बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : नेकपाका सांसदले पार्टीलाई मासिक १२ हजार तिर्नुपर्ने, दिल्ली उडे पूर्वराजा

आइतबार, ०४ फागुन २०७६, २० : २९
आइतबार, ०४ फागुन २०७६

वुहानबाट नेपालीलाई ल्याइयो

नेपाल सरकारले कोरोनाभाइरसको केन्द्र चीनको हुबेई प्रान्तबाट १७५ जना नेपालीलाई उद्धार गरी ल्याएको छ । हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। जसमा १७५जना फर्किएका छन् । जसमा दुई जना बालबालिका पनि रहेका छन् ।

दूतावासका अनुसार १८५ जना मध्येबाट चार जनाले उतै बस्ने निर्णय गरेका थिए भने छ जना फर्कन पाएनन् । दूतावासका अनुसार चार जनामा ज्वरो देखिएको थियो भने दुई जना उनीहरूको परिवारका सदस्य हुन् ।
उनीहरुलाई उद्धार गर्न नेपाल वायु सेवा निगमको वाइडबडी विमान पुगेको थियो । विमान आज विहान सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको थियोे ।विमानस्थलबाट उनीहरुलाई सीधै क्वारेन्टाइनका लागि भक्तपुरस्थित खरिपाटी लगिएको थियो । उनीहरु अव १४ दिनको क्वारेन्टाइनमा रहनेछन् ।

त्यसैगरी,लिन गएको विमानका पाइलट, कोपाइलट, परिचारिका तथा कर्मचारीसहित १७ जनालाई एउटा बसमा प्रहरीको स्कटिङसहित बिहान चाँगुनारायण नगरपालिका पिपलबोट स्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा करिब १४ दिन राखिने छ । 

खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका डा.नवीन फुयाँलको नेतृत्वमा नर्ससमेतको स्वास्थ्य टोली रहेको छ । जहाँ सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको छ । 
पहिलो दिन आज स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य जाँच एवम् रगत संकलन गरिएको छ । अरू दिन व्यक्ति स्वयंले स्वजाँच गर्न मिल्ने थर्ममिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुई पटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।

कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ ।

मनोरञ्जनका लागि दुईवटा ब्याडमिन्टन कोर्ट पनि निर्माण गरिएको छ  । अन्य खेलमा क्यारेमबोर्ड, लूडो, बच्चाका लागि बललगायतको खेल खेल्ने व्यवस्था गरिएको छ । 

कोठाभित्रै बस्ने नभइ कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ । खानाको लागि विहान ब्रेकफास्ट,११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ । फोहरलाई तोकिए बमोजिम सुरक्षित ढंगबाट व्यवस्थापन गर्नुपर्नेछ । 

खरिपाटीमा चीनबाट उद्धार गरेर ल्याएका विद्यार्थीहरुलाई राखिएपछि स्थानीयले विरोध गररहेका छन् । उनीहरुलाई आफूहरुलाई कसरी सतर्क रहने भनेर पनि नभनेकालेको विरोध गरीएको बताएका छन् । 
सरकारले भने क्वारेन्टाइनबाट करिब ३ सय मिटर पूर्वतर्फ रहेको सामुदायिक भवनमा स्थानीय बासिन्दाको लागि निःशुल्क स्वास्थ्य जाँच केन्द्रको व्यवस्था गरिएको छ । जहाँ भक्तपुर अस्पतालका चिकित्सहरु खटिनेछन् । जसमा एक जना डाक्टर, एक नर्स र एक एम्बुलेन्स चालकले बिहान ९ बजेदेखि ३ बजेसम्म बस्नेछन् । 

त्यसैगरी, आइतबार बिहान चीनको वुहानबाट नेपालीलाई उद्दार गरेर ल्याएको नेपाल एयरलाइन्सको विमान ४८ घण्टा नउड्ने भएको छ । विहान सवा ३ वजेविमानस्थलमा अवतरण गरेको विमान स्वास्थ्य सतर्कताका लागि ४८ घण्टा नउडाइने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । विमानलाई विमानस्थलको रिर्मोट पार्किङमा राखिएको छ । र, विमानले ४८ घण्टापछि मात्रै नियमित उडानमा जान अनुमति पाउनेछ ।

उता, चीनमा अहिलेसम्म ६८ हजारलाई कोरोनाभाइरसले सङ्क्रमण भएको छ भने मृत्यु हुनेको सङ्ख्या १,६६५ पुगेको छ। केही दिनदेखि संक्रमण हुनेको दर घट्न थालेको अधिकारीहरूले जनाएका छन् । 
चीनबाहेक नेपालसहित २० देशमा झन्डै ५०० जनामा सङ्क्रमण देखिएको छ। फ्रान्स, हङ्कङ, फिलिपिन्स र जापानमा गरी चार जनाको मृत्यु भएको छ। चीन सरकारले यो प्रकोप नियन्त्रण गर्न सकिने बताएको छ ।
शनिवार एकजना चिनियाँ पर्यटकको कोरोनाकै कारण फ्रान्समा मृत्यु भएको छ। कोरोनाभाइरस संक्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो ।

महराको अन्तिम सुनुवाइ भोलि

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार भएको अन्तिम बहस सकिएको हो ।अन्तिम सुनुवाइ जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा चलेको थियो। महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लभ मैनाली, दिनमणि पोखरेललगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायतका वकिलहरुले बहस गरेका थिए ।

संघीय संसदसचिवालयमा कार्यरत कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । सोमबार आउने बताइएको छ । 

ललिता निवास 

बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका आरोपितविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा १ सय ७५ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

सीआईबीका प्रमुख डीआईजी निरज शाहीका अनुसार गृहमन्त्रालयको जाहेरीको आधारमा उनीहरुविरुद्ध ठगी मुद्दा दर्ता भएको हो ।मुद्दा दर्ता भएसँगै आरोपित बनाएकालाई पक्राउ गरेर सीआईबीलाई थप अनुसन्धान अगाडि बढाउने बाटो खुलेको डीआईजी शाहीले बताए । 

 आरोपितहरू अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुनसक्छ व्यवस्था रहेको छ ।

ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते पूर्व उपप्रधामन्त्री विजय गच्छदारसहित ११० जनालाई बिगो र कैद तथा ६५ जनाविरुद्ध जग्गा फिर्ताको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।


नेकपाका सांसदले १२ हजार लेवी तिर्नुपर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संघीय सांसदहरुले पार्टीलाई मासिक १२ हजार रुपैयाँ लेवी तिर्नुपर्ने भएको छ । नेकपाले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सम्बन्धमा भने हालसम्म ठोस निर्णय गरेको छैन । 

२०७४ बैशाखमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाले पछिल्लो पटक संघीय संसदले पार्टीलाई तिर्नुपर्ने लेवीका सन्दर्भमा औपचारिक निर्णय लिएको हो । यसअघि दुबै पार्टीले तत्कालीन एमाले र माओवादीकै हैसियतमा पार्टीलाई लेवी तिर्दै आएका थिए । 

यस्तै नेकपाले पूर्णकालीन केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूका लागि मासिक रुपमा निर्वाह खर्चको प्रबन्ध समेत गर्ने भएको छ । 

गत माघ १५ देखि १९ गतेसम्म सम्पन्न केन्द्रीय समिति बैठकसम्पन्न भएसँगै हालै नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन अर्थात सर्कुलरमा पार्टी सदस्यता शुल्क बढी भएको स्वीकार्दै यसबारे उपयुक्त निर्णय लिने समेत उल्लेख गरिएको छ । सो सर्कुलर पार्टीको तल्लो तहमा पुगिसकेको छ । 

‘बैठकले पार्टी सदस्यता तथा संगठित सदस्यता शुल्क बढी भयो भन्ने महशुस गरेको छ । यस सम्बन्धमा सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल गरी उपयुक्त निर्णय गरिनेछ’, अन्तरपार्टी निर्देशनमा भनिएको छ । 
यस्तै पार्टीको केन्द्रीय सचिवालयबाट जारी भएको आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र अनुभव एवम् आवश्यकताका आधारमा त्यसलाई परिमार्जन गर्दै लगिने पनि नेकपाले जनाएको छ । 

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डद्वारा जारी गरिएको सर्कुलरमा पार्टीका औपचारिक कार्यक्रमहरूमा माक्र्स, लेनिन, संस्थापक नेता पुष्पलाल र जननेता मदन भण्डारीका तस्वीर राखिने र पार्टीमा हाल बहुपदीय प्रणाली नै अवलम्बन गरिने उल्लेख छ ।  तर पार्टी कामको आवश्यकता र अनुभवले कुन तहको पार्टी कमिटी वा निकायहरूमा कति संख्यामा कुन–कुन पदको व्यवस्था गर्ने भन्ने सन्दर्भमा आगामी महाधिवेशनसम्म पुगेर निर्णय लिइने नेकपाले जनाएको छ । 

 पार्टीमा गुटबन्दीको अन्त्य गर्ने, आपसी अन्तरघुलनलाई तीब्रता दिने र पार्टी एकतालाई सबल तुल्याउने अठोट गरिएको पनि सर्कुलरमा उल्लेख छ ।

पत्नी कोमलसहित पूर्वराजा ज्ञानेन्द्र शाह दिल्ली उडे
पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित दिल्ली भ्रमणमा निस्केका छन् ।


शाह आइतबार अपरान्ह ५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली भ्रमणमा निस्केका हुन् । उनी दिल्लीबाट भारतको पञ्जाबस्थित अमृतसर पनि जाने शाहका निकटकस्थहरुले बताएका छन् ।

शाहले यसअघि पश्चिम बङ्गालको पनि शक्तिपीठहरुको भ्रमण गरेका थिए ।

दिगो विकास समिति

सांसदहरुले उपत्यका बाहिरका स्थानीय तहहरुका न्यायीक समितिहरुको अनुमगनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् । 

दिगो विकास तथा सुशासन समिति बैठकमा काठमाडौं र ललितपुर महानगरपालिकाको न्यायीक सम्पादनको अनुगमनले मात्रै निष्कर्षमा पुग्न नहुने भन्दै अन्य स्थानीय तहको न्यायीक समितिको अवस्थाका विषयमा अनुगमन गर्नुपर्ने सुझाव आएको हो । समितिले केही समय अघि दुबै महानगरको न्यायीक समितिहरुको अनुगमन गरेको थियो । सांसद दिनानाथ शर्माले स्थानीय तहका न्यायीक समितिहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने र अनुगमनलाई पनि तिव्रता दिनुपर्ने सुझाव दिए । 

सांसद विमला राईले अनुमगन गरिएको नगरपालिकाहरुमा धेरै चाप भएपनि न्यायीक समितिहरुको काम प्रभावकारी रहेको बताइन् । 

सहकारीका कुरा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सहकारी संस्थाहरु सम्पत्ति शुद्धीकरणका हिसाबले अत्यन्त जोखिममा रहेको बताएका छन् । 

‘सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण’ सम्बन्धी कार्यक्रममा महानिर्देशक भट्टराईले सहकारीमा भ्रष्टाचार, ट्याक्स छलि भएको रकम आउन सक्ने जोखिम उच्च रहेको बताएका हुन् । 

 त्यस्तै सहकारी क्षेत्रमा मानिसको दवाव र बैंकिङ अपराध बढ्न सक्ने उच्च जोखिम समेत रहेकोले त्यसको सुपरिवेक्षणमा सहकारी विभागले आफ्नो सक्रियता बढाउनुपर्ने बताए । 

पद्मा अर्याल

सहकारीमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताएकी छिन् । 

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । 
 मन्त्री लर्यालले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषको मनाउने दुषित मनसायका आँखा लगाउने कुरा सैह्य नहुने बताइन् । 

भूपू गोर्खा सैनिक

भूतपूवर्ष ब्रिटिस गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पुरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन् । 

बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मुल्यांकन नभएको र मानविय व्यवहार समेत नगरेको भन्दै लामो समयदेखि संघर्षरत गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पुरा गर्न चेतावनी दिएका हुन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भूपू गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ती, बयस्क छोरा छोरीहरुलाई बेलायतमा निशर्त आवासिय भिसा दिनुपर्ने माग गर्दै भूपू गोर्खा सैनिकहरुले आमरण अनसनको चेतावनी दिएका हुन् । 

ट्राफिक प्रहरी

काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङका बिभिन्न स्थानबाट बरामद गरी ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ । 

महानगरिय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएका मोटरसाइकल र चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको हो । 

प्रहरी उपरिक्षक तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले मोटरसाइकल हराएको उजुरी परेपछि अनुसन्धानका क्रममा काठमाडौं र धादिङका विभिन्न स्थानबाट चारवटा मोटरसाइकल फेला पारेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप