केन्द्रीय संस्करण

काठमाडौं महानगरपालिकाका ४९ हजार ६८४ जनाले पाउँछन् सामाजिक सुरक्षा भत्ता

person explore access_timeफागुन ७, २०७६ chat_bubble_outline0

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षमा ४९ हजार ६८४ जना व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । नगद बितरणमा आधारित यो सामाजिक सुरक्षा कार्यक्रमभित्र सरकारले जेष्ठ नागरिक, एकल महिला, बिधवा, पूर्ण अपाङ्गता भएका व्यक्ति, अति अशक्त अपाङ्ग, दलित, जनजाति, तोकिएका बालबालिकालाई समेट्दै आएको छ । 

यसप्रकारको भत्ता पाउने व्यक्तिमध्ये सबैभन्दा धेरै वडा १६ मा २ हजार ८२७ जना छन् भने दोश्रोमा वडा १४ मा २ हजार ७६१ जना छन् । त्यस्तै तेश्रो धेरै संख्या भएको वडा १५ हो । यस वडामा २ हजार ५२७ जना छन् । सबैभन्दा कम भएको वडा १ हो । यसमा ८१४ जना छन् । दोश्रो कम संख्या भएको वडा वडा २ हो । यस वडामा ८७७ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँछन् । 

काठमाडौं महानगरका ३२ वटा वडामा सामाजिक सुरक्षा भत्ता बुझ्ने ७० बर्ष पूरा गरेको जेष्ठ नागरिकको संख्या १७ हजार ४२७ छ । यीमध्ये सबैभन्दा धेरै वडा नं. १४ का १ हजार ८० जना, दोश्रोमा वडा १६ का १ हजार ६२ जना र तेश्रोमा वडा ३ का ९०७ जनाले नागरिकले भत्ता पाउँछन् । यी नागरिकमध्ये वडा १४ का १ हजार ८८, वडा १५ का १०२४ वडा ३१ का ८७३ जनाले उपचार भत्ता पनि लिएका छन् । एकल र बिधवा ७० बर्ष पुगेपछि मासिक भत्तासँगै मासिक उपचार खर्चवापत् १ हजार रुपैयाँ थप हुने भएकोले जेष्ठ नागरिकको संख्या र उपचार रकम लिने व्यक्तिको संख्या फरक भएको हो ।  

दलिततर्फ महानगरभरीमा १५० जनाले भत्ता बुझ्दै आएका छन् । यसमा वडा ३१ मा ५४ जना, वडा ३२ मा १९ जना छन् । दलिततर्फ तेश्रो धेरै संख्या भएका वडाहरु ३ र १९ हुन् । यी वडामा क्रमशः १०÷१० जनाले भत्ता पाएका छन् । वडा १, ४, ८, ९, १३, १८, २०, २१, २२, २३, २४, २५ र २७ मा यस शीर्षकमा भत्ता पाउने कोही पनि छैनन् । यो बर्ष महानगरका १० हजार ५९८ जना बिधवाले सामाजिक सुरक्षा भत्ता रकम पाएका छन् । यो संख्यामध्ये सबैभन्दा धेरै वडा ७ का ६५० जना, त्यसपछि १५ का ६१५ जना र तेश्रोमा वडा ६ का ५५८ जना छन् । वडा १ र ४ मा बिधवा भत्ता पाउनेको संख्या शुन्य छ । सामाजिक सुरक्षा भत्ताको अर्को शीर्षक एकल भत्ता पाउनेको संख्या १ हजार ८६ रहेको छ । यीमध्ये वडा ४ मा धेरै छ । त्यसपछि वडा १ र वडा २५ मा छन् । ती वडामा भएका एकलको संख्या क्रमशः ४७०, १७४ र ४१ हो । वडा ९, १८, २०, २३, २९ र ३२ मा एकलको संख्या छैन । 

महानगरभरिमा पूर्ण अपाङ्गको संख्या ५१३ जना छ । जसमध्ये वडा ३ मा सबैभन्दा बढी ३० जना, वडा ३१ मा २८ जना छन् । त्यस्तै वडा ५ र ३२ मा समान २७÷२७ जना पूर्ण अपाङ्गता भएका व्यक्ति छन् । ३८१ आंशिक अपाङ्ग (अति अशक्त) व्यक्तिमध्ये वडा सबैभन्दा धेरै वडा १६ मा २८ जना, वडा २६ मा २७ जना र वडा १५ मा २४ जना छन् । बालपोषणअन्तर्गत मासिक भत्ता पाउने बालबालिकाको संख्या ८ रहेको छ । यीमध्ये वडा ११ र १२ मा समान ३÷३ जना र वडा २८ मा २ जना छन् । यो भत्ता अभिभावकमध्ये कोही पनि रोजगारमा नरहेका दलित परिबारका बालबालिकालाई दिइने भत्ता हो । 


दलित, एकल महिला र बिधवाले मासिक २ हजार रुपैयाँ भत्ता प्राप्त गर्छन् । यो रकममा जेष्ठ नागरिकलाई उपचार खर्चपवापत् मासिक १ हजार रुपैयाँ थप दिइन्छ । भत्ता पाउन साबिक कर्णाली र दलित बर्ग व्यक्ति भए ६० बर्ष पूरा हुनुपर्छ भने अन्य क्षेत्र र समुदायका व्यक्तिले ७० बर्ष उमेर पूरा गर्नुपर्छ । उनीहरुले भत्तावापत् २ हजार रुपैयाँ र उपचार खर्च वापत् १ हजार रुपैयाँ प्रतिमहिना प्राप्त गर्छन् । दलित जेष्ठ नागरिक र एकल महिलाले ६० बर्ष उमेर पूरा भएपछि भत्ता पाउँछन् । 

पूर्ण अपाङ्ग भत्ता मासिक ३००० रुपैयाँ दिइन्छ  भने आंशिक अपाङ्ता भत्ता मासिक १६०० रुपैयाँ दिइन्छ । १४ जिल्लाका रोजगारबिहीन दलित परिवारका बालबालिकालाई दिइने भत्ता रकम मासिक ४०० रुपैयाँ रहेकाे महानगरपालिकाले जनाएकाे छ । सरकारबाट प्राप्त हुने यो रकमसँगै काठमाडौ महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने ७५ बर्ष माथिका महिला र ८० बर्ष माथिका पुरुषलाई बार्षिक १२ हजार रुपैयाँ महानगर विशेष भत्ता रकम दिने गरिएको छ । 

यसरी प्रदान गरिने भत्ता रकमवापत् महानगरले चालु आर्थिक बर्षको प्रथम चौमासिकमा ३२ करोड १३ लाख ३८ हजार ९०० सय रुपैयाँ वितरण गरेको लेखा अधिकृत अनिता श्रेष्ठले जानकारी दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...