बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कृष्णबहादुर महराबारे नेकपा मौन !

बुधबार, ०७ फागुन २०७६, १३ : ०४
बुधबार, ०७ फागुन २०७६

काठमाडौँ । बलात्कारको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सोमबार काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाएपछि त्यसलाई लिएर विभिन्नखाले प्रतिक्रिया आउने क्रम जारी छ । तर महराले पाएको सफाइपछि पनि उनकै पार्टी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने मौन छ ।

महराले सफाइ पाएको पत्र प्रतिनिधि सभाको बैठकमा दर्ता भइसकेको छ । अर्थात् महरालाई अब सांसदका रूपमा संसद् प्रवेशको बाटो खुलेको छ । महराको पुनः संसद् प्रवेशसँगै उनको राजनीतिक यात्रा कसरी अघि बढ्ला या राजनीतिक भविष्य कस्तो रहला भन्ने चर्चा नेकपा वृत्तमा चल्न थालेको छ ।

सोमबार अदालतबाट सफाइ पाएसँगै महराले विज्ञप्ति जारी गरेर सोही दिन ‘तथाकथित आरोप’ खेप्नुपरेको प्रतिक्रिया दिएका थिए ।

‘मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा सधैँ थियो, अहिले पनि छ र सदैव रहिरहने छ’, रिहालगत्तै महराकोे विज्ञप्तिमा भनिएको छ ।

महरामाथि बलात्कार अभियोग लागेपछि गत असोज दोस्रो सता बसेको नेकपा सचिवालय बैठकले उनलाई सभामुख र सांसद पद दुवैबाट राजीनामा गर्न सुझाएको थियो । तर महराले सभामुखबाट राजीनामा गरे पनि सांसद पदबाट राजीनामा दिएका थिएनन् । यसअघि माओवादीमा रहँदा पुष्पकमल दाहाल प्रचण्डपछिको शक्तिशाली नेता मानिन्थे महरा ।

‘छानबिन समिति जरूरी रहेन’

गत माघमा बसेको नेकपाको केन्द्रीय समिति बैठकमा महराबारे पार्टीमा आन्तरिक छानबिन गर्नुपर्ने माग उठेको थियो । नेकपाका स्थायी समिति सदस्य देव गुरुङ पार्टीको गत केन्द्रीय समिति बैठकमा महराबारे पार्टीमा आन्तरिक छानबिन समिति गठन गर्नुपर्ने अवाज उठे पनि फैसला आइसकेकाले अब छानबिन समिति गठन जरुरी नरहेको बताउँछन् । ‘पार्टीमा छानबिन समिति गठन गर्नुपर्ने आवश्यकता अब रहेन । अब रह्यो पार्टीमा उहाँले के भूमिका पाउने भन्ने । त्यसमा पार्टी बैठकमा छलफल होला र निर्णय आउला’, गुरुङले रातोपाटीसँग भने, ‘त्यो विषय व्यक्तिले निर्णय गर्ने कुरा पनि रहेन । त्यसैले उहाँको उचित व्यवस्थापन होला भन्ने मेरो व्यक्तिगत धारणा हो ।’

नेकपाका अर्का नेता राम कार्की विवाहेतर सम्बन्धहरूलाई लिएर त्यो के हो, कसो हो, भन्ने धारणा बाहिर ल्याउनुपर्ने बताउँछन् । ‘प्रेमलाई स्वाभाविक रूपमा अपराध मानिन्न । तर एकै समयमा धेरै जनासँग प्रेम गर्न हाम्रो आचारसंहिताले स्वीकृति दिँदैन । यसबारेमा पार्टीले जीवन्ततापूर्वक छलफल गर्नुपर्छ’, कार्कीको भनाइ छ ।

महरालाई कतिपयले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत जोडेर पनि हेर्ने गरेका छन् । यसअघि अमेरिकी सहायता एमसीसीको ५० अर्ब रुपैयाँ बराबरको अनुदान संसद्बाट अनुमोदन गराउन सभामुख महराको भूमिका बाधक बनेको जस्ता टिप्पणी पनि हुने गरेका थिए ।

एमसीसीबारे अझै पनि सत्तारूढ नेकपाभित्र मतभेदहरू कायमै छन् ।

जिम्मेवारीका लागि प्रस्ताव लान्छौँ : पौडेल

नेकपाका नेता तथा अर्का स्थायी समिति सदस्य देवेन्द्र पौडेल न्यायपालिकाले महरालाई निर्देश ठहर गरिसकेकाले उहाँलाई पार्टीमा पुनः जिम्मेवारीमा फर्काउनुपर्ने बताउँछन् । ‘अदालतको फैसला आइसकेको छ । त्यसअघि उहाँले सभामुखबाट राजीनामा दिएर सहज वातावरण बनाउनुभएको थियो । अहिले उहाँ निर्दोष ठहररिनु भएको छ । यो राम्रो कुरा हो । अब उहाँलाई पार्टीको जिम्मेवारी दिने विषयमा छलफल गर्नुपर्छ’, पौडेलले रातोपाटीसँग भने, ‘उहाँ सरहका नेताले पाएको जिम्मेवारी जस्तै उहाँलाई पनि दिनुपर्छ । पार्टी कमिटी बैठकमा हामी त्यो प्रस्ताव लैजान्छौँ ।’

महरासँगैका नेताहरु रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ हाल नेकपाको सचिवालय सदस्य छन् । त्यस्तै उनी पार्टी एकताअघि माओवादीको महासचिव समेत भइसकेका हुन् ।

‘अहिले पार्टी काममा नेताहरु जिल्ला दौडाहामा हुनुहुन्छ । उहाँहरु फर्केपछि बैठक बस्छ र त्यहाँ छलफल हुँदा उहाँले साङ्गठनिक जिम्मेवारी नपाउने भन्ने कुरै हुँदैन’, पौडेलको भनाइ छ ।

दुई अध्यक्षले पार्टीमा सल्लाह गर्नुहुन्छ : नेम्वाङ

नेकपाकै अर्का नेता तथा पूर्वसभामुख समेत रहेका सुवासचन्द्र नेम्वाङले महराले सफाइ पाइसकेकाले उहाँको जिम्मेवारीबारे पार्टीमा छलफल भएपछि मात्रै भन्न सक्ने बताए । ‘यस विषयमा पार्टीका दुई अध्यक्षले सोच्ने कुरा हो । उहाँहरुले छलफल र निर्णय गर्ने कुरा हो । निर्णय हुन बाँकी रहेको विषयमा मैले धेरै बोल्न उचित हुन्न’, नेम्वाङले महराले पार्टीमा कस्तो भूमिका पाउनुहुन्छ भन्ने प्रश्नको जवाफमा भने ।

प्रचण्ड र माधवको बधाई

त्यसो त नेकपाका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले महराले सफाइ पाएकै दिन टेलिफोनमार्फत बधाई दिन छुटाएनन् । अदालतको फैसलापछि महरा जेलमुक्त भएसँगै प्रचण्ड र अर्का नेता माधवकुमार नेपालले एउटै फोनबाट बधाई दिएकाले पनि महराले पार्टीमा उचित जिम्मेवारी पाउने लख काट्न थालिएको छ । तर कतिपयले अब महराको राजनीतिक भविष्य र राजनीतिक भूमिकाका विषयमा पार्टी नेतृत्व निर्णयक हुने तथा सरकारी पक्ष उनीविरुद्ध मुद्दा बोकेर पुनरावेदन गएमा त्यहाँबाट आउने फैसला र महरा स्वयंको नैतिक निर्णयमा भर पर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप