शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चारमाध्यमसँग प्रधानमन्त्रीको गुनासो : मैले बाँसुरी बजाएको फोटो मात्र छाप्छन् (भिडियो सहित)

सोमबार, ०५ फागुन २०७६, १२ : ४६
सोमबार, ०५ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् ।

यसअघि पनि सञ्चारमाध्यमको भूमिका र सञ्चारमाध्यममा आएका समाचार प्रति असन्तुष्टी जनाउँदै आएका प्रधानमन्त्री ओलीले सोमबार उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दे गुनासो दोहो-याएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही सञ्चार माध्यमले फेरि पनि आफूले बाँसुरी नै बजाएको समाचार दिने बताए । आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अर्नगल प्रचार गर्ने गरिएको दुखेसो पनि गरे ।

उनले भने, “कुनै–कुनै सञ्चार माध्यमले यो समाचार दिन भन्दा पनि बाँसुरी बजाएको न्यूज दिन्छन् भोली । दया लाग्छ । देश विकास हुन लाग्दा पिर किन परेको त्यो छक्क लाग्छ । कुनै–कुनै भन्ने शब्द प्रयोग ग¥या छु । कुनै–कुनै भन्ने शब्द बिर्सन्छन् अनि यसो भन्यो भनेर कुनै–कुनै शब्द काटेर पठाउँछन् । भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन् । यो फोटै छाप्दैनन् । ”

उनले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताए । सरकार देश विकासमा अघि बढिरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो पनि उनले गरे । आफुले तुईन विस्तापित गर्छु भन्दै प्रगति पेस गर्दै गर्दा सञ्चारमाध्यमले दार्चुला पुगेर भएपनि तुईनको फोटो खिचेर छाप्ने गरेको गुनासो पनि उनले गरे ।

उनले भने, ‘मैले देखेँ एक जना बुद्धिजीवीले नधम्क्याउनुहोस् प्लीज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारेँ अरे । अनि मलाई चाहिँ यो बौद्धिकता देख्दा दया लाग्छ । देश विकास मजाक होइन । देश विकास आग्रह पूर्वाग्रहको विषय होइन । देश विकास साझा अभिभारा हो । साझा कर्तव्य हो । हामी विकास गरिरहेका छौँ भने खुसी हुनुपर्ने । तुईन विस्थापित भएकोमा रुवाबासी छ कतिको । अचम्म लाग्छ । दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन् । दुईवटा तुईन विस्थापित गर्न बाँकी छ त्यहाँ । कति दुःख गर्या होला ? कठै बरी ।”

उनले सरकारको विकास निर्माण र सुशासनका काम देखेर खुसी हुनुपर्नेमा पिर किन परेको ? भन्दै प्रश्न गरे ।

उनले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत सुदृढीकरण र स्वचालित गर्ने काम रातिमा गरिने भएकाले त्यसले कसैलाई असर नगर्ने स्पष्ट पारे ।

उनले भने “सर्वसाधरण कोही पनि, कसैलाई पनि यसले दुःख दिँदैन । किनभने यो काम आज सुरु मात्रै दिउँसो गरिएको हो । सबैले देखुन् भनेर । सुरु भएको जानकारी होस् भनेर । पत्रकारको पनि निद्रा नबिगारुँ भनेर ।”

प्रधानमन्त्री ओलीले दिनहुँ मुलुक नयाँ प्रविधिको प्रयोग मार्फत विकास र सेवाका लागि सर्मपित हुदै गएको भन्दै आईतबार आफुले झापामा गरेको पुल र बाटोको उद्घाटन तथा सिलन्यासको फेयरिस्त पनि प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप