शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेलम्चीको भौतिक प्रगति ९५ प्रतिशत नाघ्यो, असारभित्रै सक्ने दृढता

बिहीबार, ०१ फागुन २०७६, १७ : ५९
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत नाघेको छ । ३१ अर्ब ३६ करोडको विनियोजित बनेटमध्ये २८ अर्ब १३ करोड रुपैंया खर्च हुँदा आयोजनाको प्रगति त्यति हुन पुगेको हो । अब बाँकी बिहीबार खानेपानी मन्त्रालयमा स्वेतपत्र सार्वजनिक गर्दै मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले मेलम्ची आयोजनामा सिनो हाइड्रो आएपछि काम उत्साहजनक रुपमा अघि बढेको भन्दै असार मसान्तसम्म काठमाडौंमा पानी आउनेगरी तयारी अघि बढेको बताए ।

यो वर्ष आयोजनाले कम्फरड्याम निर्माण तथा वैकल्पिक पाइप डाइभर्सनको सञ्चालन गर्ने, १४ ओटा गेट जडान गर्ने, मुख्य सुरुङको फिनिसिङ र रेक्टिफिकेसन गर्ने, अडिट सुरुङमा अनुगमन, उपकरण, प्यानल बोर्ड, सेन्सर, वाल, बुसिङ, केबल्सको काम गर्ने, सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको कार्य र सुरुङको परीक्षण तथा सञ्चालन गर्ने काम गर्नेगरी तालिका निर्धारण गरिएको छ । 

त्यस्तै अर्को आर्थिक वर्षमा कफरड्याम निर्माणसँगै बाँधको निर्माण, इन्टेक तथा पुलको निर्माण, अडिट सुरुङ फिनिसिङ, हेडवक्र्समा अनुगमन, उपकरण जडान, सेन्सर, प्यानलबोर्ड केवल्स हेडवक्र्सको काम सक्ने हाइड्रो–मेकानिकल जडान, हेडवक्र्स परीक्षण र हेडवक्र्स तथा सुरुङको सञ्चालन गर्ने लक्ष्य लिइएको छ । आयोजना प्रमुख खत्रीले पछिल्लो परिमार्जित लक्ष्यअनुसार नै काम अघि बढेको भन्दै प्रारम्भिक रुपमा असार मसान्तमा पानी आउने लक्ष्य पूरा गरेरै छाड्ने बताए । 

सिनो हाइड्रोसँग भएको सम्झौताअनुसार हाइड्रोले मेलम्ची आयोजनाको हेडवक्र्सको काम सक्ने अवधि पुस मसान्तसम्म भए पनि छिटो सक्दा बोनस पाउने भएकोले कम्पनीले छिटो काम सक्ने विश्वास व्यक्त गरे ।  कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव वेल्वासेले मेलम्ची आयोजनाबारे मन्त्रालयले प्रत्येक दिन अनुगमन गर्ने गरेको भन्दै अहिलेको प्रगतिलाई मन्त्रालयले सन्तोषजनक रुपमा लिएको बताए । ‘मेलम्ची खानेपानी आयोजनाको दैनिक रुपमा शुक्ष्म रुपमा अनुगमन मन्त्रालयबाट भइरहेको छ, मेरो इमेलमा दैनिक रिपोर्ट आउँछ, अहिले काम तीव्र रुपमा अघि बढिरहेको छ’ उनले भने । 

खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनाले धेरै वर्ष जनतालाई निराश बनाएको भन्दै अब त्यसमा आशा थपिने काम सुरु भएको बताए । ‘धेरै वर्ष अल्झियौं, अब अघि बढ्यौं अब निराशा अन्त्यको सन्निकटमा छौं । हाम्रो सेड्युलअनुसारको स्पिडमा काम भइरहेको छ’ मन्त्री मगरले भनिन् । 

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याउने योजना छ । २०१३ सेप्टेम्बरसम्म काम सक्ने गरी सन् २००९ मा सुरुङको ठेक्का लिएको चाइना रेल्वेको काममा ढिलासुस्ती भएको भन्दै सन् २०१२ मा सम्झौता तोडिएको थियो । त्यसपछि २०१३ जुलाइबाट सुरुङ निर्माणको काम इटालीको कम्पनी अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)लाई दिइए पनि कम्पनीले नोभेम्बरबाट मात्र काम थालेको थियो । तर ठेकेदार कम्पनी सीएमसीले आफ्नो मुख्य कम्पनी टाट पल्टिएको भन्दै काम छोडेर भागेपछि चीनियाँ कम्पनी सिनो हाइड्रोसँग १५ महिनाभित्र काम सक्नेगरी सम्झौता गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप