बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकको इच्छाविना भएको आन्दोलन दिगो हुँदैन: प्रदिप गिरी

बुधबार, ०७ फागुन २०७६, १८ : २५
बुधबार, ०७ फागुन २०७६

बुटवल । नेपाली काँग्रेसका नेता तथा राजनीतिक विश्लेषक प्रदिप गिरीले नागरिकको इच्छा विपरित गरिएका आन्दोलनले सार्थकता नपाउने बताएका छन् । बीपी कोइराला अध्ययन प्रतिष्ठान रुपन्देहीले ७० औं प्रजातन्त्र दिवसको अवसर पारेर आज बुटवलमा आयोजना गरेको ‘२००७ सालको जनक्रान्ति, वीपी कोइराला र वर्तमान अवस्थामा राजनीतिक दलहरुको भूमिका’ विषयक विचार मन्थन कार्यक्रममा बोल्दै उनले हिंसात्मक आन्दोलनबाट आएको परिवर्तन दिगो हुन नसक्ने पनि बताए । उनले गरिबी र असमान विकासको समस्या समाधान हुन सक्दैन भने आन्दोलनको बलबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको औंल्याए ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले २००७ सालको जनक्रान्ति अगाडि नै वीपीले देखेको सपना पुरा गर्नका लागि सशस्त्र द्वन्द्वरत माओवादीलाई शान्ति सम्झौता गराएर संविधानसभाका माध्यमबाट संविधान निर्माण गरेको दाबी गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेका नेता खाँणले अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा वीपीको सान्दर्भिकता अझै बढेर गएको बताउँदै २००७ सालको क्रान्तिले नेपाली जनतालाई रैतीबाट नागरिकको रुपमा स्थापित गरेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य सुरेन्द्रकुमार (राम) कार्कीले समाजवाद जीवन पद्धति भएको बताउँदै त्यसलाई सिद्धान्तको रुपमा लिन नहुने उल्लेख गरे । उनले मुलुक र  नागरिकलाई कस्तो बनाउने भन्ने कुरा अवलम्बन गरिने काम समाजवादले निर्धारण गर्ने भएकाले सोही अनुसारको समाजवादको स्थापना हुनुपर्नेमा जोड दिए । नेता कार्कीले सार्वजनिक समारोहमा मात्रै समाजवादको परिभाषा गर्नेभन्दा पनि आफ्नो परिवारबाटै सुरु गर्नुपर्नेमा जोड दिए ।

राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बीपी व्यक्तिमात्रै नभएर विचारका रुपमा स्थापित भएको बताउँदै बीपीले देखेको सपनाको भार अब नेपाली काँग्रेसले बोक्न सक्छ कि सक्दैन भनेर नेपाली जनताले सोधिरहेको बताए ।

विद्यार्थी कालदेखि नै बीपीमा राणा शासनप्रति विद्रोहको मनस्थिति रहेको बताउँदै नेता यादवले २००७ सालको जनक्रान्तिकै कारण विचार राख्न पाउने लगायतका मौलिक अधिकार प्राप्त भएको दावी गरे । लामो संघर्षबाट प्राप्त भएको उपलब्धि लोकतन्त्र खतरामा परेको बताउँदै उनले सत्ताधारी दल आफैमा समस्यामा रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप