शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभाः साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

सोमबार, ०५ फागुन २०७६, १९ : १३
सोमबार, ०५ फागुन २०७६

कैलाली । सुदूरपश्चिम प्रदेशसभाले साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले प्रस्तुत गरेको सो विधेयक आज बसेको  बैठकले पारित गरेको हो । 

प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले दफावार छलफल गरि पेश गरेको प्रतिवेदनमाथि भएको छलफलमा भाग लिँदै सत्तापक्षका प्रदेशसभा सदस्य लालबहादुर खडकाले ऐन निर्माणभन्दा पनि कार्यान्वयन महत्व रहेको सुझाव दिएका थिए ।

उनले भने, ‘यो ऐन तत्काल पारित गरेर लागु गरेमा लागू भए राम्रो हुनेछ ।’ उनले ऐन पारित गर्ने तर, नियमावली, कार्यविधि नबन्दा कार्यान्वयन नहुने गरेको बताए । ‘हामीले स्वरोजगार विकास कोष ऐन पारित गर्यौ तर, त्यसको नियमावली अहिलेसम्म पनि बन्न सकेको छैन । जसका कारण कार्यान्वयन भएको छैन्’ उनले भने, ‘नियमावली बनाउनतिर सरकारको ध्यान जाओस् । अत्यन्तै महत्वपूर्ण ऐन पास गरेका छौं, त्यसलाई पूर्णता दिने र कार्यान्वयन तहसम्म पुर्याउन हामी लाग्नुपर्छ ।’ उनले केन्द्रीय सरकारले हिजो लागू गरेका कार्यविधिको मानसिकता कर्मचारी लागेको देखिएको बताउँदै भने,  ‘त्यसलाई व्यवस्थापन गर्न नसकेमा ऐन कार्यान्वयन गर्नमा पनि अप्ठ्यारो देखिन्छ । ऐनको मर्मअनुसार हाम्रा नियमावली, कार्यविधि बन्नुपर्छ ।’ 

उनले कञ्चनपुर जिल्लामा हात्तीको आतंक अत्याधिक भएको सदनमा जानकारी गराएका थिए । उनले भने, ‘हात्ती आतंकका कारण ३ जनाको मृत्यु भइसकेको छ भने अत्याधिक क्षति पुर्याएको छ । हात्ती आतंक नियन्त्रण गर्नमा पनि प्रदेश सरकारको ध्यान जाओस् ।’

प्रतिपक्षी दल भरतबहादुर खडकाले व्यवसायी र उद्योगका बारेमा नीति बनाएर अघि बढ्नुपर्ने सुझाव दिए । ‘कानुन बनेपछि केही कुराको नियमन त गर्छ तर, हामीले उद्योग धन्दा, करकारखाना, व्यवसायमा आकर्षण गर्ने खालका कुरा उल्लेख गरेनौ’ उनले भने, ‘हामीले कानुन बनाएर मात्रै हुँदैन । यस क्षेत्रको सम्भावना के हो त भन्ने पहिचान गर्यौ । कुन खालका उद्योगधन्दा ? हिजो हामीले अध्ययन गरेका कुटी उद्योगहरु हाम्रै स्रोतबाट सञ्चालन गरेका थियौ तर, आज ती मरेर गए । आज घरेलु उद्योगले धेरै किसिमका तालिम दिन्छन तर, ती व्यहारमा लागु हुँदैन ।’ 

प्रतिपक्षी दल प्रदेशसभा सदस्य मालामति रानाले साझेदारी ऐन कार्यान्वयन भए यस क्षेत्रको आर्थिक विकास र स्वरोजगार बनाउनमा टेवा पुर्याउने बताइन् ।  छलफलमा प्रदेश सभा सदस्य मानबहादुर सुनार, सुशिला बुढाथोकी, टेकबहादुर रैका लगायतले सुझाव राखेका थिए ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप