शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोशीमा सञ्चालित जेटबोट बन्द

सोमबार, ०५ फागुन २०७६, २२ : ०७
सोमबार, ०५ फागुन २०७६

भोजपुर । भोजपुरलाई दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोशीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ । स्थानीयले जेट बोट सञ्चालकबाट कमिशन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत बिहीबारबाट सेवा बन्द गरेको व्यवसायीले बताएका छन् । स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिशन माग्ने गरेको भए पनि सरकारले रोक्न कुनै कदम नचालेको व्यवसायीले गुनासो गरेका छन् ।

उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा नगरपालिकाका बीचमा रहेको सप्तकोशी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्म जेटबोट सञ्चालनमा रहेको थियो । चतराघाटबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेटबोट सञ्चालनमा ल्याएपछि सर्वसाधरणले जलयातायातबाट सेवा लिँदै आएका थिए ।

चतराघाटबाट करिब १५ किलोमिटर धनकुटाको सिम्ले १० देखि १५ मिनेटमै पुगिने र सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुग्ने गरेको स्थानीय दीपक राईले बताए । राईले भने, ‘जेटबोट सञ्चालन हुँदा हामीलाई निकै सहज थियो तर आपसी किचलोका कारण सेवा बन्द हुँदा अहिले समस्या छ, सञ्चालनका लागि तत्काल पहल गर्न आवश्यक छ ।’

जेटबोट सञ्चालनमा आएपछि भोजपुरसँगै धनकुटाको सिम्ले क्षेत्रका स्थानीय पनि दुई घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी पुग्ने गरेका थिए । भोजपुर, खोटाङ धनकुटालगायतका जिल्लाबाट दैनिक ७०० बढीले जेटबोटमार्फत यात्रा गर्ने गरेको सञ्चालकले बताउँछन् । जेटबोटमार्फत नै बराहक्षेत्र दर्शनका लागि मानिस आवतजावत गर्ने गरेका कारण बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।

सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालीले सप्तकोशी नदीमा चारवटा जेटबोट सञ्चालन गर्दै आएका छन् । सप्तकोशी नदीमा सञ्चालित जलयातायात (जेटबोट) सेवा बन्द भएको छ । सरकारले कानून निर्माण गरी नियमन गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने, भाडादर कायम गर्नुपर्नेलगायतका माग राख्दै अनिश्चितकालका लागि बिहीबारबाट जलयातायात सेवा बन्द गराएको व्यवसायीको भनाइ छ । सप्तकोशी नदीमा दुई वर्षदेखि नियमित जलयात्राको सेवा सञ्चालन भइरहेको थियो । जेटबोट सञ्चालनका लागि प्रष्ट कानून अभावका कारण आफूहरु समस्यामा परेको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोटेसनका सञ्चालक राजेन्द्र कार्कीले बताए । 

व्यवसायको सुरक्षा गरिदिने ‘ग्यारेन्टी’ सरकारले नगरेसम्म सेवा सञ्चालन गर्न नसकिने उनको भनाइ छ । व्यवसायीले सप्तकोशी नदीमा जलयात्राको सेवा बन्द गरेपछि भोजपुरको दक्षिणी तथा धनकुटा र उदयपुर क्षेत्रका मानिसलाई तराईसम्म जान समस्या भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप