बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तीन बैङ्क चम्किँदा वाणिज्य बैङ्कलाई विकास बैङ्कले जित्यो

भर्खरै उदाएको शाइन पाँचौं स्थानमा
आइतबार, ०४ फागुन २०७६, १६ : ४३
आइतबार, ०४ फागुन २०७६

काठमाडौं । नाफाको वृद्धिमा वाणिज्य बैङ्कहरु भन्दा विकास बैङ्क अगाडि देखिएका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ती बैङ्कहरुले बढाएको नाफा वाणिज्य बैङ्कको औसत नाफा वृद्धिभन्दा दोब्बर देखिएको हो । यो अवधिमा विकास बैङ्कहरुको औसत नाफा वृद्धि १५.४५ प्रतिशत पुगेको छ जबकि यो वर्ष वाणिज्य बैङ्कहरुको नाफा वृद्धिदर एकल अंकमा सीमित देखिएको थियो ।

अहिले राष्ट्रिय स्तरका १० वटा बैङ्क सञ्चालनमा छन् । ती बैङ्कहरुले पुस महिनासम्म ३ अर्ब २ करोड ४६ लाख रुपैंया नाफा कमाएका छन् । अघिल्लो वर्षको पुससम्म हाल कायम रहेका १० ओटा विकास बैङ्कले जम्मा २ अर्ब ६१ करोड ९९ लाख रुपैंया नाफा कमाएका थिए ।

मुक्तिनाथ विकास बैङ्कले सबैभन्दा बढी ४७ करोड २५ लाख, गरिमाले ३२ करोड ५५ लाख, कैलाश विकास बैङ्कले ३१ करोड ५१ लाख, महालक्ष्मी विकास बैङ्कले ३० करोड ५१ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ३० करोड ८ लाख, ज्योति विकास बैङ्कले २८ करोड ८ लाख, लुम्बिनी विकास बैङ्कले २५ करोड २१ लाख, गण्डकी विकास बैङ्कले २४ करोड ५० लाख, सांग्रिला डेभलपमेन्ट बैङ्कले १९ करोड १४ लाख, देव विकास बैङ्कले १८ करोड ७८ लाख तथा कामना सेवा विकास बैङ्कले १४ करोड ८५ लाख रुपैंया कमाउँदा नाफा ३ अर्ब माथि पुगेको हो ।

यो वर्ष नाफा वृद्धिमा ज्योति विकास बैङ्क निकै आक्रामक देखिँदा महालक्ष्मी विकास बैङ्क र शाइ रेसुङ्गा डेभलपमेन्टले पनि त्यसलाई पच्याइरहेका छन् । ज्योतिको नाफा ६४.७९ प्रतिशतले बढ्दा महालक्ष्मी र शाइनको क्रमशः ५४.४० प्रतिशत र ५१.१६ प्रतिशत वृद्धि भए । तर अरु बैङ्कको नाफा वृद्धि भने औसत भन्दा पनि तल रह्यो ।

यो अवधिमा मुक्तिनाथ र गरिमाको नाफा वृद्धि १० प्रतिशत तथा कामना सेवा विकास बैङ्क र कैलाश विकास बैङ्कको नाफा ७ प्रतिशतको हाराहारीमा रहँदा अरु बैङ्कहरुको भने उल्लेख्य प्रगति देखिएन । यो अवधिमा लुम्बिनी विकास बैङ्क र सांग्रिला डेभलपमेन्ट बैङ्कको नाफा स्थिर रहँदा देवः विकास बैङ्क र गण्डकी विकास बैङ्कको नाफा भने यो अवधिमा घट्न पुगेको छ ।

 

भर्खरै उदाएको शाइन पाँचौँ स्थानमा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले मंसिर २६ गतेदेखि मात्रै राष्ट्रिय स्तरको विकास बैङ्कको दर्जा पाएका हो । राष्ट्रिय स्तरको विकास बैङ्क बनेपछि पहिलोपटक त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको सो बैङ्क नाफाका आधारमा विकास बैङ्कहरु मध्येमै पाचौं बनेको छ । बैङ्कले भार्गव बैङ्क र पूर्णिमा विकास बैङ्कलाई आफूमा गाभेर राष्ट्रिय स्तरको रुपमा उदाएको हो ।

नाफाका आधारमा मुक्तिनाथ, गरिमा, कैलाश र महालक्ष्मी विकास बैङ्क यो बैङ्कभन्दा अगाडि छन् । त्यसमध्ये कैलाश विकास बैङ्क प्राइम बैङ्कमा विलय हुने तयारीमा छ । त्यसो त देव विकास बैङ्क कुमारी बैङ्कमा र गण्डकी विकास बैङ्क मेगा बैङ्कमा विलय हुने सम्झौता गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप