बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैठक नबसेपछि राजपाको गतिविधि ठप्प : उपसभामुख र एकीकरण अन्यौलमा

आइतबार, ०४ फागुन २०७६, १७ : १५
आइतबार, ०४ फागुन २०७६

काठमाडौँ ।  महेन्द्र राय यादव राष्ट्रिय जनता पार्टी (नेपाल) को अध्यक्षमण्डलको संयोजक बनेको ठीक एक महिना भइसक्यो । तर, यो अवधिमा उनले पार्टीको एउटा पनि बैठक बोलाउन सकेका छैनन् ।

दुई–दुई महिनाको चक्रिय प्रणाली अनुसार राजेन्द्र महतोपछि महेन्द्र राय यादव माघ ५ गते अध्यक्षमण्डलको संयोजक बनेका थिए तर एक महिना बित्दा पनि उनले अध्यक्षमण्डलको बैठक बसाउन नसकेका हुन् ।

राष्ट्रियसभा निर्वाचनका लागि राजपा नेपालले नेकपासँग दुई बुँदे सम्झौता गरेको थियो । सम्झौताको पहिलो बुँदाअनुसार राष्ट्रियसभा चुनावमा परिणाम पनि सकारात्मक आयो । सम्झौताको अर्को बुँदा अनुसार अगामी दिनमा सहकार्य र छलफल गर्ने भनिएको छ । तर त्यस विषयमा पनि कुरा अगाडि बढ्न सकेको छैन ।

संघीय सरकारमा सहभागितादेखि लिएर प्रदेश २ को सरकार परिवर्तन तथा उपसभामुख चयन लगायतको विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्णयको प्रतिक्षामा छ । तर राजपा नेपालले कुनै पनि विषयमा निर्णय लिन सकिरहेको छैन ।

राजपा नेपालले उपसभामुख पदमा दावी गरेको छ । ‘यो संवैधानिक पद हो, यसमा हाम्रो दावी छ,’ राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘राजपा नेपाललाई स्वभाविक रुपमा उपसभामुख चाहिन्छ तर त्यसको लागि पार्टीमा निर्णय हुनु आवश्यक छ । तर अध्यक्षमण्डलका सदस्यहरुले बैठक नै बोलाइएको छैन ।’

अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले भन्छन्, ‘बैठक चाँडै नै बस्नेछ । नेताहरु व्यस्त भएको कारण त्यसमा ढिलाइ भएको हो ।’

बैठकको माग गर्दै राजपा नेपालका उपाध्यक्षहरु सर्वेन्द्रनाथ शुक्ला, वृषेशचन्द्र लाल, गोविन्द चौधरी लगायतका नेताहरुले अध्यक्षमण्डलका संयोजकलाई ज्ञापनपत्र नै बुझाएका थिए । सरकारमा जाने विषयदेखि लिएर उपसभामुख चयन लगायतको विषयमा पार्टीले निर्णय गर्नुपर्ने पार्टीका नेताहरुको माग रहेको छ । ज्ञापनपत्र बुझेपछि संयोजक यादवले चाँडै नै बैठक बस्ने जवाफ दिएका थिए । तर हालसम्म पनि बैठक बसेको छैन ।

बैठक नबसेको कारण समाजवादी पार्टीसँगको एकीकरणको विषय पनि ठप्प छ । त्यसको बारेमा कुनै वार्ताहरु भएका छैनन् । पार्टीको गतिविधिहरु पनि ठप्प छ । पार्टीले महाधिवेशन महाधिवशेन कहिले हुने हो त्यसको पनि टुङ्गो छैन । 

२०७५ वैशाखमा निर्वाचन आयोगलाई अध्यक्ष मण्डलले एकीकरण भएको दुई वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरी विधान सच्याएर बुझाएर २०७६ वैशाख ७ देखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर तोकिएको मितिमा महाधिवेशन हुन सकेन ।

२०७६ वैशाख ८ देखि ११ गतेसम्म बसेको राजपाको पदाधिकारी बैठकले तेस्रो पटक विधान संशोधन गर्दै एकीकरण भएको तीन वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख गरेर असार २९ गते निर्वाचन आयोगलाई जानकारी गरायो र २०७६ कात्तिक २८ देखि ३० गतेसम्म महाधिवेशन गर्ने मिति तोकेको थियो । तर सो समयमा पनि महाधिवशेन हुन सकेन । समाजवादी पार्टीसँग एकीकरण गरेर मात्र एकताका महाधिवेशन गर्नुपर्ने राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारीको अडान थियो । त्यसबाहेकका नेताहरु महन्थ ठाकुर, अनिल झा, राजकिशोर यादवले पहिला पार्टीको महाधिवेशन गरेर पार्टी व्यवस्थित भएपछि मात्र एकीकरण गर्ने अडानमा थिए ।

‘अहिले दुई पक्षको यस्तै अडानका कारण न पार्टी एकीकरण भयो न महाधिवेशन नै भयो । अब एकीकरण र महाधिवेशन दुवै अन्योलमा छ । यी विषयहरुको टुगा लगाउनका लागि पार्टीको नियमित बैठकहरु बस्नुपर्छ तर बैठक नै बस्दैन,’ पार्टीका महासचिव राजकुमार लेखीले बताए ।

पार्टी एकीकरण भएको चार वर्ष बित्दा पनि हालसम्म पार्टी पूर्ण रुपले समायोजन भएको छैन । जिल्ला समितिहरु बन्न सकेका छैनन् । जहाँ बनेको छ, त्यहाँ पनि विवाद छ । प्रायः जिल्लामा समानन्तर समितिहरु गठन भएका छन् । भातृ संगठनहरुको पनि समायोजन हुनसकेको छैन ।

यतिबेला, राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादव भारत भ्रमणमा छन् । अध्यक्षमण्डलका सदस्य अनिल झालाई पितृ शोक परेको छ । संयोजक यादवले नेताहरु काठमाडौं आउँदैछन् चाँडै नै सल्लाह गरेर बैठक बसाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप