बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुनै सतहमा रहेको कोरोनाभाइरस कति समय जीवित रहन्छ ?

मङ्गलबार, ०६ फागुन २०७६, १२ : ०४
मङ्गलबार, ०६ फागुन २०७६

एजेन्सी । कोरोनाभाइरस कुनै सतहमा कति समय सक्रिय रहन्छ भन्ने कुरामा धेरै मानिसले चासो दिइरहेका छन् ।

प्रकोपबाट सबैभन्दा प्रभावित देश चीनमा त त्यहाँको केन्द्रीय बैङ्कले नोटहरु धेरैको हातमा पुग्ने भएकाले ठूलो परिणाममा नोट जलाउने निर्णय गरेको छ । यो संक्रमित भएका नोट कटौती गरेर भाइरसको विस्तार रोक्न उठाइएको कदम हो ।

तर कोरोनाभाइरस संक्रमित सतहमा कति समय सक्रिय रहन्छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था छैन । केही अनुसन्धानदाताले कोरोनाभाइरसका अन्य प्रजातिको अध्ययनबाट यस सम्बन्धमा केही जानकारी हासिल गरिरहेका छन् ।

कोरोनाभाइरस जनावरमा पाइने भाइरसको ठूलो समूहलाई संयुक्त रुपमा प्रयोग गरिने नाम हो । विरलै अवस्थामा मात्र ती जनावरबाट मानिसमा सर्छन् ।

अहिलेको कोरोनाभाइरस प्रकोप कुन जनावरबाट आएको पनि यकिन भइसकेको छैन । विगतका कोरोनभाइरस प्रकोपमध्ये मर्स उँटबाट आएको थियो भने सार्स बिरालोबाट मानिसमा सरेको विश्वास गरिन्छ ।

मानिसलाई संक्रमित गरेका सार्स र मर्सजस्ता भाइरसहरु धातु, सिसा वा प्लाष्टिकको सतहमा बाँच्न सक्छन् । ती भाइरस खुल्ला सतहमा नौ दिनसम्म सक्रिय रहेको देखिएको छ ।

तर आम घरेलु सामाग्रीकै प्रयोगले ती भाइरस मरेको देखिएको थियो । अनुसन्धान अनुसार मानिसलाई लाग्ने कोरोनाभाइरस ६२–७१ प्रतिशत इथानोलमार्फत प्रभावकारी रुपमा निस्कृय पार्न सकिन्छ । त्यसबाहेक ०.५ प्रतिशत हाइड्रोजन पेरोक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइट वा ब्लिचले केही मिनेटमै भाइरसलाई निस्कृय बनाउँछ ।

‘हाल उपलब्ध तथ्याङ्कका आधारमा, नोबल कोरोनाभाइरसबारे बुझ्न सार्स कोरोनाभाइरस बढी भरपर्दो छ । दुईवटाको ८० प्रतिशत सिक्वेन्स समान छ । जहाँसम्म सार्स लगाउने कोरोनाभाइरसको कुरा छ, त्यो सतहमा पाँच मिनेटेदखि नौ दिनसम्म सक्रिय रहन सक्छ,’ युनिर्सिटी अफ क्यालिफोर्नियाका संक्रमित रोगसम्बन्धी चिकित्सक डा. चाल्स चिउले भने ।

‘तथापि, ती खोजलाई नोबल कोरोनाभाइरसको सन्दर्भमा हुबहु लागु गर्न सम्भव छैन,’ चाल्सले बताए ।

नोबल कोरोनाभाइरस र अन्य कोरोनाभाइरसबीच केही समनता भएको भए पनि ती बीचको भिन्नता पनि देखिदैछ । ‘एउटा त कोभीड–१९ सार्स र मर्सजस्ता कोरोनाभाइरसजति प्राणघातक छैन,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस घेब्रेयिससले बताए ।

‘संक्रमितमध्ये ८० प्रतिशत व्यक्तिमा सामान्य विरामीका लक्षण देखिएको छ । १४ प्रतिशत मानिसमा भाइरसले न्युमोनिया र सास फेर्न गाह्रो बनाएको छ । जम्मा पाँच प्रतिशत विरामीमा स्वास प्रश्वास प्रणाली फेल हुनेसम्मको गम्भिर प्रकृतिका रोग देखिएका छन्,’ टेड्रोसले बताए, ‘वृद्धवृद्धामा मर्नेको जोखिम बढी हुन्छ । बालबालिकामा भने यो रोग तुलनात्मक रुपमा कम देखिरहेका छौँ । ’

तर मर्ने दर कम भए पनि यसको विस्तार दर भने निक्कै उच्च देखिन्छ । वैज्ञानिकहरुको लागि पनि यसले चिन्ता उत्पन्न गरिरहेको छ । ‘सूचित रहनुस् तर नडराउनुस्,’ चिउले भने, ‘यदी तपाईंलाई चिन्ता लाग्यो भने तारन्तार हात धुनुस्, विरामी मानिसको नजिक नबस्नुस्, र संक्रमण भएका व्यक्तिसँग सम्पर्क भयो भने क्वारेन्टाइनका सर्तहरु पालना गर्नुस् ।’

धेरै मानिस सामान्य रुघाखोकीलाई कोरोनाभाइरस भनेर झुक्किने गर्छन् । त्यसका लागि जिम्मेबार इन्फ्लिुन्जा भाइरस खुल्ला सतहमा ४८ घण्टासम्म सक्रिय रहनेगर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप