शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा फेरि कंसाकारको 'इन्ट्री' !

कंसाकारविरुद्धको उजुरी अख्तियारमा अनुसन्धानकै क्रममा
बुधबार, ०७ फागुन २०७६, १६ : ४२
बुधबार, ०७ फागुन २०७६

काठमाडौँ । वाइडबडी प्रकरणमा संसदको सार्वजनिक लेखा समितिबाट कारबाही सिफारिस भएका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले फेरि पनि नेपाल वायुसेवा निगमको महाप्रबन्धक (जीएम) बन्न लबिङ सुरु गरेका छन् ।

कार्यकारी अध्यक्षबाट मदन खरेलले राजीनामा दिएपछि पूर्वमहाप्रबन्धक कंसाकारले फेरि पनि नेपाल वायुसेवा निगमको बागडोर सम्हाल्नका लागि शक्तिकेन्द्र धाउन थालेको स्रोतले बताएको छ । 

एयरबस कम्पनीको दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको र त्यसको मुख्य दोषी नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक कंसाकार रहेको भन्दै उनलाई कारबाही गर्न सार्वजनिक लेखा समितिले सरकार र अख्तियारलाई निर्देशनसमेत दिएको थियो । 

सार्वजनिक लेखा समितिले २०७५ पुस ३० गते छानबिनको प्रतिवेदन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउँदै वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको र त्यसको मुख्य दोषी महाप्रबन्धक सुगतरत्न कंसाकार रहेको भन्दै कारबाही गर्न निर्देशनसमेत दिएको थियो । 

सार्वजनिक लेखा समितिले दिएको प्रतिवेदनको बुँदा नम्बर ३ मा यस्तो भनिएको थियो :
‘वायुसेवा निगमको सञ्चालक समितिका सदस्यसचिव तथा निगमका महाप्रबन्धक भई वाइडबडी विमान खरिद गर्न निगमको नियमावलीको दफा २३६ (२) अनुसार बदनियतपूर्वक पुरानो विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाई यो प्रकरणमा प्रमुख भूमिका खेल्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बदनियत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएकाले निजलाई कानुन बमोजिम तत्काल निलम्बन गरी हदैसम्मको दण्ड सजाय गर्न, कानुनी कारबाही अगाडि बढाउन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने ।’

यही प्रकरणले गर्दा उनीमाथि अख्तियारले समेत छानबिन गरिरहेको छ । यतिबेला कंसाकारविरुद्धको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छ । करिब ४ अर्ब भ्रष्टाचार भएको भनिएको वाइडबडी खरिद प्रक्रियामा मुख्य दोषी भन्दै कंसाकारमाथि छानबिन भइरहेको छ । 

तर वाइडबडी घोटालाका मुख्य दोषी मानिएका तिनै कंसाकारले यतिबेला फेरि नेपाल वायुसेवा निगमको महाप्रबन्धक बन्न दौडधूप सुरु गरेका हुन् ।

मदन खरेलले कार्यकारी अध्यक्षबाट राजीनामा दिएपछि यतिबेला निगममा कार्यकारी प्रमुख पद खाली नै छ । त्यसकारण कंसाकार फेरि पनि नेपाल वायुसेवा निगममा महाप्रबन्धक बन्न दौडधूपमा लागेका हुन् । 
आफूलाई महाप्रबन्धक बनाउनका लागि कंसाकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पटकपटक भेट गरेको निगम स्रोतले रातोपाटीलाई बतायो ।

कंसाकारले निगमको योजनाबारे पर्यटनमन्त्री योगेश भट्टराईलाई भेटी आफ्नो प्रिजेन्टेसन समेत दिइसकेका छन् । यद्यपि पर्यटनमन्त्री भट्टराई सकारात्मक भएपनि यस विषयमा उनले कंसाकारलाई कुनै आश्वासन भने दिइनसकेको स्रोतले बताएको छ । कंसाकार विवादित भएपछि वायुसेको क्षेत्रमा चाहिने नै मान्छे भएकाले उनको प्रिजेन्टेसनपछि भट्टराई आन्तरिक परामर्शमा जुटेको बताइन्छ । 

अख्तियारको उजुरी तामेलीमा राखी महाप्रबन्धक बनाउने खेल
स्रोतका अनुसार यथाअवस्थामा कंसाकारलाई महाप्रबन्धक बनाउँदा बाहिर प्रतिपक्षी दल र जनस्तरबाट पनि विरोध हुने र वाइडबडीमा घोटाला गर्नेलाई नै जीएम दिँदा भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लाग्ने भएकाले सरकारले पहिले अख्तियारको उजुरी तामेलीमा रहोस् भन्ने चाहेको छ । 

यदि अख्तियारले यस सम्बन्धमा कुनै मुद्दा दायर नगरेको अवस्थामा कंसाकारलाई जीएम नियुक्त गर्न बाटो खुल्नेछ ।

कंसाकारको नियुक्तिको विषय प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि ब्रिफिङ भइरहेको स्रोतको दावी छ । मन्त्रालय निकट स्रोत कंसाकारको प्रिजेन्टेसनमा मन्त्री आश्वस्त भएकाले र अहिले कार्यकारी अध्यक्ष समेत रिक्त भएका अवस्थामा उनलाई जीएम नियुक्त गर्ने सम्भावना देखिन्छ । त्यसभन्दा अघि उनीविरुद्धको उजुरी तामेलीमा हुनुपर्नेछ । 

कंसाकार भन्छन्, ‘जिम्मेवारी दिए लिन तयार छु’
नेपाल वायुसेवा निगममा फेरि पनि जीएम बन्न लागेको बारे रातोपाटीको प्रश्नमा कंसाकारले स्पष्ट जवाफ दिएनन् । उनले भने ‘यी सब हल्ला मात्रै हुन् । मन्त्रीसँग भेट नभएको पनि महिनौँ भइसक्यो । त्यसकारण दौडधूपको कुरा केवल हल्ला मात्रै हुन् ।’

मन्त्रीलाई प्रिजेन्टेसन गरेको कुरा के हो त भन्ने अर्को प्रश्नमा उनले मन्त्रीलाई  नभई पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा बनेको सुझाव कार्यदललाई आफ्नो लिखित प्रिजेन्टेसन गरेको बताए ।

तर बाहिर त तपाईंलाई नै जीएम बनाउन लागिएको भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले आफूले कसैसँग जीएम पद नमागेको र सरकारले जिम्मेवारी दिए जिम्मेवारी लिन तयार रहेको कुरा बताए ।   

कंशाकारको नियुक्ति श्रृङ्खला
२०७२ जेठमा कंसाकार तेस्रो पटक निगमको नेतृत्वमा पुगेका थिए । 

त्यसो त उनी २०६५ असोजमा पहिलो पटक माओवादी सरकारबाट राजनीतिक नियुक्ति लिई निगममा महाप्रबन्धकको रुपमा प्रवेश गरेका हुन् । 

त्यतिबेला महाप्रबन्धक हुँदै कार्यकारी अध्यक्ष हुँदा उनले बोर्डलाई बाइपास गर्दै एयरबस खरिद गर्ने निर्णय गरेपछि विवादमा तानिएका थिए। त्यसबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनले एयरबस जहाज खरिद गर्न फ्रान्स पठाएको बैना रकम ७ करोड ५० लाख रुपैयाँको प्रक्रिया नमिलेको जनाउँदै विशेष अदालतमा भ्रष्टचारको अभियोगमा मुद्दा दायर गरेको थियो ।

पछि जहाज खरिदमा पठाइएको बैना रकम एरबसले फिर्ता पठाएको थियो । लगत्तै २०६६ वैशाख २१ गते उनले ६ करोड रुपैयाँ धरौटी राखी विशेष अदालतबाट आफूसहित निगमका ६ जना अधिकारीहरूलाई सफाइ दिलाएका थिए ।  त्यसपछि कंसाकार दोस्रो पटक फेरि कार्यकारी अध्यक्ष भई निगम प्रवेश गरे। तर काम गर्न नसकेपछि उनी २०६८ असारमा ‘बर्खास्ती’ मा परेका थिए । अनेक आरोह अवराेहका बीच २०७२ जेठमा तेस्राे नियुक्ति पाएर केही  पहिलेमात्रै अवकास पाएका उनी  अहिले फेरि निगम नेतृत्वबिहीनताको अवस्थामा पुगेको बेला नियुक्तिको लबिङमा लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप