शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालको एक इन्च भूमि छाड्दैनौँ : उपप्रधानमन्त्री पोखरेल

आइतबार, ०४ फागुन २०७६, १८ : २२
आइतबार, ०४ फागुन २०७६

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमि अरूलाई एक इन्च पनि नछाडिने बताएका छन् । दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्दै पछिल्लो समय कालापानी लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेपछि नेपाल सरकारले कूटनीति पहल थालेको बताएका हुन् । 

“हाम्रो भूमि न अरूलाई एक इन्च छोड्छौ, न अरूको एक इन्च जमीन माग्छौँ, हाम्रो नेपालको भूमि मिच्न कदापि दिँदैनौँ”, रक्षामन्त्रीसमेत रहेका पोखरेलले भने “भूमि अतिक्रमण सह्य हुँदैन, सहदैनौँ ।” भारतले मिचेको क्षेत्रको व्यास गाउँपालिकाको कालापानी क्षेत्र भ्रमणमा निस्कन लागेको भन्दै उनले सरकारले मिचिएको भूमिको छिनोफानो गर्ने बताए ।

केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले पहिलोपटक भारतसँग सीमाका विषयमा कूटनीति नोट लेखेको भन्दै उनले भने, “विवादित भूमि फिर्ता गराएरै छाड्छौँ ।” नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा नेपालका सबै राजनीतिक दलको साझा एजेन्डा रहेको उल्लेख गरे ।

उनले निर्माणाधीन तिङ्कर सडकलाई नेपाली सेनामार्फत सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । विसं २०६४÷६५ देखि निर्माण शुरु भएको व्यासको तिब्बत जोड्ने सो सडकलाई नेपाली सेनाले निर्माण गर्न लागेको जानकारी गराए । सांसद गणेशसिंह ठगुन्ना लगायतका नेताहरुको निरन्तर पहलकदमीका कारण निर्माणाधीन दार्चुला तिङ्कर सडकलाई नेपाली सेनामार्फत निर्माण गरिन लागेको रक्षामन्त्री पोखरेलले बताए । 

झण्डै ११ वर्षअघिबाट निर्माण शुरु भएको तिङ्कर सडकखण्डअन्तर्गत खलङ्गादेखि माथि ४० किलोमिटर क्षेत्रफल मात्रै ट्र्याक खुलेको छ । महाकाली करिडोरअन्तर्गत राखिएको सो सडकको कूल लम्बाइ ४२५ किलोमिटर छ । कञ्चनपुरको ब्रह्मदेवदेखि तिङ्करसम्मको विभिन्न खण्डमा कूल १२५ किलोमिटर सडकको ट्याक खुलेको दार्चुल तिङ्कर सडक योजनाले जनाएको छ । दार्चुला तिङ्कर सडकको व्यास गाउँपालिका सुनसेराभन्दा माथिल्लो तिङ्कर भञ्जाङसम्मको झण्डै ८७ किलोमिटर सडकको ट्र्याक खोल्न नेपाली सेनालाई दिने तयारी थालिएको हो ।

उनले दार्चुलाको व्यास कालापानी क्षेत्रमा सशस्त्र प्रहरी राख्ने विषयमा समेत भूगोलको निरीक्षण गरिने बताए । अहिले नेपाल, भारत र चीनसँग सीमा जोडिएका सबै क्षेत्रमा सुरक्षाकर्मी थप्ने काम भइरहेको छ । उनले भने, “दार्चुलाको तिङ्करमा पनि छिट्टै सुरक्षाकर्मीको पोष्ट स्थापना हुनेछ ।” सीमाको रक्षाको विषयमा वर्तमान सरकार स्पष्ट रहेकाले राष्ट्रको स्वाभिमान गुम्न नदिने बताए । 

उनले फरक प्रसङ्गमा दार्चुलाको सङ्घीय सरकारमा प्रतिनिधित्व छिट्टै हुने बताए । “विगतदेखि दार्चुलाका जनताले जिताएर पठाएका नेतालाई हामी छिट्टै सरकारमा प्रतिनिधित्व गराउँछौँ”, उनले भने, “यो मेरो वचन हो ।” नेपाली सेनाको हेलिकोप्टरमार्फत सदरमुकाम खलङ्गा पुगेका मन्त्री पोखरेलले महोत्सवको उद्घाटनपछि जिल्लास्थित कार्यालय प्रमुखसँग छलफलमा सहभागी भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप