शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालबारे नयाँ रणनीति बनाउँदै भारत

शुक्रबार, ०२ फागुन २०७६, ०८ : ४७
शुक्रबार, ०२ फागुन २०७६

काठमाडौँ ।  भारतीय जनता पार्टी (भाजपा) निकट इण्डिया फाउण्डेशन र नीति अनुसन्धान प्रतिष्ठान नेपालले नेपालका नेताहरुलाई भारत बोलाएर दुई दिनसम्म औपचारिक र अनौपचारिक छलफल गरेका छन् । नेपालमा बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै भारतका भाजपा नेतृत्वको सरकारले नेपालका लागि आफ्नो रणनीतिमा फेरबेदल गर्न लागेको हो  । त्यही भएर ती पार्टीले नेपालको विषयवस्तु, राजनीतिक अवस्थाको बारेमा नयाँ ढङ्गबाट अध्ययन गर्न थालेका छन् । नेताहरुलाई भारत बोलाएर सल्लाह सुझाव लिन थालेका छन् ।

भारतले कार्यक्रमकै आयोजना गरी नेता तथा थिङ्क ट्याङ्कहरुलाई बोलाएर छलफल गर्ने र सुझाव लिन शुरु गरेको छ । भारतले यसअघि पनि यस्ता थुप्रै कार्यक्रमहरु गरी नेपाली नेताहरुलाई बोलाएर छलफल गरेको थियो । नेपालमा पनि कुनै भारतीय नेतालाई आउनपरे कुनै एउटा कार्यक्रमको आयोजना गरी त्यसमा सहभागी हुने बाहानामा आएर भेटघाट गरी फर्किने गरको थुप्रै उदाहरणहरु छन् । त्यसमा सबभन्दा बढी कार्यक्रम भाजपा निकट थिङ्क ट्याङ्कको रुपमा परिचित इण्डिया फाउण्डेशनले गरेको छ ।

नेपालबाट त्यसको समन्वय भाजपाको आरएससले गठन गरेको नीति अनुसन्धान प्रतिष्ठानले गरिरहेको छ । भारत उत्तर प्रदेशको लखनउमा बुधवार (माघ २९) देखि एउटा कार्यक्रमको आयोजना गरेको थियो । त्यो कार्यक्रम बिहीबार सकिएको छ । औपचारिक कार्यक्रमपछि दुई पक्षमा अनौपचारिक छलफल पनि भएको छ ।

तस्विर : मिनेन्द्र रिजालको ट्वीटर

कार्यक्रममा नेपालबाट राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव, काँग्रेसका महामन्त्री शशाङ्क कोइराला, काँग्रेसका अर्का नेता मिनेन्द्र रिजाल, नेकपा केन्द्रीय सदस्य खिमलाल देवकोटा, लेखक श्रीकृष्ण अनुरुद्र गौतम, प्रोफेसर कृष्णचन्द्र शर्मा, पूर्व राजदूत दीपकुमार उपाध्याय, मृगेन्द्रबहादुर कार्की, डा.चन्द्रदेव भट्ट, पूर्व डिआइजी रमेश खरेल, अवकाश प्राप्त सेना विनोज वसन्यात, नलिनी ज्ञवाली प्रतिष्ठानका अध्यक्ष, रमेश कुमार ढुगेंल अध्यक्ष, लुम्बनी विश्व विद्यालय, भारतका लागी नेपाली राजदूत निलाम्बर आचार्य, रवी शंकर सैंजु (पूर्व सचिव नेपाल) र प्रतिकुमारी मण्डल (प्रोफेसर) सो कार्यक्रममा सहभागी भएका थिए ।

भारतको तर्फबाट सौर्या डोभल (इण्डिया फाउण्डेशन), तरुण विजय (राज्यसभाका पूर्व एमपी), डा.सुधान्सु त्रिदेवी (एमपी राज्यसभा), सिद्धार्थनाथ सिह र डा. महेन्द्र सिंह (उत्तर प्रदेशका मन्त्री), योगी आदित्यनाथ (मुख्यमन्त्री उत्तर प्रदेश) एसडी मुनी (नेपाल–भारत विज्ञ), राम माधव वंशल (भाजपा महासचिव), आलोक वंशल (अध्यक्ष इण्डिया फाउण्डेशन), परफुल्ला केटकर (पत्रकार), डा.गुरु प्रकाश (प्रोफेसर पटना युनिभर्सिटी र अभियन्ता), निशा तनेजा (प्रोफेसर), मनोज कुमार सिंह (उत्तर प्रदेश), खरात राजेश श्रीकृष्णा (प्रोफेशर जेएनयु), गुरुप्रकाश (दलित चेम्बर अफ कमर्श भारत) सहभागी थिए ।

इण्डिया फाउण्डेशनका चेयरम्यान भाजपाका महासचिव राम माधव वंशल हुन् । इण्डिया फाउण्डेशनका सेकेण्ड म्यान सौर्या डोभल प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभलका छोरा हुन् । आलोक वंशल पनि भाजपाका प्रभावशाली नेता नै मानिन्छन् । त्यस्तै भाजपाका प्रभावशाली नेता एवम् उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी पनि छन् । त्यसका साथै आरएसएस र भाजपाका अन्य वरिष्ठ नेताहरु पनि सहभागी यस कार्यक्रममा नेपालबाट गएका नेताहरुसँग औनपारिक छलफल पनि गरेका छन् ।

नेपाललाई लिएर भारतले आफ्नो नीतिको विषयमा नेपाली प्रतिनिधिहरुसँग गम्भीरतापूर्वक छलफल गरेको छ । सबैसँग नेपालमा भइरहेको घटनाक्रमको बारेमा उनीहरुले चासो राखेका थिए । नेपालमा भारतले के गर्दा राम्रो हुन्छ, कुन रणनीतिमा अगाडि बढ्दा दुवै देशलाई फाइदा हुने विषयमा छलफल भएको नेपालको तर्फबाट सहभागी एक नेताले बताए ।

दुई देशको सम्बन्धको बारेमा नयाँ ढङ्गबाट कसरी सोच्न सकिन्छ र अगाडि बढ्न सकिन्छ भन्ने बारेमा पनि भारतीय थिंक ट्याङ्क तथा नेताहरुले सुझाव लिएका छन् । त्यसका साथै दुई देशबीच रहेको सम्बन्धका विषयमा पनि गम्भीर रुपमा छलफल भएको बताइएको छ । नेपालबाट गएका नेताहरुले आदित्यनाथ योगीसँग एक्ला एक्लै भेटेर पनि छलफल गरेका थिए ।

भारतको चाहना

नेपाललाई लिएर भारतले आफ्नो नीतिको विषयमा नेपाली प्रतिनिधिहरुसँग गम्भीरतापूर्वक छलफल गरेको छ । भारतीय पक्षबाट दुईटा पक्षमा विशेष जोड दिएर कुरा भएको छ । कार्यक्रममा सहभागी एक नेताले रातोपाटीसँग फोनमा कुरा गर्दै भने, भारतका अधिकारीले धर्म र सुरक्षाको विषयमा विशेष कुरा राखेका छन् । उनीहरुको जोड थियो, ‘नेपालको जुन सँस्कृति र परम्परा छ, त्यसलाई जोगाई राख्नुपर्छ , नेपालको पहिचान हिन्दु धर्म नै हो यसलाई नेपालीले जोगाउनु पर्छ ।’

यो कुरामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भाजपाका महासचिव राम माधव विशेष जोड दिएका थिए । नेपाल–भारत हिन्दु सँस्कृति र सम्भयता भएको देश रहेको बताउँदै उनीहरुले यसलाई जोगाउन दुवै देशका जनता गम्भीर हुनुपर्ने कुरामा उनीहरुले जोड दिएका थिए ।

नेपाल स्वतन्त्र देश हो । भारतले त्यसमा कुनै हस्तक्षेप गर्ने छैन । तर भारतलाई छाडेर कहाँसम्म जान सकिन्छ भन्ने कुराको पनि ख्याल गर्नुस्’ भनेर भारतका नेताहरुले नेपालका नेताहरुलाई सचेत गराएको कार्यक्रममा सहभागी एक नेताले रातोपाटीलाई बताए । नेपाल–भारत एकअर्काको मित्र रहेको र एक अर्कासँग छुट्टिन नसकिने धारणा भाजपाको महासचिव राम माधवको थियो ।

सुरक्षामा चिन्ता

सुरक्षाको बारेमा पनि भारतीय पक्षबाट चिन्ता व्यक्त भएको छ । सुरक्षाको दृृष्टिकोणले नेपालप्रति ढुक्क रहने अवस्था नरहेको धारणा भारतको पक्षको थियो । नेपालमा सुरक्षाको अवस्था बदलिएको र नेपालको सुरक्षा बारेमा अमेरिका, चीनलगायतले पनि चासो लिन थालेको बारेमा भारतले अध्ययन गरिरहेको छ । नेपालले अरु कसैको एजेण्डा बोक्नु नहुने र नेपालले आफ्नो एजेण्डा आफै बोल्नुर्ने उनीहरुको भनाइ थियो ।

अर्थतन्त्र

दुवै देशको तर्फबाट आर्थिक क्षेत्रका विज्ञहरु कार्यक्रममा सहभागी थिए । नेपालको तर्फबाट बोल्नेहरुले भारतसँग व्यापारघाटा बढ्दै गएको कुरा राखेका थिए । यसलाई कम गर्न भारतले पनि सहयोग गर्नुपर्ने नेपाली पक्षको प्रस्तावमा भारतीय पक्षले सहयोग गर्न तयार रहेको तर त्यसका लागि छलफल हुनुपर्ने धारणा राखेका थिए ।

नेपालले चीन, अमेरिका लगायत विभिन्न देशसँग आफ्नो व्यापार बढाउनु राम्रो कुरा भए पनि अन्तर्राष्ट्रिय व्यापारका लागि भारतकै बाटो रोज्नुपर्ने बाध्यता रहेको भन्दै भारतीय पक्षले यस्ता परिस्थितिप्रति सचेत गराएको थियो । भारतले नेपालको कुनै पनि काममा हस्तक्षेप गर्न नचाहेको उनीहरुको जिकिर थियो ।

पटना युनिभर्सिटीका प्रोफेसर एवं दलित चेम्बर अफ कमर्शका सल्लाहकार गुरु प्रकाशले काठमाडौँ र दिल्लीको सम्बन्धले मात्र नेपाल–भारतको सम्बन्ध बलियो हुन नसक्ने बताए । भारतले नेपाललाई काठमाडौँको नजरले मात्र होइन, जनकपुरको नजरले हेर्नुपर्ने र नेपालले भारतलाई दिल्लीको नजरले मात्र होइन, पटनाको नजरले पनि हेर्नुपर्ने उनीहरुको धारणा थियो ।

दुई देशबीच सम्बन्ध बिग्रिनुमा भारत पनि दोषी रहेको टिप्पणी गर्दै उनीहरुले ठूलो देश भएकै कारण नेपाललाई भारतले हेप्न नहुन प्रष्ट पारे ।

भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले पहिलाभन्दा अहिले भारतमा परिवर्तन आएको बताए । भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेको बताउँदै उनले नेपालमाथि पहिला भारतको जस्तो प्रकारको दबाब हुन्थ्यो, त्यो अहिले नभएको बताए ।

उनले नेपाललाई चाँडै नै भारतले थप हवाई रुट दिनुपर्ने बताए । यसबाट नेपालको पर्यटन क्षेत्रको विकास हुने उनको भनाइ थियो ।

राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले दुवै देशको सभ्यता आपसी सहकार्यका साथ जोगाउनुपर्ने धारणा राखेका थिए । भारतको सुरक्षाप्रति नेपाल संवेदनशील रहेको भन्दै उनले भारतले यसमा कुनै प्रकारको चिन्ता लिन नपर्ने बताए । खुल्ला बोर्डरका कारण केही समस्या देखिए पनि त्यसलाई नियमन गरेर समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

इण्डिया फाउण्डेशनका निर्देशक आलोक वंशलले कालापानी, लिपुलेकको समस्या राष्ट्रवादी भनाउँदाहरुले जवर्जस्ती उठाएको टिप्पणी गरे । ‘यो सीमाना धेरै पहिलादेखि जस्ताको त्यस्तै छ, भारतले त्यसमा केही परिवर्तन गरेको छैन तर अहिले सुनियोजित रुपमा यसलाई उचालेर दुवै देशबीचको सम्बन्धलाई बिगार्न खोजेका छन्,’ उनले भने ।

कसैको विरोध गरेर वा पुत्ला जलाएर यसको समाधान नहुने पनि उनले प्रष्ट पारे । समस्या समाधानका लागि दुवै देशबाट कुटनीतिक पहल हुनुपर्ने उनले बताए । ‘कुटनीतिक पहल भए जुनसुकै समस्या समाधान हुन सक्छ,’ उनले भने, ‘पुत्ला जलाएर, गाली गरेर, विरोध गरेर समाधान हुँदैन ।’

बंगलादेशसँगको सीमा समस्या समाधान भएको जिकिर गर्दै उनले नेपालसँगको सीमा समस्या पनि समाधान हुन सक्ने बताए । तर त्यसका लागि दुवै देश गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

पूर्व डिआइजी रमेश खरेलले दुई देशबीच ‘दशगजा’लाई सुरक्षित गर्नुपर्नेमा जोड दिए । दशगजालाई ‘लाइफ लाइन’ल को संज्ञा दिदैँ उनले दशगजामा दुवै देशको जीवन यापन जोडिएको बताए । सीमा क्षेत्रमा देखिएको समस्या चाडैँ समाधान हुनुपर्ने उनको भनाइ थियो ।

नेपालमा भइरहेको घटनाक्रमबारे भारतीय पक्षले चासो राखेका थिए । नेपालमा भारतले के गर्दा राम्रो हुन्छ, कुन रणनीतिमा अगाडि बढ्दा दुवै देशलाई फाइदा हुने विषयमा छलफल भएको नेपालका तर्फबाट सहभागी एक नेताले बताए ।

दुई देशको सम्बन्धको बारेमा नयाँ ढङ्गबाट कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा पनि भारतीय थिङ्क ट्याङ्क तथा नेताहरुले सुझाव लिएका छन् । दुई देशबीचको सम्बन्धका विषयमा गम्भीर छलफल भएको बताइएको छ । नेपालबाट गएका नेताहरुले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग एक्ला एक्लै भेटेर पनि छलफल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप