बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सोमबार, ०५ फागुन २०७६, १३ : ०७
सोमबार, ०५ फागुन २०७६

काठमाडौं । काठमाडौं, पाँचथर र रुपन्देहीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । 

काठमाडौंको नागार्जुन नगरपालिका-६ स्वयम्भु हाइट गुम्बास्थित सडकमा बा.६५ प ६०१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक तनहुँ भानु नगरपालिका-२ घर भई हाल बुढानिलकण्ठ बस्ने ३० वर्षीय प्रदिप गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी पाँचथरको कुम्मायक गाउँपालिका-३ जयराम घाटस्थित सडकमा आइतबार दिउँसो लु.३ त ४९६२ नम्बरको ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय आश बहादुर लिम्बु ट्याक्टरबाट खस्न गई मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका लिम्बुको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ नयाँमिलस्थित सडकमा पनि  लु.१ च ३८२६ नम्बरको बलेरो गाडी आइतबार दिउँसो अनियन्त्रित भई लु.१९ प ५३७३ नम्बरको मोटरसाइकलाई ठक्कर दिएर दुर्घटना हुँदा बलेरो चालक दाङ राप्ती गाउँपालिका-५ पहरुवा बस्ने २५ वर्षीय आस कुमार चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप