शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : स्वतन्त्रता

शनिबार, ०३ फागुन २०७६, १६ : २१
शनिबार, ०३ फागुन २०७६

-राजेश ढुङ्गाना


स्वतन्त्रता हिजो 
बन्धनबाट कैद थियो 
तर आज स्वतन्त्रता स्वयम्
स्वतन्त्रताबाटै कैद छ 
आफू आफ्नै लागि
पासो भएको छ वर्तमान
मुक्ति स्वयम् आफैँ आफ्ना लागि 
कसरी बन्धन भयो हँ ? 
एक दशकको 
मेरो आयु छरपस्ट त 
रगताम्य छ 
र घाइते लम्पसार म 
अर्धमूच्र्छित तन्द्रामा 
थकित–थकित 
निदाएको झैँ छु 
समय स्थिर भएको छ 
घडीमा सुईहरू बन्द छन् 
बिहान पनि उस्तै छ 
साँझ पनि त्यस्तै छ 
केही फरक हुनुपर्ने होइन र 
बिहान र साँझमा ? 
हिजो र आजमा ? 
लम्पसार सुतेको छ 
उन्मत्त मातेको मान्छेझैँ
स्थिति 
मुर्दा भनौँ मुर्दा होइन 
सालिक ठानौँ सालिक पनि होइन 
र स्थितप्रज्ञ म 
आफैँ–आफैँलाई सान्त्वना 
हो वा अझ 
समवेदना पो दिइरहेछु 
कहिले भयो हँ मेरो मृत्यु ? 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप