शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसका राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

शुक्रबार, ०२ फागुन २०७६, ११ : ३५
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन भएको छ । आज विहान उनको निधन भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । काँग्रेस रुपन्देही क्षेत्र नम्बर ५ का पूर्व क्षेत्रीय सभापति थिए ।

आन्द्राको क्यान्सरबाट पीडित उपाध्यायको आफ्नै निवासमा आज विहान ५० वर्षको उमेरमा निधन भएको हो । उनको शुक्रबार २ बजे दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

पिता जंगीप्रसाद उपाध्याय र माता सोनमति उपाध्यायको सुपुत्रका रुपमा वि.सं. २०२६ सालमा जन्मिएका स्वर्गीय उपाध्याय विसं २०४६ सालको ऐतिहासिक जनआन्दोलनदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका थिए । वि.सं. २०५४ को स्थानीय निर्वाचनमा रुपन्देही जिल्लाको साविक मधुवनी गाविसमा उनी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। वि.सं. २०६७ को बाह्रौं महाधिवेशन र २०७२ को तेह्रौं महाधिवेशनमा उनी दुई कार्यकाल क्षेत्रीय सभापति समेत थिए । विसं २०७४ मा उनी नेपाली कांग्रेसको तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका थिए । हाल उनी लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य तथा विभिन्न समाजिक संघ संस्थामा संलग्न रहँदै आएका थिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । उनेले भने— “राष्ट्रिय सभाका वर्तमान सांसद एवं नेपाली कांग्रेस रुपन्देहीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनको खबरले म अत्यन्त दुःखी र स्तब्ध भएको छु । स्वर्गीय उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय योगदान पु-याउनु भएको थियो । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । पार्टी र मेरो व्यक्तिगत तर्फबाट उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप