शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एबीसीमा व्यावसायिक हेलिकप्टर उडानमा रोक : होला कार्यान्वयन ?

दैनिक ५० उडान, हिमाली पशुपंक्षी तर्सिएर भाग्न थाले
बुधबार, ०७ फागुन २०७६, ०७ : ५६
बुधबार, ०७ फागुन २०७६

पोखरा । अन्नपूर्ण गाउँपालिकाको गत वर्ष साउनमा बसेको चौँथो गाउँसभा बैठकले अन्नपूर्ण बेसक्याम्पमा हेलिकप्टरको व्यवसायिक उडानमाथि रोक लगाउने निर्णय ग¥यो । हेलिकप्टरको चर्को आवाजले हिमाली पशुपंक्षी तर्सिएर भाग्न थालेपछि गाउँसभाले यस्तो निर्णय गरेको थियो ।

तर, उक्त निर्णय कार्यान्वयन भने हुन सकेको छैन । एबीसीमा हेलिकप्टरको व्यवसायिक उडानमा रोक लगाउन नसके पनि गाउँपालिका अधयक्ष युवराज कुँवरले एबीसीमा हेलिकप्टर उडान रोक्नुपर्ने भन्दै चर्को आवाज उठाउँदै आएका छन् ।

गाउँ सभाले निर्णय पास गरेको एक वर्षपछि गाउँपालिकाले पुनः हेलिकप्टरको व्यवसायिक उडान माथि रोक लगाउन कसरत थालेको छ । अन्नपूर्ण गाउँपालिका–११ का अध्यक्ष हिमबहादुर गुरुङका अनुसार एबीसी मा हेलिकप्टर उडान रोक लगाउँन गाउँपालिका लागिपरेको छ । यसअघि निर्णय भएर लागु नभए पनि यसपटक भने रोक लगाउन आफूहरु लागि परेको उनले बताए । ‘पोहोरै हामीले एबी सी मा हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेका थियौँ,’ उनले भने, ‘तर, यस पटक भने कार्यान्वयन गरेर छाड्छौँ ।’

अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले दैनिक ५० को हाराहारीमा हेलिकप्टर उडानले एबीसीको पर्यावरणमा नै असर परेपछि हेलिकप्टरको व्यवसायिक उडान रोक्नु परेको बताउँछन् । हेलिकप्टरको व्यवसायिक उडानमाथि रोक लगाउँदा भ्रमण वर्ष २०२० माथि असर नपरोस् भनेर पनि आफूहरु विशेष सजग रहेको उनले बताए ।

यद्यपि, रेस्क्यु र भिआइपी उडानमाथि भने रोक नलगाइएको उनले जानकारी दिए । यस्तै, अन्य शारीरिक आशक्त भएर एबीसी जान चाहेको खण्डमा पनि हेलिकप्टरमा जान पाइने उनले बताए ।

‘रेस्क्यु र भिआइपी उडानमा रोक लगाइएको होइन,’ उनले भने, ‘भ्रमण वर्ष २०२० लाई असर नपरोस् भनेर पनि हामी एकदमै सजग छौ’ ।

प्रभु हेली, एअर डाइनेस्टी, सिम्रिक लगायत ८ हेलिकप्टर कम्पनीले यसअघि एबीसीमा व्यवसायिक उडान गर्दै आएका छन् ।

अन्नपूर्ण संरक्षीत क्षेत्रअन्तर्गत पर्ने एबीसीमा हेलिकप्टर मार्फत वार्षिक १५ हजार पर्यटक पुग्ने गरेको बताइएको छ । पर्यावरणीय र पर्यटन क्षेत्रमा असर परेपछि हेलिकप्टरको व्यवसायिक उडान रोक्नको लागि गाउँपालिकाले नागरिक उड्ड्यन मन्त्रालयलाई पत्र पनि लेखेको थियो ।

यता, जिल्ला प्रशासन कार्यालयका प्रमुख रमेशकुमार केसी भने एबीसीमा हेलिकप्टर माथि लगाइएको रोकबारे आफू अनभिज्ञ रहेको बताउँछन् । मन्त्रालयमा हेलिकप्टरमाथिको व्यवसायिक उडान रोक्न पत्र पठाएको विषयमा जानकारी पाए पनि व्यवसायिक उडानमा रोक लगाइएको विषयमा आफू जानकार नरहेको उनले बताए ।

‘एबीसीमाथि व्यवसायिक उडान रोक्न गाउँपालिकाले पत्र त पठाएको थियो,’ उनले भने, ‘तर, रोक नै लगाइएको भन्ने विषयमा मलाई जानकारी छैन । हेलिकप्टरको उडानमा नियमन गर्नुपर्ने हो ।’

एक महिना अघि हिमपहिरोमा परेर ४ कोरियाली र ३ जना नागरिक बेपत्ता भएपछि बेसक्याम्प एक महिनाको लागि बन्द भएको थियो । अहिले भने बेसक्याम्प खुलिसकेको छ ।

अनिश्चितकालको लागि बेसक्याम्प बन्द हुँदा मारमा परेका व्यवसायीहरुले बेसक्याम्प बन्द हुँदा पर्यटनमा असर परेको बताएका थिए । हेलिकप्टरबाट पर्यटक सिधै बेसक्याम्पसम्म पुग्दा व्यवसाय धरापमा परेको भन्दै व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप