बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संसारका पाँच सबैभन्दा महँगा बंगला, विशेषता दङ्गै पारिदिने

मङ्गलबार, ०६ फागुन २०७६, ०८ : ००
मङ्गलबार, ०६ फागुन २०७६

संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस एकपटक पुनः चर्चामा छन् । विभिन्न अन्तर्राष्ट्रिय मिडिया समूहको रिपोर्ट अनुसार बेजोसले अमेरिकाको लस एन्जेलेसमा सबैभन्दा महँगो आवासीय भवन खरिद गरेका छन् ।

वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार बेजोसले ‘वार्नर इस्टेट’ नामको यो सम्पत्ति १ सय ६५ मिलियन डलरमा खरिद गरेका हुन् । नेपाली मुद्राको हिसाबले यो रकम करिब १८ अर्ब रुपैयाँ हो ।

यही मौकामा वार्नर इस्टेटसमेत संसारका यस्ता केही असाध्यै महँगा सम्पत्तिबारे जानकारी लिऔंः

१. वार्नर इस्टेट, क्यालिफोर्निया, अमेरिकाः

लस एन्जेलेसको बिवर्ली हिल्समा ९ एकडमा बनेको यो सम्पत्तिलाई ‘ज्याक वार्नर इस्टेट’ पनि भनिन्छ । यसलाई सन् १९३० को दशकमा इन्टरटेन्मेन्ट कम्पनी ‘वार्नस ब्रदर्स’ का सह–मालिक ज्याक एल. वार्नरका लागि डिजाइन गरिएको थियो ।

आर्किटेक्चरल डाइजेस्टको रिपोर्ट अनुसार ‘वार्नर इस्टेट’ १३ हजार ६ सय स्क्वायर फुट जमिनमा जर्जियन शैलीमा बनेको बंगला हो । यसमा दुई गेस्ट हाउस, नर्सरी , तीन हट हाउस, टेनिस कोर्ट, स्विमिङ पूल, गोल्फ कोर्स र मोटर कोर्ट छ । साथै, यसको आफ्नै सर्भिस ग्यारेज र ग्यास पम्प पनि छ ।

फोर्ब्स म्यागजिनका अनुसार बेजोसको कुल सम्पत्ति १३०.७ बिलियन डलर अर्थात् १ सय ४८ खर्ब रुपैयाँभन्दा बढी छ । यो हिसाबले उनले वार्नर इस्टेट खरिद गर्नका लागि आफ्नो कुल सम्पत्तिको ०.१२६ प्रतिशत हिस्सा खर्च गरेका छन् ।

२. एन्टिलिया मुम्बई, भारत

रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको घर एन्टिलियालाई सन् २०१४ मा फोर्ब्सले संसारको सबैभन्दा महँगो घर बताएको थियो । यद्यपि, मुकेशले यो कसैबाट खरिद नगरी आफैंले बनाएका हुन् । फोर्ब्सले यसको लागत १ बिलियन डलर भन्दा बढी अर्थात् १ खर्ब रुपैयाँभन्दा बढी बताएको थियो ।

चार लाख स्क्वायर फुट जमिनमा बनेको २७ तल्लो यो भवनको नाम अटलान्टिकको काल्पनिक द्वीप एन्टिलियाको नाममा राखिएको छ ।

यो भवनमा ६ तल्लाको अन्डरग्राउन्ड पार्किङ, तीन हेलिप्याड, हेल्थ क्लब, स्विमिङ पूल, डान्स स्टूडियो, सिनेमाहल, बगैंचा र मन्दिर छन् । ११ वटा लिफ्ट भएको यो भवन चलाउन करिब ६ सय कर्मचारीको आवश्यकता पर्छ ।

३. विला लियोपोल्डा, फ्रान्स

विला ला लियोपोल्डा फ्रान्स र इटालीको सीमामा बनेको कम्यून विलफ्रेंच–सर–मेरमा बनेको छ । मिडिया रिपोर्टले बताए अनुसार बेल्जियमका राजा लियोपोल्ड द्वितीयले आफ्ना रानीका लागि नदी नालाको किनारामा थुप्रै घर बनाएका थिए । विला लियोपोल्डा पनि तीमध्ये एक थियो तर यसको अहिलेको स्वरुप सन् १९३१ मा अस्तित्वमा आएको हो ।

सन् २००८ मा यो भवनको मूल्य ७५० मिलियन डलर अर्थात् ८५ अर्ब रुपैयाँ आँकलन गरिएको थियो । सन् २००८ मा रुसी अर्बपति मिकाइल पोकरोवले यो खरिद गर्ने कोसिस गरेका थिए तर डिल पूरा हुन सकेन ।

१८ एकड जमिनमा बनेको यो भिल्लाका मालिकको रुपमा निकै चर्चित हस्ती समावेश छन् जसमध्ये जानी र मरेला एनियली, आइजक र डोरोथी किलम, एडमण्ड र लिली सफ्रा रहेका छन् । यसमा दुईवटा गेस्टहाउस, १९ वटा बेडरुम, ठूलो स्विमिङ पूल, सिनेमाहल र थुप्रै किचन छन् ।

४. विटनहर्स्ट, लण्डन, इंगल्याण्डः

विटनहर्स्ट लण्डनको सबैभन्दा ठूलो नीजि आवसीय घर हो जुन बकिंघम राजदरबारभन्दा अलिकतिमात्रै सानो छ । फोर्ब्सका अनुसार ५ एकडको यो सम्पत्तिको सन् १९७० देखि २००८ का बीच कुनै स्थायी मालिक रहेनन् । त्यतिबेला यसको स्थिती निकै जर्जर थियो र यसलाई भत्काउनु पर्ने माग उठेको थियो ।

सन् २००८ सम्म यो भवनमा  सुटिङबाहेक खासै केही हुँदैनथ्यो । तर सन् २००८ मा एक नाम नखुलाइएका व्यक्तिले यसलाई ६.०८ अर्ब रुपैयाँमा खरिद गरे । फोर्ब्सका अनुसार सन् २०१० को जूनमा यसलाई भत्काएर  ६५ कोठा, २५ बेडरुम र १२ वटा बाथरुम भएको यो भवन बनाउने निर्णय गरियो ।

सन् २०१५ को मे मा एक रिपोर्टमा ब्रिटिश लेखक एड सिजरले पिटनहर्स्टको मालिकको पहिचान भएको दाबी गरे । एडका अनुसार रुसका २८ औं धनाढ्य व्यक्ति आन्द्रे गुरवेयले विटनहर्स्ट खरिद गरेका थिए । यसै रिपोर्टमा यसको मूल्य ४३.२ अर्ब रुपैयाँ तोकिएको थियो ।

५. ओडियन टावर पेन्टहाउस, मोन्टे कार्लो, मोनाको

युरोपेली देश मोनाकोमा बनेको यो भवनको नाम ‘टूर ओडियन’ हो । फोर्ब्सका अनुसार ४९ तले यो भवनको माथिल्लो पाँच तलालाई पेन्टहाउसको रुपमा बनाइएको छ । ४५ देखि ४९ तलामा बनेको यो पेन्टहाउस ३१ हजार ५ सय स्क्वायर फुटको हो ।

यो अपार्टमेन्टको छतमा स्विमिङ पूल बनाइएको छ । पूलको माथिल्लो तल्लामा डान्स फ्लोर छ जहाँबाट सुरु हुने वाटर स्लाइड सिधा पूलसम्म जान्छ । सन् २०१६ मा फोर्ब्सको एक रिपोर्टमा यो सम्पत्तिको मूल्य ३६.८ अर्ब रुपैयाँ बताइएको थियो ।

बीबीसीबाट

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप