बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सात महिनादेखि तलव नपाउँदा प्रहरीकै मेसको भरमा छन् बर्थिङ सेन्टरका चिकित्सक

सोमबार, ०५ फागुन २०७६, १३ : १९
सोमबार, ०५ फागुन २०७६

रौतहट । लोकसेवा आयोग पासगरी स्वास्थ सेवामा प्रवेश गरेका अहेव कृष्ण मल्ल रौतहटको पश्चिमी भेग फतुवा विजयपुर नगरपालिका अन्तर्गत विजयपुर बजारस्थित सरकारी बर्थिङ सेन्टरमा कार्यरत छन् ।

उनी निर्धारित कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म नियमित बर्थिङ सेन्टरमा आउने बिरामीलाई सेवा दिन्छन् । बर्थिङ सेन्टरबाट करिब ६०० मिटर टाढा कोठा भाडामा लिएर बस्दै आएका उनी राति बिरामी आएको अवस्थामा पनि बर्थिङ सेन्टर आएर सेवा दिने गर्दछन् ।

झट्ट हेर्दा उनको तलव–सुविधा राम्रै होला भन्ने अनुमान गर्न सकिन्छ । यद्यपि उनले सात महिनादेखि तलव पाउनु त परै जावस्, कोठा भाडा र खाना खाएको पैसा पनि तिर्न सकेका छैनन् ।

फतुवा विजयपुर नगरपालिकाभित्रको विवादले गर्दा उनी सात महिनादेखि तलबविहीन भएका हुन् । उनी बिहान–बेलुका नजिकैको प्रहरी कार्यालयको मेसमा गएर खाना खाने गर्दछन् । 

उनलाई दैनिक नास्ता लगायत अन्य खर्चका लागि पिताले अन्न बेचेर पैसा पठाउने गरेका छन् । ‘धन्न एक्लो छु, हालसम्म बिहे गरेको छैन र गुजारा चलिरहेको छ,’ उनले भने ।

फतुवा बिजयपुर नगरपालिकाका सयौं कर्मचारी, शिक्षक पछिल्लो सात महिनादेखि आर्थिक संकटमा परेका छन् । तलब पाउनको निमित्त शिक्षक तथा कर्मचारीले पटक पटक आन्दोलन गरे पनि हालसम्म तलब पाउन सकेका छैनन् ।

नगरक्षेत्र अन्तर्गतका शिक्षक तथा अन्य कर्मचारीको समेत गरी माघ मसान्तसम्मको तलबमात्र करिब चार करोडको हाराहारीमा बक्यौता भइसकेको छ ।

फतुवा विजयपुर नगरपालिकामा नगर प्रमुख गोपालप्रसाद यादव र उपप्रमुख कान्ती देवीबीचको द्वन्द्वका कारण गत असार मसान्तमा हुनुपर्ने तेस्रो नगरसभा बैठक हालसम्म पनि बस्न सकेको छैन । नगरसभाले निर्णय नगरेका कारण नगर क्षेत्रका २९ विद्यालय, एक मदरसा, ५ स्वास्थ्य चौकी लगायतका कर्मचारीले गत साउनदेखि हालसम्म तलब पाउन सकेका छैनन् ।

गत पुस ११ गते मेयर गोपालप्रसाद यादवको अगुवाईमा तेस्रो नगरसभा सम्पन्न भए पनि उपमेयर कान्तीदेवी महतोले एकतर्फी नगरसभा गरिएको भन्दै उच्च अदालतमा उजुरी गरेपछि उच्च अदालत बिरगंजले उक्त नगरसभा बदर गरेको थियो । उच्च अदालतले फागुन १० गतेभित्र तेस्रो नगरसभा गर्नु भनी मेयर यादवको नाउँमा आदेश जारी गरेको थियो ।

फागुन १० का लागि नगरसभा बैठकको तयारी भइरहे पनि उपप्रमुख महतोले कार्यपालिकाको बोर्ड बैठक बिना विकासको योजनाको सिलिङ नबनाई नगरसभा हुन नसक्ने चेतावनी दिइरहेकी छन् । पुस ११ गतेको सिलिङलाई आधार बनाएर नगरसभा गर्ने हो भने आफुलाई मान्य नहुने उनको भनाइ छ ।

यस्तो अवस्थामा फेरि पनि नगरसभा बैठक हुने हो कि होइन भन्ने चिन्ता आश्रित कर्मचारीहरुमा व्याप्त छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप