बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाको सवारी जाम अन्त्य गर्न समिति गठन

आइतबार, ०४ फागुन २०७६, ११ : ०२
आइतबार, ०४ फागुन २०७६

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ तुल्याउने सन्दर्भमा स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गरी आवश्यक सुझाव पेश गर्न समिति गठन गरेको छ ।

महाशाखाका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक जीवन श्रेष्ठको संयोजकत्वमा प्रहरी निरीक्षक दामोदर सिलवाल र अवकाश प्राप्त प्रहरी निरीक्षक सीताराम हाछेथु सदस्य रहेको समितिले उपत्यकाका प्रमुख स्थानमा सवारी जाम हुनुको कारण पहिचान गर्नुका साथै सवारी आवागमन सहज तुल्याउन तत्काल गर्नुपर्ने सुधारका बारेमा सुझाव पेश गर्ने जनाइएको छ ।

महाशाखा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार उपत्यकाको सवारी जामलाई घटाउने उद्देश्यले जनचेतनामुलक कार्यक्रम, ट्राफिक लाइट लगायत सुधारका विभिन्न प्रयास भए पनि सार्थक नतिजा आउन नसकेका कारण विस्तृत अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गरिएको हो ।

समितिले सवारी जाम बढी हुने गरेका ‘कोर एरिया’ मा गएर अध्ययन गर्ने, स्थानीयस्तरमा छलफल गर्ने र सोहीअनुसार सवारी जाम कम गर्न तत्काल सुधार गर्नुपर्ने विषय पहिचान गरी सुझाव दिन सक्ने महाशाखा प्रमुख ढकालले रातोपाटीलाई जानकारी दिए ।

‘भइरहेकै स्रोत र साधनलाई उपयोग गरेर तत्काल परिणाम देखा पर्ने गरी लागू गर्न सकिने उपायहरु पहिचान गरी समितिले हामीलाई सुझाव दिनेछ,’ उनले भने, ‘समितिको सुझावलाई हामी तत्कालै कार्यान्वयनमा लैजान्छौँ ।’

समितिले चाबहिल, महाराजगञ्ज, कोटेश्वर, लैनचौर, कालीमाटी लगायतका क्षेत्र, खासगरी चक्रपथभित्र ‘पिक आवर’मा अत्यधिक जाम हुने स्थानमा सवारी आवागमन सहज तुल्याउन चाल्नुपर्ने कदमका बारेमा स्थलगत अध्ययनसहितको सुझाव पेश गर्ने वरिष्ठ उपरीक्षक ढकालको भनाइ छ ।

‘कतिपय स्थानमा वान–वे गर्नुपर्ने पनि हुन सक्छ, कतै क्रसिङ निषेध गर्नुपर्ने पनि हुन सक्छ,’ उनले भने, ‘कतै दायाँ मोड्न निषेध गर्नुपर्ने हुन सक्छ, तत्कालै सुधार गर्न सकिने उपायहरु के–के हुन सक्छ जसले ती क्षेत्रमा सवारी जाम घटाउन मद्दत गर्छ भन्नेबारे समितिले सुझाव दिन्छ र त्यसलाई हामी कार्यान्वयनमा लैजान्छौँ ।’

त्यसो त, सडकमा अझै पनि परम्परागत नियम नै कायम छ । थोरै संख्यामा सवारी साधन गुड्दा बनाइएको नियम अहिलेसम्म लागू भइरहेका कारण पनि सवारी जाम बढेको विज्ञहरुको भनाइ छ । साँघुरा र व्यस्त रहने सडकमा पनि दुईतर्फी आवागमन हुने गर्दा सवारी जाम बढ्ने गरेको छ । विभिन्न मुलुकमा सवारी आवागमन सहज तुल्याउनका लागि आवश्यकताअनुसार ठाउँ–ठाउँमा वान–वे बनाइएको हुन्छ । यद्यपि काठमाडौँ उपत्यकामा वान–वे सडक निकै कम छ ।

जताततैबाट सवारी साधन मोड्ने, दायाँ मोड्नका लागि सर्वत्र खुला गरिएका कारण पनि सवारी जाम हुने गरेको विज्ञहरु बताउँछन् । कतिपय स्थानमा आकाशे पुल भए पनि पैदलयात्रीले त्यस्ता पुल प्रयोग नगर्दा सवारी जाम हुने गरेको छ । त्यस्ता स्थानमा पैदलयात्रीलाई आकाशे पुलको प्रयोग अनिवार्य गर्नका लागि रेलिङ लगाउने लगायतका सुधारका पहल गरेमा पनि सवारी जाम कम हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप