शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको त्रास हटाउन घरघरमा सुरक्षा टोली

मङ्गलबार, ०६ फागुन २०७६, १८ : २६
मङ्गलबार, ०६ फागुन २०७६

– रमेश गिरी
भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको ऊहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरीपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत संयुक्त सुरक्षाकर्मीको टोलीले घरदैलो अभियान शुरु गरेका हो । खरीपाटी बाँसबारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थाका बारेमा जानकारी गराउँदै कुनै पनि भाइरसको सङ्क्रमणबाट कसरी बच्ने भन्नेबारेमा जानकारी गराउँदै संयुक्त सुरक्षा फौजका टोली घरघरमा पुगेका थिए ।

प्रजिअ पाण्डेले स्थानीयको लागि छुट्टै ‘हेल्थ डेक्स’ राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थय जाँच एवं औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै समस्या देखिए यहाँ गएर जाँच गराउन सक्नेबारे जानकारी गराए । चीनको वुहानबाट फर्काएर खरीपाटीस्थित क्वारेन्टाइनमा राख्दा सङ्क्रमणको त्रासले स्थानीयले घर छोड्न थालेको र उनीहरु त्रासमा रहेको चर्चा चलेपछि स्थानीयलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जानकारी दिए ।

टोलीले घरघरमा पुगेर क्वारेन्टाइनका नेपाली सुरक्षित रहेको, उनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएकोले आत्तिनुपर्ने अवस्था नरहेको, माक्स कसरी लगाउने, दैनिक हात कसरी धुनेलगायतका बारेमा जानकारी गराएको पौडेलले बताए । घरदैलोमा स्थानीयलाई प्रहरी उपरीक्षक प्रधानले रुघाखोकी नसरोस् भनेर सावधानी अपनाउनुपर्ने बताउँदै नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने, मुखमा मास्क लगाएर काम गर्नुपर्ने जस्ता सावधानी अपनाउनुपर्नेबारे जानकारी गराएका थिए ।

घरदैलोमा स्थानीय शर्मिला खड्काले कसैले घर छाडेर नगएको दाबी गर्दै कोठामा बस्ने केही दिनका लागि दुई चार परिवार गाउँ फर्किएको बताइन् । बारीमा काम गर्न हातमा सामान बोकेर गएकाको फोटो खिचेर, काममा गएकाको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले समाचार बनाएर उल्टै गलत हल्ला गरेको क्वारेन्टाइन नजिकै घर रहेकी खड्काले बताइन् ।

स्थानीय वासुदेव लामिछाने क्वारेन्टाइनमा बस्नेलाई घृणा गर्नुपर्ने कुनै कारण नभएको र बस्ती छाड्नुपर्ने कुनै कारण नभएको बताउँदै यहाँका वास्तविक बासिन्दाले बस्ती नछाडेको भनाइ राखे । भाडामा बस्ने केही परिवार गाउँ फर्किएका र आफन्तकोमा गएको बताउँदै उनले यसैलाई आधार बनाएर बस्ती खाली भो भन्न नहुने बताए । भूकम्पमा गाउँ छाडेका भाडामा बस्नेले अहिले कोठामा ताल्चा लगाएर गएको बताउँदै उनले सरकारले समयमै चेतना फैलाउन नसक्दा स्थानीय लामो समय त्रासमा बस्नुपरेको गुनासो गरिन् ।

स्थानीय राजाराम भण्डारीले भने, ‘सरकार आफैंले यहाँका बासिन्दालाई आतङ्कित बनायो, लुकेर क्वारेन्टाइन बनाउँदा यो समस्या आएको हो, शुरुमै यहाँका जनतालाई तथ्य कुरा जानकारी गराएको भए, चेतना अभिवृद्धि गरेको भए र स्थानीयसँग बेला बेलामा अन्तक्र्रिया गरेको भए कुनै विरोध आउँदैनथ्यो, यसबारेमा जानकारी लिन जाने स्थानीयलाई प्रहरीले लाँठी तेस्र्याएपछि विरोधको आवाज आएको हो ।’

उनले मुस्कानसहितको सेवा भनेर प्रहरीले जतिसुकै नारा घन्काए पनि प्रहरीको जनताप्रति गर्ने व्यवहार र शैलीमा कुनै परिवर्तन नआएकाले प्रहरीकै शैलीका कारण विरोध आएको आरोप लगाए । जनतासँग प्रत्यक्ष जोडिने प्रहरीले नै जनतालाई अझै पनि डण्डा देखाएर तर्साउन खोज्छ भने जुनसुकै ठाउँमा गलत सन्देश जाने भन्दै सरकारले समयमै जनतालाई जानकारी गराउन नसक्दा विरोध आएको र त्रासमा बस्नुपरेको स्थानीयको भनाइ थियो ।

सरकारले चीनको वुहानबाट उद्धार गरेर ल्याएका १७५ जनालाई खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिरहको छ । उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप