरीले मृतक सुनारको शवसँगै गाडीको चावी र ड्राइभिङ्ग लाइसेन्स भेट्टाएको थियो ।

सुनारको मृत्यु भएको थाहा पाउनासाथ उनकी श्रीमती  सिडनी आइपुगेकी छिन् । उनको मृत्यु के कारणले भयो भन्ने बारेमा अष्टेलियन प्रहरीले आवश्यक छानबिन गरिरहेको बताइएको छ । एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले सुनारको शव नेपाल पठाउन र उनकी श्रीमतीलाई सहयोग गर्न एनआरएन कल्याणकारी कोषबाट आवश्यक रकमसहित समवयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी  एनआरएन अष्टेलियाका प्रवक्ता नन्द गुरुङले कल्याणकारी कोषबाट आवश्यक सहयोग गर्ने जनाउँदै सेन्ट जर्ज फुटबल कलब र ग्रान्भिल राइनो फ़ोट्बल कलबबाट पनि  सहयोग रकम संकलन गरी श्रीमतीलाई सहयोग गर्न लागेको जानकारी दिए ।  त्यसैगरी हाम्रो समाज अष्टेलिया तथा अन्य संघसंस्थाहरुले समेत आवश्यक सहयोग रकम संकलन गरी मृतकको घरपरिवारलाई उपलब्ध गराउन पहल गरिरहेका जनाइएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता रसाइली विश्वकर्मा
सीता रसाइली विश्वकर्मा
लेखकबाट थप