आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

बैंकिङ्ग अपराध बढ्न सक्ने उच्च जोखिममा सहकारीहरु (भिडियो सहित)

आइतबार, ०४ फागुन २०७६, १६ : ३३
आइतबार, ०४ फागुन २०७६

काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सहकारी संस्थाहरु सम्पत्ति शुद्धीकरणका हिसाबले अत्यन्त जोखिममा रहेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित ‘सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण’ सम्बन्धी कार्यक्रममा महानिर्देशक भट्टराईले सहकारीमा भ्रष्टाचार, ट्याक्स छलि भएको रकम आउन सक्ने जोखिम उच्च रहेको बताएका हुन् । 

त्यस्तै सहकारी क्षेत्रमा मानिसको दवाव र बैंकिङ्ग अपराध बढ्न सक्ने उच्च जोखिम समेत रहेकोले त्यसको सुपरिवेक्षणमा सहकारी विभागले आफ्नो सक्रियता बढाउनुपर्ने महानिर्देशक भट्टराईको भनाई छ । 

‘सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग आफै अनुसन्धानमा जाने भन्दा पनि नियामक निकायहरुसँगको सहकार्यमा काम गर्नुपर्छ’, महानिर्देशक भटराईले भने ।

सम्पत्ति शद्धीकरणका लागि सहकारी क्षेत्रमा देखिएको कर्मचारीको क्षमता र ज्ञान नै मुख्य चुनौति रहेकोले सहकारी संस्थाहरुले प्राविधिक उपकरण र क्षमता बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ । 

महानिर्देशक भट्टराईले सहकारी संस्थाहरुले पनि ग्राहकको के.वाइ.सी. भर्ने, पैसा लिने तर संकास्पद भए रिपोर्टिङ गर्ने काम गर्नुपर्ने बताए । त्यसो गर्न नसक्ने र लुकाएर राख्ने गरेको पाइए सहकारी संस्था कारबाहीमा पर्ने उनले बताए । 

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले विभागले जारी गरेका निर्देशनहरु सहकारी संस्थाहरुलाई अक्षरस परिपालना गर्न निर्देशन दिए । उनले सम्पत्ति शुद्धीकरण निवारणको कार्यमा अन्तर्राष्ट्रिय दायित्व भएकोले पनि यो विषयमा जानकारी भएन भनेर छुट नहुने बताए । 

उनले सम्पत्ति शुद्धीकरणमा अहिलेसम्म केही संस्थाहरुलाई कारबाही गरिएको, केहीलाई सचेत गराइएको र केहीलाई छानविनमा ल्याइएको उल्लेख गर्दै गलत गर्नेलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्ने बताए । उनले सम्पत्ति शुद्धीकरण न्यूनिकरणका लागि बैंकिङ क्षेत्रमा गोएमएल लागू भइसकेको र सहकारी क्षेत्रमा पनि लागू गर्ने तयारी विभागले गरिरहेको बताए । 

बैंकिङ्ग क्षेत्रमा आफ्नो पैसा राख्न स्रोत खुलाउने पर्ने कारणले सहकारी क्षेत्रमा त्यस्तो रकम आउन सक्ने भन्दै विभागले अनुसन्धानमा सक्रियता बढाएको समेत उनको भनाई छ । रजिष्ट्रार पाण्डेले सम्पत्ति शुद्धीकरण निवारण कार्यान्वयनका लागि सहकारी विभागको रजिष्ट्रारको संयोजकत्वमा कार्यान्वयन समिति समेत गठन गरिएको बताए ।

उनले पछिल्लो समय सहकारी संस्थाहरुले कारोबारका आधारमा एस.टी.आर. र टी.टी.आर.को रिपोर्ट नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा पठाईराखेको र त्यसको बोधार्थ सहकारी विभागमा पनि आउन सुरु भइसकेको बताए । 

त्यसले सम्पत्ति शुद्धीकरण न्युनिकरणमा दायित्व परिपालनाका लागि योजना बनाउने र कार्यान्वयन गर्ने कार्यलाई अगाडि बढाउन सहज भएको उनको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप