शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपहार गोलले मच्छिन्द्र बन्यो ‘ए’ डिभिजन लिगको च्याम्पियन

शनिबार, ०३ फागुन २०७६, १६ : २९
शनिबार, ०३ फागुन २०७६

काठमाडौँ । त्रिभुवन आर्मी क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ । 

शनिबार दशरथ रंगशालामा भएको खेलको ३३ औं मिनेटमा उपहार पाएको गोलले नै मच्छिन्द्रलाई यो संस्करणको च्याम्पियन बनायो । 

आर्मीका विकास तामाङले गरेको आत्मघाती गोलले च्याम्पियन बनेको मच्छिन्द्रले पहिलो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको हो । फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा विकासले आफ्नै पोष्टमा गोल गरे । उनले रञ्जित धिमालको फ्रिकिक क्लियर गर्न खोजेका थिए । 

उनको त्यही गल्तिले आर्मी इतिहास बनाउनबाट चुक्यो । आजको खेलमा आर्मीले बराबरी मात्रै गर्न सकेको भएपनि लिग उपाधि जित्ने अवस्थामा थियो । लिगभरी दुबै टोलीले समान प्रदर्शनमा गरेको भएपनि गत सिजन अन्तिम २ मा रहेका कारण मच्छिन्द्रको यो सिजन एक अंक ऋण बोकेको थियो । 

त्यसैको फाइदा आर्मीले उठाउन नसक्दा उपाधिबाट चुक्यो । उपाधि विजेता मच्छिन्द्रले १३ खेलमा ३१ अंक जोड्न सफल रह्यो । दोस्रो स्थानमा रहेको आर्मीले २९ अंकमा चित्त बुझायो । मच्छिन्द्रले १० मा जित, २ मा बराबरी र १ खेलमा हार निकाल्दा आर्मीले ९ मा जित २ मा बराबरी र २ खेलमा हारतको नतिजा निकालेको थियो । 

लिगमा मनाङ मस्र्याङ्दी क्बलले २८ अंक जोड्दै तेस्रो स्थान बनायो । २६ अंकका साथ थ्रीस्टार चौथो, २० अंकका साथ नेपाल पुलिस क्लब पाँचौ र १९ अंकका साथ जाउलाखेल युथ क्लब छैटौँ स्थानमा रह्यो । शीर्ष ६ टोलीले आगामी वैशाखमा राष्ट्रिय लिग खेल्न पाउनेछन् । सरस्वती युथ क्लब भने बी डिभिजनमा घटुवा भएको छ । १३ खेलमा उसले ४ अंक मात्रै जोड्न सक्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप