मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली अन्त्य गरियो, अब आर्थिक समृद्धिको यात्रा : प्रधानमन्त्री ओली (भिडियो)

बुधबार, ०७ फागुन २०७६, १० : ३३
बुधबार, ०७ फागुन २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिसामा सरकार लागि रहेको बताएका छन् ।

बुधबार ७० औँ प्रजातन्त्र दिवसका अवसरमा टँुडिखेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरन्नोती गर्ने र सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा रहेको बताए ।

उनले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली अन्त्य गरिएको बताउँदै अब समृद्ध नेपाल निर्माणमा योगदान गर्न आम जनतामा अपिल समेत गरेका छन् ।

जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरुप्रति म पुनः एकपटक हार्दिक श्रद्धासुमन अर्पण गर्दछु’प्रधानमन्त्री ओलीको भनाई छ ।

 उनले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकांक्षा सफल बनाउन एकजुट भई योगदान गर्न पनि सवैमा आव्हान गरेका छन् ।

एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

बुधबार प्रजातन्त्र स्थापना भएको सम्झनामा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम भएको छ । कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरेका छन् । कार्यक्रममा प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिलगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागी भएका थिए ।

७० औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन 


सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
सम्माननीय सभामुखज्यू,
सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू,
माननीय मन्त्रीगण, प्रतिनिधिसभा र राष्ट्रिय सभाका माननीय सदस्यहरु
विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरु,
राष्ट्रसेवक कर्मचारीहरु,
विशिष्ट अतिथिहरु र सम्पूर्ण आदरणीय दिदीवहिनी तथा दाजुभाइहरु । 

– आज नेपाली जनताको एकतावद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिन । २००७ साल फागुन ७ गते आजकै दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रुपमा स्थापित गरेका थियौं । जनताको बलिदानपूर्ण संघर्षबाट इतिहासमा अङ्कित यस गौरवमय दिनको सम्झना र सम्मानमा हामी आज यहाँ उपस्थित भएका छौं । हरेक वर्ष फागुन ७ गतेलाई हामीले प्रजातन्त्र दिवसका रुपमा मनाउँदै आएका छौं । आज हामी ७० औं प्रजातन्त्र दिवस मनाइरहेका छौं । प्रजातन्त्र प्राप्तिको लामो र वलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । 
–समाज, राजनीति र शासनप्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौं । आज हामी मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अब्यवस्थाबाट सुब्यवस्थातिर अगाडि बढाइरहेका छौं । राष्ट्रको आजको यस अभियानलाई अनुप्राणित गर्ने लक्ष्यको बिजारोपण आजभन्दा ७० वर्षअघि आजकै दिन, अर्थात् फागुन ७ गते भएको थियो । त्यसैले औपचारिकता निर्वाहबाट माथि उठेर यस दिनको गरिमालाई आत्मसात गर्न म दिदीबहिनी दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु । यसले इतिहासप्रतिको गौरव, वर्तमानप्रतिको क्रियाशील जिम्मेवारी र भविष्यप्र्रतिको उत्तरदायित्वलाई सामाजिक भाष्यको रुपमा विकास गर्नेछ । 
आजको दिन, प्रजातान्त्रिक हक–अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत् संघर्षमा आफूलाई समाहित गर्ने बीर÷बीरङ्गनाहरुको स्मरण गर्ने दिन हो । आजको दिन, नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने दिन पनि हो । आजको दिन, प्रजातन्त्र लोकतन्त्र स्थापनाको हाम्रो संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्ष मार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि संकल्प गर्ने दिन पनि हो । 
–संविधान जारी भएपछि आयोजित आम निर्वाचनद्वारा बनेको यस सरकारले भर्खरै आफ्नो कार्यकालको दुईवर्ष पूरा गरेको छ । गत बर्षलाई मैले सरकार सञ्चालनको आधार बर्षको रुपमा चर्चा गरेको थिएँ । त्यस अवधीमा संविधान बमोजिमका संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्त व्यवस्थापन, कानुन तथा जनशक्ति समायोजन गरेर हामी अगाडि बढेका थियौं । अहिले हामी त्यही आधारभूमिमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर छौं । यस अवधीमा सुशासन र विकासका काममा नतिजा हासिल हुन थालेका छन् । केही सम्पन्न गरेका छौं, केही निर्माणाधीन छन् र केही अगाडि बढ्दैछन् । राष्ट्रको सम्पन्नताका लागि हामीले पार गर्नु पर्ने बाटो अझै लामो छ, तर हामी यत्रारत छौं । यात्रा थालनीलाई औचित्यहीन र अनावश्यक ठान्ने, तर गन्तब्य आइनपुगेकोमा आत्मभत्र्सना गर्ने प्रवृत्तिबाट जोगिंदै हामी अघि बढ्नु पर्छ । 
–नेपालले द्वन्द्व व्यवस्थापनको सन्दर्भमा मौलिक विधि अपनायो । अहिले द्वन्द्व व्यवस्थापन भई देश आर्थिक तथा समाजिक रुपान्तरणको दिशातर्फ अग्रसर छ । आफ्ना समस्या आफैं हल गर्ने अठोटका साथ थालिएको हाम्रो यस कार्यले आफ्ना समस्या आफैं हल गर्न सक्ने हाम्रो क्षमता प्रदर्शित भएको छ । हामीले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान विस्तार गरेका छौं, हामीप्रति विश्वजगतको ध्यानाकर्षण भएको छ, हामी विश्वमञ्चमा देखिन र सुनिन थालेका छौं । यसवाट अन्तर्राष्ट्रिय मञ्चहरुमा अहिले नेपालको प्रतिष्ठा र गरिमा बढेको छ । प्रजातान्त्रिक आन्दोलन मार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहना सफलताको दिशामा अग्रसर छ । 
–अहिले हामी विल्कुलै नयाँ राज्यप्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेका छौं । बदलिएको प्रणालीलाई तीब्र गतिमा हिंडाउनु चुनौतिपूर्ण हुन्छ । एउटा सरकारका ठाउँमा अर्काे सरकार बदलिएजस्तो होइन, एउटा प्रणालीका ठाउँमा बदलिएको अर्काे प्रणालीको अभ्यास हामी गरिरहेका छौं । र, यसैबीच छोटो अवधीमा चिरकालदेखिका जनआकाङ्क्षाको पनि तीब्र सम्बोधन गर्नु पर्ने चुनौति हाम्रासामु छ । हामीले बदलिएको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धितर्फको यात्रा अगाडि बढाइरहंदा कतिपय पक्षबाट आइरहेको असन्तुष्टिमा प्रणालीगत बदलाव, चिरन्तन देखिका जनआकाङ्क्षा र राज्यको संस्थागत सामथ्र्यको आयामलाई केलाउनु पर्ने हुन्छ । लोकतान्त्रिक प्रणालीलाई दशकौंको समय लगाएर सुदृढ गरेका र विकासमा सयौं वर्ष लगानी गरेका मुलुकहरुसँग तुलना गर्ने प्रगति हामीले गर्न सकेका छैनौं । तर, थालनी गरेर अगाडि बढेका छौं र त्यसतर्फको पाइलालाई तीब्रता दिएका छौं । निरङ्कुश जहानियाँ शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो युगमा प्रवेश गरेको २००७ सालको परिवर्तन बिन्दु जस्तै आजको समय विकास र समृद्धिको प्रवेश बिन्दु हो । यस अर्थमा आजको समय नवीन युगको प्रस्थान बिन्दु हो । 
–निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेर यहाँसम्म आइपुगेपछि हामी अहिले देशबाट गरिबी, वेरोजगारी, अविकास र पछौटेपन अन्त्य गरिरहेका छौं । यस अवस्थावाट मुलुकलाई बाहिर निकाल्न र विकासको नयाँ युगमा प्रवेश गर्न सरकार योजनावद्ध रुपमा क्रियाशील छ । आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने  दिशामा हामी अग्रसर छौं । हामी सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा छौं । यस लक्ष्य प्राप्तिका लागि हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौं । यस यात्राबाटै हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्नेछौं । 
–‘समृद्ध नेपाल–सुखी नेपाली’को ध्येयका साथ यतिखेर सरकार आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित छ । समृद्धि प्राप्तिको यस सहयात्रामा हाम्रा मित्रराष्ट्रहरुको समेत साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु । 
–लोकतन्त्र इतिहासप्रति गर्व गर्ने, वर्तमानमा उत्तरदायी हुने र भविष्यप्रति जिम्मेवार हुने सभ्य प्रणाली हो । देशलाई बदल्ने अठोटसाथ अघि बढ्दैगर्दा केही नकारात्मक प्रवृत्तिको अवरोध पनि सहनु परेको छ । तर, दलीय आग्रहले लोकतन्त्रिक प्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुनु हुँदैन । समाजमा एउटा प्रवृत्तिगत चारित्रिक सहउत्पादन भइरहेको देखिन्छ– विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्ताहरुलाई निरुत्साहित पार्ने,  विकास प्रयासहरमा व्यवधान गर्ने ।  यस्ता प्रयासहरुलाई हामीले कामद्वारा नै पराजित गरिरहेका छौं । 
–हाम्रो राष्ट्र निर्माण, हाम्रो प्रजातन्त्र प्राप्ति, हामीले लोकतन्त्रका लागि लामो समय गरेको संघर्षको इतिहासका परिघटना, जो गौरवपूर्ण छन्, त्यस सम्बन्धी ज्ञानलाई हाम्रो भावी पुस्ताले पनि अध्ययन गर्नु पर्दछ । आफ्नो सभ्यता, संस्कृति र इतिहासको श्रेष्ठता, त्यसका लागि पूर्खाले गरेको योगदानबारे आजको पुस्ताले गहिरो आत्मसात गर्नु पर्दछ । त्यसैले आजको यस दिवसलाई एउटा औपचारिक दिवस मात्रै होइन, यसलाई इतिहास र पूर्खाको गौरवशाली विरासतसँग जोडेर जनस्तरवाट समेत मनाउन सरकारले आव्हान गरेको छ । 
–जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको ऐतिहासिक दिनको सम्झनामा आयोजित यस विशेष समारोहमा म पुनः एकपटक नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा सफल बनाउन एकजूट भई योगदान गर्न दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप