शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अनुभवी गाइड बिना नै पदयात्रामा निस्कदा दुर्घटना

आइतबार, ०४ फागुन २०७६, १२ : ०८
आइतबार, ०४ फागुन २०७६

पोखरा । हिमाली भेगमा मौसम कतिबेला के हुन्छ पत्तै हुँदैन । मौसमबारे जानकारी नलिइ यात्रामा निस्किदा जोखिमपूर्ण हुन्छ । एक महिनाअघि मात्र विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण पदमार्गमा ७ जना बेपत्ता भए । हराउनेमध्ये ४ जना कोरियाली नागरिक थिए भने ३ जना नेपाली । हिमपात र हिमपहिरोबीच हराएका उनीहरु अझैसम्म भेटिएका छैनन् । उनीहरुको खोजीमा पर्यटन व्यवसायीहरुदेखि ट्रेकिङ एजेन्सिज एसोसियसन (टान) सम्मले गरेको प्रयासले सकारात्मक नतिजा ल्याउन सकेन ।

छोम्रोङ पर्यटन व्यवसायी समितिका अध्यक्ष बुद्धिमान गुरुङका अनुसार हिमाली भेगबारे अनुभवी पथप्रदर्शक नहुँदा यस्ता दुर्घटनाहरु निम्तिने गर्छन् । ‘हराइरहेका सात जनासँग भएको त्यही हो । अनुभवी गाइड र मौसमबारे जानकारी नहुँदा उनीहरु हिमपहिरोमा परे । घुम्न आउने पर्यटकहरुलाई त त्यहाँको मौसमबारे थाहा हुन्न,’ अध्यक्ष गुरुङले भने, ‘कतिबेला कहाँ कस्तो खालको घटना घट्छ भन्ने थाहा हुँदैन । उनीहरुलाई घुमाउन लगेको गाइडहरुले पनि त्यति जानकार हुँदैनन् । त्यसैले पनि दुर्घटना हुने गर्छ ।’

हिमाली भेगमा घुम्न निस्किदा स्थानीयसँग सल्लाह लिनु जरुरी हुने उनी ठान्छन् । ‘कमसेकम स्थानीयसँग मौसमबारे जानकारी लिँदा दुर्घटनाहरु कम हुन सक्छ । घुम्न निस्किदा स्थानीय व्यवसायीहरुसँग मौसमबारे सल्लाह लिनु भयो भने यस्ता खालका दुर्घटनाहरु कम हुन सक्छन्,’ उनले भने ।

कपितपय त गाइड/पोर्टर बिना नै हिमाल घुम्न निस्किने गरेको उनले सुनाए । गाइड नै लिएर आए पनि सक्षम गाइड लिएर आउँदैनन् । ‘बोल्नमा ‘एक्टिभ’ छ । तर, त्यहाँको भौगोलिक अवस्थाबारे उनीहरु जुधेको अवस्था छैन,’ उनले भने, ‘ उनीहरुले बाटो चिन्छन् । तर, प्रतिकुल मौसमसँग कसरी जुझ्ने भन्ने उनीहरुलाई थाहा हुँदैन । हिमपहिरो आइ हाले पर्यटकहरुलाई कसरी सेभ गरेर क्रस गराउने ? कसरी उद्धार गर्ने ? भन्ने उनीहरु अनभिज्ञ हुन्छन् ।’ ट्रेकिङ एजेन्सीहरुले आफ्नो मान्छे भएकै नाताले अनुभव नभएका गाइडसँग पर्यटक पठाउने गरेकोमा उनको गुनासो छ ।

पहिले लामो समयसम्म पोर्टरको रुपमा काम गरेर मात्रै पथप्रदर्शक हुन्थे । भूगोल र मौसमबारे जानकारी राख्थे,’ उनले दुखेसो पोखे, ‘अहिले त नयाँ नयाँ युवाहरु आउँछ । नयाँ पिढीहरुले यो बुझ्न जरुरी छ ।’

यस्ता दुर्घटनाले आफूहरुलाई मात्र घाटा नभइ सिङ्गो राष्ट्रलाई नै घाटा हुने उनको मत छ ।

तालिम लिएर गाइड

ट्रेकिङ एजेन्सिज एसोसियसन (टान) को काम हो हिमाली भेगमा घुमाउँन सक्षम पथ प्रर्दशकको छनौट गर्ने । काठमाडौँ र पोखरामा पथ प्रदर्शकको लागि तालिम दिने र सर्टिफिकेट दिने गरिन्छ । पोखरामा र काठमाडौँमा बसेर सजिलै सर्टिफिकेट लिने गाइडले हिमाल घुमाउँदा दुर्घटा हुने जोमिख हुन्छ ।

पदयात्री/पथप्रदर्शकलाई अरु बेला १० दिनमा सकिने ट्रेक हिमपातको बेलामा अलि लामो समय छुट्याउनु पर्ने उनी सुझाव दिन्छन् । हिमपात नहुँदा छिटो समयमा दूरी पार गर्न सके पनि हिमपात हुँदा नसकिने उनले बताए ।

अरु बेला १० दिनमा एबीसी घुम्न सकिन्छ भने हिमपात हुँदा सकिन्न,’ उनले भने, ‘हिमपात भयो भने त रोकिनुपर्छ । खतराबाट बच्नको लागि त वेटिङ गर्नुप-यो । हिमपात रोकिनु प-यो, हुस्सु हटेर मौसम सफा हुनुप-यो ।’

मौसम सफा भएर हिँड्दा हिमपात भए पनि छल्न सकिने उनले बताए । एक महिना अघि हिमपहिरोमा परि बेपत्ता भएको घटना स्मरण गर्दै उनले भने, ‘उहाँहरुलाई छिटो दुरि पार गर्नुपर्ने थियो । समय पनि थिएन । जसरी पनि जानै पर्छ भन्ने थियो ।’

यो सिजनमा पदयात्रामा निस्किदा समय लम्ब्याएरै आउन पर्ने उनको सुझाव छ । अक्टोबर नोभेम्बरमा कुनै खतरा नभए पनि हिमपातको समयमा पदयात्रामा निस्किदा विशेष सजगता अपनाउनु पर्ने उनले सुझाव दिए । यसमा ट्रेकिङ कम्पनीदेखि गाइड पनि सजग रहन पर्ने उनी बताउँछन् ।

‘सूचना दिँदा पनि यो कुरा समेटिनु पर्ने हो । ट्रेकिङ कम्पनीहरुले पनि बुकिङ गर्दा त्यही अनुसारले बुकिङ गर्नुपर्छ,’ उनले भने ।

पदमार्गमा मौसमबारे जानकारी दिने उपकरण नहुँदा पनि समस्या पर्ने गरेको उनले उल्लेख गरे । मौसमबारे पूर्व जानकारी हुँदा दुर्घटना कम हुने उनको राय छ । त्यसको लागि प्रदेश सरकार र स्थानीय सरकारसँग पनि माग गरिरहेको उनले बताए ।

समितीका सचिव दिलिप गुरुङले हिपहिरोमा बेपत्ता ७ को खोजी कार्यमा स्थानीय पर्यटन व्यवसायीहरु एकताबद्ध भएर जुटि रहेको बताए । बेपत्ता ७ मध्ये केहीका सल, टोपी लगायतका सामान भेटिएको उनले सुनाए ।

हिमपहिरो गएको ठाउँ हिंकु केभ र देउरालीकोबिचमा सानो खोला बग्ने भएकाले पनि उक्त ठाउँमा हिमपहिरोको समस्या बढी हुने गरेको उनले जानकारी दिए । पूर्व सर्तकता अपनाएर पदयात्रामा निस्किदा दुर्घटनाबाट बच्न सकिने उनको भनाई छ ।

हिमपहिरोमा परेर पदयात्री बेपत्ता बनेपछि बन्द रहेको पदमार्ग खुलेको जानकारी दिन छोम्रोङ पर्यटन व्यवसायीहरुको टोली पोखरामा झरेको थियो । अनिश्चितकालको लागि बन्द रहेको अन्नपूर्ण बेसक्याम्प (एबीसी) ६ दिन अघिदेखि खुलेको छ । एबीसी पूर्ण रुपमा खुलिसकेको र ढुक्क भएर पदयात्रामा आउन उनले पर्यटकरुलाई आग्रहसमेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप