शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा गुरुङ नियुक्त

आइतबार, ०४ फागुन २०७६, २२ : ४६
आइतबार, ०४ फागुन २०७६

गण्डकी प्रदेश सरकारले प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा गणेशमान गुरुङलाई नियुक्त गरेको छ । कुलपतिमा नियुक्त गुरुङले आज पोखरामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट शपथ लिए ।

स्याङ्जा आँधीखोला गाउँपालिका–१ सिरुबारी स्थायी घर भएका कुलपति गुरुङ संविधानसभाका सदस्यसमेत रहिसकेका छन् । लामो समयदेखि प्राध्यापन क्षेत्रमा आबद्ध उनी विश्वविद्यालय अनुदान आयोगको पूर्वअध्यक्षसमेत हुन् ।

कुलपति नियुक्तिका लागि सरकारले सार्वजनिक आवेदन माग गरेकामा ११ जनाले आवेदन दर्ता गराएका थिए ।

सरकारले सामाजिक विकासमन्त्री नरदेवी पुनको संयोजकत्वमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेल र प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य रहेको कुलपति सिफारिस समिति गठन गरेको थियो ।

समितिले प्राडा गुरुङसहित प्राडा हेमराज सुवेदी र प्राडा वासुदेव काफ्लेको नाम सरकारसमक्ष सिफारिस गरेकामा गुरुङलाई कुलपतिमा नियुक्त गर्ने निर्णय भएको समितिका सदस्य एवं नीति तथा योजना आयोगका उपाध्यक्ष पौडेलले जानकारी दिए ।

प्रदेश सरकारले बजेट कार्यक्रममा नै गण्डकी विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेको थियो । जीवनोपयोगी मूल्यमान्यतामा आधारित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति तयार गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न विश्वविद्यालय विधेयक प्रदेशसभाबाट पारित भई ऐन निर्माण गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप