केन्द्रीय संस्करण
‘ऊहान टु खरिपाटी’ : क्वारेन्टाइनमा रहेका एक भुक्तभोगीको बयान

‘हामीले भाइरस ल्याएका हैनौं तर हामीलाई कोरोनाभाइरस नै आएजस्तो ठानियो’

मर्ने डरसँगै आफ्नो शव नेपाल जान नपाउने चिन्ताले पनि सतायो !

person explore access_timeफागुन ६, २०७६ chat_bubble_outline0

चीनमा फैलिएको कोरोनाभाइरसको महामारीले सारा संसार त्रसित र आतंकित भइरहँदा उक्त भाइरसको इपिसेन्टर मानिएका ऊहानमा रहेका नेपालीहरुले भोग्नु परेको त्रासदी र आतंकको अनुभूति कुनै ‘हरर फिल्म’को भन्दा कम छैन ।

अन्य देशका सरकारहरुले आफ्ना नागरिकहरुलाई उद्धार गरिरहँदा आफूहरुको उद्धार हुने वा नहुने हो भन्ने अन्यौलका बीच त्यहाँ रहेका नेपालीहरुले भोग्नु परेको अकल्पनीय र दारुण दुःस्वप्नको त अन्त्य भएको छ, उनीहरुको गत फागनु ३ गते उद्धार गरिएर नेपाल फर्काइसकिएको छ तर त्यसबीचमा उनीहरुले भोगेका पीडा र खप्नुपरेको यन्त्रणा कस्तो थियो ? त्यसलाई लिपिबद्ध गर्दै जाने हो भने एउटा मोटै पुस्तक नै पनि तयार हुन सक्छ ।

विशेषतः उज्ज्वल भविष्यको सपना बोकेर छिमेकी मुलुक चीनमा उच्च शिक्षा हासिल गर्न पुगेका नेपालीहरुलाई कोरोनाको महामारीसँगै आफूहरुको जीवनको पनि अन्त्य हुन सक्ने दुःस्वप्नले भन्दा पनि बढी कदाचित त्यो दुर्घटना घटित भयो भने आफूहरुको शव पनि नेपाली भूमिमा जान नपाउने चिन्ताले समेत सताएको थियो भन्ने सुन्दा मात्रै पनि उनीहरुले भोगेका त्यसबेलाको त्रासद मानसिकताको गहिराइ सहजै अनुभूत गर्न सकिन्छ।

त्यो त्रासदी भोगेका र हाल खरिपाटी क्वारेन्टाइनमा रहेका ऊहानबाट ‘उद्धार गरी नेपाल फर्काइएका १७५ नेपालीहरुमध्येका एक हुन् विश्वास यादव । वीरगंज २२ मनियारीका यादव विगत एक वर्षदेखि चीनको ऊहानस्थित चिन्चो सिटीमा बस्दै आएका छन् । त्यहाँको याङट्जे विश्वविद्यालय (Yangtze University) मा उनी एमबीबीएसका विद्यार्थी हुन् ।

जनवरी ८ मा परिक्षा सकियो एमबीबीएस पहिलो वर्षको । फेब्रुअरी ८ सम्म विदा दियो विश्वविद्यालयले । विदा सुरु भएसँगै कति साथी घरतिर हानिए त कति घुम्न निस्किए । उनीलगायतका केही साथीहरु भने चिन्चो मै बसे ।

याङट्जे विश्वविद्यालयको होस्टेलमा बस्दै आएका विश्वास र उनीसँगै अध्ययन गर्ने र सोही होस्टेलमा बस्ने साथीहरु विदामा के गर्ने भनेर योजना बनाउँदै थिए । चिन्चो सिटीमा चिसो बढ्दै थियो ।

डिसेम्बरको अन्तिमतिरबाटै चीनमा नोबल कोरोनाभाइरसको संक्रमण सुरु भएको थियो । डिसेम्बर ३१ मा ऊहानमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि नै गरिएपनि विश्वास र उनका साथीहरु परीक्षामा केन्द्रित भएकाले यसबारे भेउ नै पाएनन् ।

जनवरी ८ मा परीक्षा सकिएसँगै केही दिन विश्वविद्यालय बाहिर पनि निस्किए । घुमघाम, सपिङलगायतका नियमित कार्यमा उनीहरु पहिले जस्तै नै लागे । तर एकाएक नराम्रा समाचारहरु आउन थाले, त्यो पनि आफूहरु बसेको ठाउँको । समाचारले एकाएक त्रासको वातावरण सिर्जना गर्यो । त्रास नहोस् पनि कसरी ? उनीहरुले कोरोना भाइरसले मच्चाइरहेको आतंक र कहरबारे अलि स्पष्ट रुपमा थाहा पाउँदै जाँदा उनीहरु बसेकै सिटीमा कोरोना संक्रमितहरुको किटानी सुरु भइसकेको थियो ।

रातोपाटीसँगको कुराकानीमा विश्वासले ‘जनवरी २०–२१ तिर मात्रै कोरोनाबारे आफू जानकार भएको र निकै डर लागेको’ बताए । ‘१०–१५ दिनमा त अवस्था सामान्य होला नि भन्ने लागेको तर भाइरसले यो डरलाग्दो अवस्था श्रृजना गर्छ भन्ने कहिल्यै नसोचेको’ उनले सुनाए ।

शुरुमा आफूले सामान्य ठानेको कोरोनाभाइरसले खतरनाक महामारीको रुपमा लिएको समाचारहरु फैलिँदै गएपछि र त्यसको केन्द्रबिन्दू आफूहरु रहेको क्षेत्र वरपर नै रहेको यथार्थ बुझ्दै जान थालेपछि उनको हंसले पनि ठाउँ छोड्न थाल्यो । यतिका दिन बाहिर हिँडेका उनी कतै आफूमा पनि यो संक्रमण फैलिने पो हो कि आशंकाले भयभीत बने । ६५ लाख जनसंख्या रहेको चिन्चो सिटीमा नै पनि संक्रमणले महामारीको रुप लिँदै गरेको र त्यसैको कारणबाट मृत्यु हुनेको संख्या दिन दिनै बढ्न थालेको थियो ।


२६ जनवरीसम्ममा आइपुग्दा विश्वविद्यालय मै ४०–५० जनामा संक्रमण भएको खबर पाए विश्वासले । संक्रमण भएका सवै चिनियाँ नागरिकहरु थिए । त्यो दुःस्वप्नपूर्ण स्थितिका बीच उनीहरुले अलि सन्तोष गर्न सक्ने एउटै कुरा के थियो भने होस्टेलमा बस्ने विदेशी विद्यार्थीहरुमा भने संक्रमण देखिएको थिएन । मेडिकलका विद्यार्थी हुन् विश्वास र उनका साथीहरु, सामान्य अवस्थामा उनीहरुले यस्ता महामारीसँग जुघ्न र लड्नकै लागि शिक्षा हासिल गर्न दुरदराजको त्यो चिनियाँ भूमिमा पुगेका थिए, तर यतिखेर स्थिति फरकथियो, महामारीको संक्रमणको शिकार पो बनिने हो कि भन्ने डरले बाहिर निस्किनै सकेनन् विश्वास र उनका साथीहरु ।


२६ जनवरीसम्ममा आइपुग्दा विश्वविद्यालय मै ४०–५० जनामा संक्रमण भएको खबर पाए विश्वासले । संक्रमण भएका सवै चिनियाँ नागरिकहरु थिए । त्यो दुःस्वप्नपूर्ण स्थितिका बीच उनीहरुले अलि सन्तोष गर्न सक्ने एउटै कुरा के थियो भने होस्टेलमा बस्ने विदेशी विद्यार्थीहरुमा भने संक्रमण देखिएको थिएन । मेडिकलका विद्यार्थी हुन् विश्वास र उनका साथीहरु, सामान्य अवस्थामा उनीहरुले यस्ता महामारीसँग जुघ्न र लड्नकै लागि शिक्षा हासिल गर्न दुरदराजको त्यो चिनियाँ भूमिमा पुगेका थिए, तर यतिखेर स्थिति फरक थियो, महामारीको संक्रमणको शिकार पो बनिने हो कि भन्ने डरले बाहिर निस्किनै सकेनन् विश्वास र उनका साथीहरु । आफूहरुलाई उनीहरुले होस्टेलको परिधिभित्रै सीमित गर्न बाध्य भए ।

यसबीच उक्त क्षेत्रमा ५०–६० जनामा कोरोना संक्रमण देखिइसकेको थियो । कोरोनाबारे थाहा पाएको केही दिनमा (जनवरी २४)बाट त पूरै ऊहान शहरलाई चीन सरकारले ‘लक्ड डाउन’ नै गर्‍यो ।

लाग्थ्यो कोठा बाहिर काल घुमिरहेको छ,परिवारले आफ्नो शव पनि देख्न नपाउने भए

विश्वविद्यालय प्रशासनले होस्टेलमा रहेका सवै विद्यार्थीलाई बाहिर ननिस्कन र केही समस्या भएमा तत्काल खबर गर्न भनिसकेको थियो । विश्वास कोठामा एक्लै थिए । उनी बस्ने फ्ल्याटमा अन्य दुइजना साथी थिए । तीमध्ये पनि एकजना साथी घर गइसकेकाले सो फ्ल्याटमा थिए जम्मा दुइजना । कोठाबाट बाहिर निस्किन पनि संभव थिएन । होस्टेल बाहिर बस्ने एकजना साथीले उनीसँग बस्न आउने बताएसँगै विश्वासलाई अलि साहस आयो । अव उनको फ्ल्याटमा भए तीन जना ।

उनीहरु एकै कोठामा बस्ने, सँगै खाने गर्न थाले । मास्क लगाउने र सतर्कताका लागि ह्याण्ड स्यानिटाइजर, ह्याण्ड वासको प्रयोगसँगै सरसफाइमा विशेष ध्यान दिए । मेडिकलकै विद्यार्थी भएकाले पनि उनले आफूलाई भाइरस लागि हालेमा कसरी बच्ने भनेर पनि तयारी गर्न थाले ।

अरु अरु विद्यार्थीहरुले जस्तै होस्टेलमा बस्दा प्राय: एक दुई महिनाको लागि खाद्यान्न किनेर राख्ने गरेका थिए विश्वासले । तर तरकारी, फलफूल, पानीलगायत भने एक दुई हप्ताको लागि मात्रै खरिद गर्ने गर्थे । जब ऊहान ‘लक्ड’ भयो, विस्तारै पानी र तरकारीहरु सकिन थाल्यो । होस्टेलमा बस्ने भएकाले उनीहरुको जिम्मा विश्वविद्यालयकै हुन्थ्यो । त्यसैले विश्वविद्यालयले उनीहरुलाई बाहिर ननिस्किन, केही समस्या भएमा खवर गर्न भन्यो । 

विश्वविद्यालयले विद्यार्थीहरु र फ्ल्याटअनुसार समूह विभाजन गरिदियो । समूहमा एकजना टोलीनेता पनि छानिदियो । खाना र पानी अथवा अरु केही समस्या भएमा टोली नेताले विश्वविद्यालयमा खवर गर्नुपर्ने र आवश्यक सामान विश्वविद्यालयले नै ल्याइदिने प्रबन्ध गरिएको थियो । विश्वास भन्छन्, ‘हामीले आफूसँग हुँदासम्म आफै बनाएर खायौं । पछि विश्वविद्यालयले नै पाँच युआन लिएर खाना दिन थाल्यो । खानाको खासै समस्या त भएन, तर त्यो बेला भाइरसले सिर्जना गरेको त्रास भन्दा ठूलो समस्या के हुन सक्थ्यो र ? तर पनि होस्टेल बाहिर बस्नेहरुलाई भने खाना र पानीको निकै समस्या भयो ।’


‘हामीले आफूसँग हुँदासम्म आफै बनाएर खायौं । पछि विश्वविद्यालयले नै पाँच युआन लिएर खाना दिन थाल्यो । खानाको खासै समस्या त भएन, तर त्यो बेला भाइरसले सिर्जना गरेको त्रास भन्दा ठूलो समस्या के हुन सक्थ्यो र ? तर पनि होस्टेल बाहिर बस्नेहरुलाई भने खाना र पानीको निकै समस्या भयो ।’


परिवारलाई सामान्यतया तीन चार दिनको फरकमा फोन गर्ने विश्वासले दिनमा तीन चार पटक फोन गर्न थाले । यता परिवार आत्तिने उता उनी । कसरी हुन्छ आउ घर भन्थे घरबाट तर कताबाट आउनु ? असम्भव जस्तै थियो ।

विश्वासलाई सबैभन्दा बढी आतंकले चाहिँ त्यो बेला सतायो, जतिबेला भाइरसका कारण मृत्यु हुनेको दर बढेको बढ्यै थियो र नेपाल सरकारले उद्धारको लागि ढिलाइ गरिरहेको थियो । त्यो समय ‘अब यतै मरिने भैयो, परिवारले त मृत शरीर पनि देख्न नपाउने भए’ भन्ने चिन्ताले विश्वासलाई सबैभन्दा बढी सतायो । विश्वास भन्छन्, ‘के के पो सोचिएन र दिदी त्यो समय । त्यो डर त्यो अवस्था सम्झदा अहिले पनि हात खुट्टा लुला हुन्छन् ।’

विश्वविद्यालय भित्रै छ होस्टेल । विश्वविद्यालयमा चार वटा गेट छन् । जसमा विश्वविद्यालयले तीन वटा गेट बन्द गरिदियो । एउटा गेटमात्र खुल्ला गरियो । केही आवश्यक सामान लिन जान पर्यो भने तीन दिनमा एक पटक निश्चित समयको लागि मात्रै बाहिर निस्किन दिन्थ्यो विश्वविद्यालयले । त्यसमा पनि टोली नेताले खटाउनु पर्थ्यो । खुल्ला राखिएको गेटबाट खाद्य स्टोरसम्म पुग्न २०–२५ मिनेट लाग्थ्यो । त्यसमाथि थप विश्वविद्यालयले लामो समय बाहिर बस्नेलाई कार्वाही गर्थ्यो । विस्तारै महामारीले उग्र रुप लिन थालेपछि खुला राखिएकै त्यो एउटै मात्र गेट पनि बन्द गरियो । विश्वविद्यालयले बाहिर ननिस्कन उर्दी नै जारी गर्‍यो र निस्किनै पर्ने स्थित आएमा पासपोर्ट लिएर मात्र जान भन्यो ।

बाहिर भाइरस नफैलियोस् भनेर रोड पखाल्ने र हावामा किटाणु मार्न स्प्रेहरु गर्ने क्रम तीब्र पारिएको थियो । झ्यालबाट त्यो दृश्य देख्दा र आफू बसेको होस्टेलका भर्याङ अनि वरीपरी किटाणुनासक औषधी छर्कदै चिनियाँ सरकारका सेतो कपडाले सवै ढाकेका कर्मचारी हिँडेको देख्दा निकै डर लाग्थ्यो विश्वासलाई । बालक कालमा सुनिने यमराजको कथामा वर्णित स्थान जस्तै भयावह लाग्न थालेको थियो चेन्चो अनि पुरै ऊहान ।


जनवरी २४ देखि फेब्रुअरी १५सम्म कोठाभित्रको सकसलाई उनी शब्दमा बयान गर्न नसकिने बताउँछन् । पूरा गतिमा एसी लगाएर कोठाभित्र बन्दी बन्नु पर्दा परिवारको निकै याद आयो उनलाई । सरकारले हरेक दिन शरीरको तापक्रम नाम्न थर्ममिटर दिएको थियो । उनीहरुले भने बमोजिम तापक्रम नापेर रेकर्ड राख्नुपर्दथ्यो । बेला बेला सरकारका कर्मचारी पनि तापक्रम नाप्न आउँथे ।


जनवरी २४ देखि फेब्रुअरी १५सम्म कोठाभित्रको सकसलाई उनी शब्दमा बयान गर्न नसकिने बताउँछन् । पूरा गतिमा एसी लगाएर कोठाभित्र बन्दी बन्नु पर्दा परिवारको निकै याद आयो उनलाई । सरकारले हरेक दिन शरीरको तापक्रम नाम्न थर्ममिटर दिएको थियो । उनीहरुले भने बमोजिम तापक्रम नापेर रेकर्ड राख्नुपर्दथ्यो । बेला बेला सरकारका कर्मचारी पनि तापक्रम नाप्न आउँथे । विश्वास त्यो क्षण सम्झँदै भन्छन्, ‘हामी भाग्यमानी रहेछौं सँधै हाम्रो शरीरको तापक्रम सामान्य रह्यो । ’

जब सबैऊहान नै लक्ड डाउन भयो र सँगैका साथीहरु देश फर्कन थाले..

फेब्रुअरी लागेसँगै चेन्चो र वरीपरीका सवै सहरहरु ‘लक्ड डाउन’ भए । पहिला मुख्य मुख्य सहरहरु ‘लक्ड डाउन’ भएपनि साना सहरमा अलि अलि चहल पहल थियो तर पछि साना सहर पनि ‘लक्ड डाउन’ भएपछि होस्टेल बाहिरका नेपालीहरु भने निकै आत्तिए ।

दिन दिनै फरक समाचार आउन थाले– कहिले पानीबाट भाइरस सर्छ त कहिले ट्वाइलेटबाट जस्ता । संक्रमित व्यक्तिले ट्वाइलेट गरेपछि सोही ट्वाइलेट प्रयोग गर्दा संक्रमण सर्न सक्ने सम्भावना ज्यादै बढी हुने हल्लाले त्रास झनै बढायो ।

विश्वास भन्छन्, ‘होस्टेलमा बस्ने नेपाली बाहेक इन्डोनेसिया, अफ्रिका, बंगलादेश, पाकिस्तानलगायतका देशका साथीहरु थिए । इन्डोनेसिया, बंगलादेशलगायतका साथीहरुलाई उनीहरुको देशले उद्धार गर्यो । चाइनिज साथीहरु घरमै बस्ने भएकाले उनीहरुसँग सम्पर्क नै भएन । नेपालले पनि उद्धार गर्ने भने पनि समयमा पहल नगर्दा झनै निराशा बढ्यो । देशले हामीलाई फर्काइदिए मात्र पुग्थ्यो त्यो समयमा ।’

नेपालको एम्बेसीले सवै नेपालीको वी च्याट ग्रुप बनाएको थियो । त्यसपछि सवैतिरबाट खवरहरु आउन थाले, नेपाल सरकारले उद्धार गर्छ भन्ने आश उनीहरुमा पलाउन थाल्यो ।

उद्धारको खवर आउन थाल्यो...

सँगै अन्य देशले आफ्ना नागरिक उद्धार गरिरहेको थियो । नेपाल सरकारलाई पनि दूतावासमार्फत आफूहरुलाई उद्धार गर्न सवै मिलेर अपिल गरे । तर सरकारले प्रक्रियामा छौं मात्र भन्यो । प्रक्रिया कहिले सकिने ठेगान थिएन । दूतावासले देश फर्कन चाहनेले फारम भर्न भन्यो । उनीहरुले निकै उत्साहित हुँदै फारम त भरे तर  तत्कार उद्धार गर्ने मात्र भनियो, समय तोकिएन ।

अन्य देशले आफ्ना नागरिक उद्धार गरिरहेको थियो । नेपाल सरकारलाई पनि दूतावासमार्फत आफूहरुलाई उद्धार गर्न सवै मिलेर अपिल गरे । तर सरकारले प्रक्रियामा छौं मात्र भन्यो । प्रक्रिया कहिले सकिने ठेगान थिएन । दूतावासले देश फर्कन चाहनेले फारम भर्न भन्यो । उनीहरुले निकै उत्साहित हुँदै फारम त भरे तर  तत्कार उद्धार गर्ने मात्र भनियो, समय तोकिएन ।


दूतावासले बुधबार फेब्रुअरी १२ सम्म पर्खन भन्यो । यता चीनमा रहेकाहरुको आफन्तहरु कहिले सिंहदरवार त कहिले मानवअधिकार आयोग धाइरहेका थिए । विश्वास भन्छन्, …मेरो त काठमाडौंमा कोही हुनु हुन्न थियो सवै वीरगञ्जमा । साथीहरु गए मेरो लागि अपिल गर्न ।’

उनीहरुको दिनचर्या नै कोठा भित्र थुनिएर बस्दा २४ घण्टा समाचार हेर्ने बन्यो । चीनमा यूट्यूव फेसवुक राम्रो चल्दैन त्यसैले समाचार साइट हेरेर आफूहरुको उद्धारको दिन कुर्न थाले । विश्वविद्यालयले मास्क, पन्जा लगायतका सामान पनि उपलब्ध गराइदियो । उद्धारको आशामा उनीहरु सामान प्याकिङ गर्न थाले । फेब्रुअरी १५ (फागुन ३) गते उद्धारका लागि विमान आउने खवरले उत्साहित त बनायो तर साथै चीनबाट फर्काइएकाहरुलाइ क्वारेन्टाइनमा राख्ने भनिएको स्थान खरिपाटीका वासिन्दाले विरोध गरे भन्ने खवरले उनीहरुमा झनै निराशा बढायो ।

आपत विपतको समयमा कतैबाट पनि साथ नपाएको जस्तो भयो । मन आत्तियो । अब यतिनै हो जस्तो पनि लाग्थ्यो तर त्यो समयमा साथीभाइहरुले सान्त्वना र आँट दिन्थे यताबाट । त्यहाँ फसेका नेपालीहरुलाई त सरकारले बाहेक कसैले देश ल्याउन सक्ने अवस्था थिएन ।

भक्तपुरको चाँगुनारायण नगरपालिका– ७ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा क्वारेन्टाइन बनाइएको र हामीलाई फागुन ३ गते उद्धार गरेर त्यही राख्ने गरी सरकारको निर्णय आयो दूतावासले तयार हुन भनेपछि उनीहरुको खुसीको सीमा रहेन ।

विश्वास भन्छन्, ‘चीन यतिबेला निकै दुःखमा छ । हामीले त्यहाँ बसेर केही गर्न सक्ने अवस्था पनि छैन । यस्तो वेला हामी आफै सुरक्षित हुन सक्नु भनेको पनि चीनको लागि सानो सहयोग हुन सक्छ । ’

जबविमानस्थलको स्वास्थ्य जाँचमा केही साथीहरुको तापक्रम बढी देखियो

हिउँ परिरहेको थियो । चिन्चोमा रहेका ५० जना नेपालीलाई लिन दूतावासको बस आयो । चेन्चोबाट ४ घण्टाको बस यात्राबाट विमानस्थल पुगिन्छ । बस चढ्नु अगाडि शरीरको तापक्रम जाँच भयो । सबैको सामान्य आयो । बाटोमा समय समयमा तापक्रम जाँच गर्दै गर्दै लगियो । बाटोमा जाँच गर्दा दुई जना नेपालीको तापक्रम बढी देखायो । हतारमा हिँड्दा र धेरै कपडा लगाउँदा पनि तापक्रम बढ्ने गर्छ । उनीहरुलाई १५ मिनेट आराम गराएपछि सामान्य भयो र फेरि हिँडे । फेरि बाटोमा बस बिग्रियो । आधा घण्टामा अर्को बस लिन आयो र विमानस्थलमा बल्लतल्ल पुगे ।

‘विमानस्थलमा हुने स्वास्थ्य जाँच के हुने हो भन्ने डरले हामी सबै भित्रभित्रै आतंकित बनेका थियौं । बोर्डिङ पास लिने बेलामा पुन: तापक्रम लिँदा दुई जनाको तापक्रम बढी देखियो ।  उनीहरुलाई बाहिर निकाल्यो र रगत जाँचको लागि लग्यो ।


त्यो क्षणको वर्णन गर्दै विश्वास भन्छन्,  ‘विमानस्थलमा हुने स्वास्थ्य जाँच के हुने हो भन्ने डरले हामी सबै भित्रभित्रै आतंकित बनेका थियौं । बोर्डिङ पास लिने बेलामा पुन: तापक्रम लिँदा दुई जनाको तापक्रम बढी देखियो ।  उनीहरुलाई बाहिर निकाल्यो र रगत जाँचको लागि लग्यो । हाम्रो भने तापक्रम सामान्य नै आयो । म भन्दा पछाडिको साथीको पनि तापक्रम बढी आएकाले रगत जाँचको लागि लगियो र हामीसँग आउन दिइएन । हामीसँग आएका दुईजनाको तापक्रम बढी आएकोले उनीहरुलाई पनि फर्काइयो । उहाँहरुको तापक्रम केही समयमै सामान्य भएपछि होस्टेलमै क्वारेन्टाइनमा राखिएको छ । अहिले उहाँहरुको अवस्था सामान्य छ । ’

यतिले मात्र ढुक्क हुने अवस्था थिएन । इमिग्रेसनमा के हुने हो भन्ने चिन्ता र डर बाँकी नै थियो। इमिग्रेसन पार गरेर प्लेनमा बसेपछि मात्रै उनीहरुले सन्तोषको लामो सास फेरे । अव घर जान पाइयो भन्ने कुरामा ढुक्क भए, परिवारजनको यादले आँखा रसाए ।

विमानभित्रको अवस्‍था

विश्वास र उनीसँगै आएका अन्य १७५ जनाले विमानमा प्रवेश गरेसँगै लामो सास लिए । ढुक्क भए । आफ्नो देश र सरकारलाई धन्यवाद दिए ।

विमानको सिटमै खाना राखिएको थियो । खानामा ड्राइ फुड्स, केरा, ब्रेड, चकलेटहरु थिए । केही समस्या भएमा स्वास्थ्य जाँचको व्यवस्था थियो । विमानका कर्मचारीहरुले आफूहरुसँग कुराकानी गर्दा सवैजना निकै खुसी भए ।

देश फर्कन चाहनेहरु सवैलाई दूतावासले पहिले पनि फारम भराएको थियो । विमानमा पनि फारम भर्न लगाइयो । फारममा व्यक्तिगत विवरण र क्वारेन्टाइना बस्दा अपनाउनुपर्ने नियम र सो नियम पालना गर्ने प्रतिवद्धताहरु थिए । उनीहरु सबैको मनमा त्यो बेला एउटै भावना थियो– नेपाल फर्कन जस्तोसुकै सर्त मान्न तयार थिए । त्यसैले सवैले फारम भरेरर हस्ताक्षर गरेर ल्याए ।

मानिस हैन भाइरस!

तर, उनीहरुसँग काठमाडौं विमानस्थलका कर्मचारीहरु डराएको देख्दा र क्वारेन्टाइन क्षेत्रका स्थानीयहरु त्रसित बनेकाे सुन्दा भने उनीहरुके मन अमिलो बन्यो । उनीहरुको मनमा ‘हामी मानिस हौं कि भाइरस हौं’ भन्ने पनि लाग्यो । हुन त कोरोना भाइरसका त्रासले विश्वलाई नै थर्कमान बनाएको छ । त्यसैले नेपालमा त्यस्तो हुनुलाई स्वभाविक ठाने सवैले ।

विश्वास भन्छन्, ‘फारम स्क्यानिङ गरेर फोहोरको भाडा राख्न भनियो हामीहरुले पनि त्यसै गर्यौं । विमानमै फोहोर राख्नलाई सवैलाई भिन्न झोला दिइएको थियो तर पनि विमानस्थलका कर्मचारी पुरा सुरक्षित तरवले बसेपनि उनीहरुमा देखिएको डरले भने कता कता नरमाइलो लाग्ने रहेछ । लाग्यो– चीनबाट उद्धार गरेर फर्काइएका हामी जिउँदा मानिस होइनौं, साक्षात भाइरस नै पो हौं ।’ 

उनी अगाडि भन्छन्, ‘सरकारले धेरै ठूलो सहयोग गर्यो । धेरै खुसी छौं । आफ्नो देश आयौं । यहाँ जति दिन क्वारेन्टाइनमा बस्न परे पनि बस्ने छौं । क्वारेन्टाइनमा राखिएको स्थानमा सवै सुविधा छ । घरमा बसे जस्तो भएको छ । आफ्नो माटो, आफ्नै पानी अनि खाना सवै छ । सोचे भन्दा धेरै राम्रा व्यवस्था सरकारले गरेको रहेका धेरै खुसी छौं हामी ।’

सवैभन्दा डर ट्वाइलेटबाट संक्रमण सर्छ भन्ने हो । संक्रमितले प्रयोग गरेको ट्वाइलेट प्रयोग गर्दा संक्रमण हुन सक्ने संभावना भएपनि क्वारेन्टाइनमा रहेका कोही पनि संक्रमित नरहेको उनी बताउँछन् । विश्वास भन्छन्, ‘यहाँ एउटा कोठामा ३ जना बसेका छौं । खाना आएपछि माइकिङ हुन्छ । हामी आफैले खाना लिएर खान्छौं । खाना पनि राम्रो छ । स्वास्थ्यकर्मी सुरक्षाकर्मीको निगरानीमा राखिएकाले डर छैन ।’

सवैभन्दा डर ट्वाइलेटबाट संक्रमण सर्छ भन्ने हो । संक्रमितले प्रयोग गरेको ट्वाइलेट प्रयोग गर्दा संक्रमण हुन सक्ने संभावना भएपनि क्वारेन्टाइनमा रहेका कोही पनि संक्रमित नरहेको उनी बताउँछन् । विश्वास भन्छन्, ‘यहाँ एउटा कोठामा ३ जना बसेका छौं । खाना आएपछि माइकिङ हुन्छ । हामी आफैले खाना लिएर खान्छौं । खाना पनि राम्रो छ । स्वास्थ्यकर्मी सुरक्षाकर्मीको निगरानीमा राखिएकाले डर छैन ।’


संक्रमण भए नभएको यकिन जाँच गर्न स्याम्पल लिइसकेको छ सायद रिपोर्ट पनि छिटै आउँछ । थर्ममिटर मास्क, ग्लोब, स्यानिटाइजर, ह्याण्ड वास, सावुन सवैको व्यवस्था छ । दिनमा तोकिए बमोजिम तापक्रम नापेर नियमित रेकर्ड राख्ने गरेका छन् उनीहरुले ।

फेब्रुअरी ८ बाटै विश्वास अध्ययनरत विश्वविद्यालयको विदा सकियो तर विश्वविद्यालयले अर्को एक महिना विदा थप गरेको छ । विश्वविद्यालयले अनलाइनबाट केही क्लास गरी रहेको छ । यसबारे उनी भन्‍छन्, ‘विद्यार्थी र शिक्षकहरुको ग्रुप बनाएको छ । बुक होमवर्क ग्रुपमा आउँछ अनि गरेर ग्रुपमा पठाउने गरेका छौं । ’

विश्वासको भनाइमा भाइरसको महामारी छिटै सकिने संकेत छैन हुनत संक्रमणको दर घट्न थालेको खवर आएको छ, आशा छ छिटै चाइना स्वस्थ्य होस् ।

जोखिम मोलेर नेपाल ल्याइदिएकोमा विश्वास नेपाल सरकारप्रति कृतज्ञ छन् तर उनीहरुकै कारण स्थानीयहरु घर छाडे भन्दा उनलाई चिन्ता पनि लागेको छ । स्थानीयहरुलाई आग्रह गर्दै उनी भन्छन्, …हामी संक्रमित होइनौं, नडराउनुस् ।  हामीलाई केही समस्या भएको भए उतै रोकिइन्थ्यौं । सर्वसाधारणले बुझ्नु यो जरुरी छ कि संक्रमित व्यक्तिको सम्पर्कमा रहँदा, एउटै सामान प्रयोग गर्दा रोग सर्ने हो । हामी स्वस्थ छौं हामी यहाँ रोग सार्न आएका होइनौं । यसबारे सरकार र सम्वन्धित सवैले स्थानियलाई बुझाउनुपर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.