केन्द्रीय संस्करण
बालकथा

साहसीको बाटो

person explore access_timeफागुन १, २०७६ chat_bubble_outline0

बुढो सन्न भयो । उसको हाटबाट लाठी छुट्यो र भुइँमा झर्‍यो । ली श्याओच्युनको कपाल मुसार्दै भन्यो, “हरे, कुरा यस्तो पो रहेछ ? तिमीलाई हिर्काएर मैले ठूलो गल्ती गरें । बाबु, तिमीलाई घाउ त लागेन ? मेरो बानी अलि बढी नै झोकी छ । तिमीले आएर यसरी गल्ती स्वीकार गर्लाउ भन्ने सोचेको थिइनँ ।”


रन तालिन

तुङतुङ प्राइमरी स्कुलको ल्वो मिङमिङ आफुलाई बहादुर भनाउन चाहने बालक थियो । ऊ लगभग हरेक दिन एउटा न एउटा न एउटा महान् दुस्साहसिक काम गर्थ्यो । जुन दिन ऊ कुनै दुस्साहसिक काम गर्दैनथ्यो, त्यसदिन उसको मन चञ्चल भइरहन्थ्यो । र ऊ कक्षामा शान्तसँग बसिरहन सक्दैनथ्यो ।

आजकल ल्वो मिङमिङ शिर ठाडो गरेर हिँड्थ्यो, किनभने उसले ‘दुस्साहस’ को दुनियाँमा नयाँ अध्याय थपेको थियो । उसले गम्भीर मुद्रामा आफ्ना सहपाठीका अगाडि आफूले एउटा ‘नयाँ बाटो’ खोलेको घोषणा गरेको थियो । यही ‘नयाँ बाटो’ भएर ऊ दस मिनेटमा नै आफ्नो घरबाट स्कुल पुग्न सक्थ्यो । पुरानो बाटोभन्दा यो बाटो आधाभन्दा पनि छोटो थियो ।

यो सुनेर उसका सहपाठीहरुलाई विश्वास पनि लाग्यो र शङ्ंका पनि । सबैलाई ल्वो मिङिमिङ घरबाट स्कुल जाने आउने बाटो एउटा मात्र छ भन्ने थाहा थियो । “यो नयाँ बाटो कहाँबाट आयो ? यो उडन्ते गफ पनि त हुन सक्छ ।” तर ल्वो मिङमिङले छाती ठोकेर भन्यो, “यदि मैले तिमीहरुलाई गफ दिएको भए, म अहिल्यै झिङ्गा बनुँ ल ! कसैको इच्छा छ भने, भोलि बिहानै, घरमा मलाई भेट्न आउनु । म त्यसैबाटोबाट स्कुल लिएर आउँला । तर हेर नयाँ बाटोबाट हिँड्न साहस, धैर्य निडरता चाहिन्छ नि । डरछेरुवा मान्छे यस्तो बाटोबाट हिँड्न सक्दैन । बुझ्यौ ?”

अर्को दिन सबेरै चार पाँच जना केटाहरु झोला बोकेर ल्वो मिङमिङको घर गए । उनको घर नजिकै थियो । र उनीहरु पनि ल्वो मिङमिङ जस्तै दुस्साहसिक काम गरेर बहादुर कहलाउन इच्छुक थिए । कसैले झोला कम्मरमा बाँधेका थिए । कसैको पाइन्ट स्याहारेर मसिनो डोरीले बाँधेका थिए । सबै एकसे एक तेजस्वी र फुर्तिला देखिएका थिए । युद्धका लागि तम्तयार टुकडी जस्तो । यो देखेर ल्वो मिङमिङ असाध्यै सन्तुष्ट भयो । उसले एकै गाँसमा खाना खाएर हात मुख पुछ्यो अनि भन्यो, “ल जाऊँ । ”

उनीहरु ढोका बाहिर निस्केका मात्र के थिए । कसैले पछाडिबाट बोलाएको सुनियो, “ल्वो मिङमिङ , मलाई एकछिन पर्ख न । म पनि तिमीहरुसंगै नयाँ बाटो जान्छु । ”

सबै पछाडी फर्केर हेरे । एक जना लङ्गडो केटो खोन्च्याङ् खोन्च्याङ् खोच्च्याउँदै उनीहरुतिर आइरहेको थियो । ऊ ली श्याओचिन थियो । चार वर्षको हुँदा पोलियो लागेर ऊ लङ्गडो भएको थियो । उसको कद असाध्यै होचो, यता र उता झुल्थ्यो र हिँड्दा पुरै शरीर तल माथि हुन्थ्यो । बडो समस्या थियो । शरीरको अवस्थाले नै ऊ बहादुर बन्न लायक थिएन । ऊ यस्तो अवस्थाको हुनुकै कारण उसलार्ई ल्वो मिङमिङ र उसका साथीहरु माया गर्थे । सबैले सहानुभूति र संरक्षण मिलिरहेको थियो । उनीहरु धेरैजसो मिलेर खेल्थे । उसले पनि हिजो ल्वो मिङमिङको कुरा सुनेको थियो र आज सबेरै आएको, अप्रत्यासित रुपमा ।

ल्वो मिङमिङ टाउको कन्याउँदै बढो दुविधामा पर्‍यो, “ली श्याओच्युन तिमी ............तिमी .........हरे भैगो, तिमी पुरानै बाटोबाट नै स्कुल जाऊ ।”

छिटो छिटो दौडेको कारण ली श्याओच्युनको सास फुलिसकेको थियो । उसले पसिना पुछ्दै भन्यो, “नाइँ ! नाइँ ! म तिमीहरुसँगै जान्छु ।” उसको स्वभाव अलि जिद्दी छ भन्ने सबैलाई थाहा थियो । अरु केटाहरुले पनि उसलाई सम्झाउँदै भने, “......तिम्रो आमा स्कुलमा आएर उजुर गर्न बेर मान्नु हुन्न । हामीसँग यो असजिलो बाटो हिँड्नेमा तिमी नलाग । ”

ली श्याओच्युनको अनुहार रातो भयो । आँखामा आँसु भरिएर आयो । आँसु पुछ्दै उसले भन्यो, “म कायर होइन । तिमीहरुसँगै म पनि जान्छु ।”

“यो बाटोमा अग्लो पर्खाल उक्लिनु पर्छ, रुख चढ्नु पर्छ र साँगुरो प्वालबाट पनि छिर्नु पर्छ । तिमी यो सब कसरी गर्न सक्छौ ?” ल्वो मिङमिङले भन्यो  ।

ली श्याअ‍ेच्युनले आँसु पुछ्दै भन्यो, “म कुनै पनि हालतमा तिमीहरुसँगै जान्छु ।” यति भन्दै ऊ खोच्याउदै अगाडि बढ्यो । भैगो, ल्वो मिङमिङ, उसलाई जान देऊ, लामो कद गरेको चाङ च्वोले भन्यो, पर्खाल चढ्ने बेलामा म उसलाई सहारा दिउँला ।”

ल्वो मिङमिङ मौन स्विकृति दियो । अनि यी बहादुर केटाहरु ल्वो मिङमिङको अगुवाईमा चौडा सडक छोडेर एउटा साँघुरो गल्लीमा घुसे । यसरी उनीहरुले आफ्नो दुस्साहसिक कार्य आरम्भ गरे । यो एउटा अँध्यारो गल्ली थियो । अगाडि एउटा पर्खालले बाटो छेकेको थियो र पर्खालमा “यहाँ बाटो बन्द छ” लेखिएको थियो । तर बहादुर केटाहरु त जहाँ बाटो छैन, त्यहाँ बाटो बनाउँछन् । ल्वो मिङमिङ एउटा रुख मुनि गयो । छिटो छिटो रुख चढ्यो र पर्खालमाथि उक्लियो । त्यहाँ पुगेपछि उसले अरु यात्रीहरुलाई त्यसै गरी पर्खालमा चढ्न सल्लाह दियो । ली श्याओच्युनलाई के गर्ने ? अग्लो कदको चाङ च्वोले सोच्यो ।चाङ च्वो बोलीको पक्का थियो । उसले उचाल्दै ठेल्दै र धकेल्दै ती श्याओच्युनलाई पनि पर्खालमाथि चढायो ।

उनीहरुले पर्खालबाट हेरे । स्कुल त्यहाँबाट साँच्चिकै नजिक थियो । ल्वो मिङमिङले भन्यो, “ल मेरो पछि पछि आओ ।” ऊ लामा पाइला चाल्दै पर्खालको अर्को छेउमा गयो । त्यहाँ रहेको मसलाको रुखलाई झ्याम्म अंगालो हालेर सललल चिप्लिँदै तल जमिनमा उत्र्यो । अरु केटाहरु पनि त्यसै गरी ओर्ले । ली श्याओच्युन पनि सकीनसकी ओर्लियो । यो एउटा सुन्दर बँगैचा थियो । ठाउँ ठाउँमा गुलाब, बेली चमेली लगायत अनेकौं फूल फुलिरहेका थिए । ढुङ्गाका बेन्चहरुमाथि फूलका गमला सजाएर राखिएका थिए ।

ल्वो मिङमिङले भन्यो, “ल जाऔं यस बगैचाको त्यो पर्खालमा एउटा प्वाल छ, त्यहाँबाट छिरेपछि हाम्रो स्कुलको पछाडिको गेट खुल्यो गल्ली भेटिन्छ, ल हेर त यो बाटो कति छोटो !”

सबैले यताउति आँखा दौडाउँदै भने, “हो साँच्चै छोटो हो । सडकभन्दा निकै छोटो । यो बाटोबाट हिँड्न त साह्रै मज्जा आउँदो रैछ । म भोलि पनि यही बाटोबाट स्कुल आउँछु । अब सधैँ यही बाटो आउने । जो, यो बाटोबाट आउँदैन आउँदैन ऊ कायर हो ल !” यस्ता कुरा सुनेर मिङमिङले छाती ठाडो पार्दै भन्यो, “देख्यौ ? मैले नभएको कुराको गफ दिएको थिइन नि ।”

सबै केटाहरु खुशी मनाउनमा व्यस्त थिए, अचानक बगैँचाको एउटा छेउमा भएको फलामे गेट खुल्यो र भित्रबाट एउटा कालो जखमले कुकुर निस्क्यो । यति धेरै नयाँ मान्छेहरु देखेपछि भौं भौं भुक्तै उनीहरुभएतिर झम्टन आइपुग्यो । सबै डराए र छिटोछिटो यताउति भाग्न थाले । कुकुर उनीहरुको पिछा छोड्न तयार थिएन । त्यसले ली श्याओच्युनको पिँडौलामा टोक्नै झम्ट्यो । ठीक त्यतिबेला ल्वो मिङमिङ आफ्नो बहादुरीको परिचय दिँदै कुकुरमा पेटमा लात दियो । कुकुर कुइँ कुइँ गर्दै पुच्छर लुकाउँदै फर्क्यो । यसबाट सबैको साहस बढ्यो । उनीहरुले कुकुरलाई लखेटे र घेरे । यसले लात हान्यो, उसले लात हान्यो । कुकुर धेरैनै डरायो र कुइँ कुइँ गर्दै भाग्दै लडखडाउदै फलामे ढोकाबाट छिर्‍यो, कुकुरसितको लडाइँमा ढुङ्गाको बेञ्चबाट दुइटा गमला खसेर टुक्रा टुक्रा भए ।

“धत् बदमास कहीँका ! कहाँबाट घुसेका हँ तिमीहरु ? अब तिमीहरुलाई मर्मत नगरी छोड्दिनँ ।” फलामे ढोकाबाट एकजना सेतै फुलेको मान्छे लट्ठी घुमाउदै निस्क्यो । बाबै नि भन्दै केटाहरु बित्तातोडसित भागे । कोही पर्खालमा उक्लेर हाम फाले । कोही पर्खालको प्वालबाट छिरेर पनि बाहिर भागे । ली श्याओच्युन बाहेक अरु सबै छिनभरमै बेपत्ता भए । ली श्याओच्युन खोच्याउँदै खोच्याउँदै पर्खालनिरसम्म पनि पुग्न सकेको थिएन बुढाले आएर च्याप्पै समात्यो । डरले थरर्र काँप्दै ली श्याओच्युन थचक्क भुइँमा बस्यो र रुन थाल्यो ।

बुढोले बढो दु:खी भएर भुइँमा झरेको गमलाको टुक्रा उठायो । ढुङ्गाका बेन्चमा राख्यो र कुकुरलाई लागेका चोटहरुको जाँच गर्‍यो, अनि ढुङ्गाको बाटुलो मेचमा थ्याच्च बस्यो र टाउको निहुराएर लामो निश्वास छोड्यो । त्यस पछि दिक्क हुँदै ली श्याओच्युनतिर हेरेर भन्यो, “स्कुलका अरु महान् जनसेवी लेङफङलाई आदर्श मानेर साँच्चिकै चरित्रवान् बन्ने प्रयत्नमा छन् । खटेर पढ्दैछन्, काम गर्दैछन् । त्यसै स्कुलमा पढेका तिमीहरुले चाहिँ के गरेको यो ? यहाँ पसेर म जस्तो एक्लो बिचरो बुढालाई सताउनु पर्‍यो हैन ? के तिमीहरुलाई लाज लाग्दैन ? गालामा रातो स्कार्फ पनि बाँधेका छौ त ? ”

ली श्याओच्युनले भकभकाउँदै भन्यो, “हजुरबा हामीले जानेर बुझेर यस्तो गरेको होइन............”

बुढाले झोक्किँदै ली श्याओच्युनलाई झ्याप्प समात्यो र ढोका खोलेर गल्लीतिर धकेल्दै भन्यो, जा गइहाल । म तिमीहरुलाई चिन्छु, तिमीहरु सबै यही तुङफङ प्राइमरी स्कुलका हौ । आफ्नो साथीलाई गएर भनिदेऊ, मैले फेरि तिमीहरुलाई भेट्टाएँ भने कुनै हालतमा छोड्दिनँ । बुझ्यौ ? ”

ली श्याओच्युन खोच्याउँदै बँगैचाको ढोकाबाट बाहिर गल्लीमा निस्कियो । ऊ स्कुल पुग्दा स्कुलको घन्टी बजिसकेको थियो । ल्वो मिङमिङ र अरु साथीहरु चुपचाप लागेर क्लासरुममा बसेका थिए । ली श्याओच्युन सद्दे नै आएको देखेर यिनीहरु छक्क परे । आपसमा हेराहेर गरे र अनायास लामो जिब्रो काढे ।

अर्को दिन बिहान, ल्वो मिङमिङ खाना खान हतार गरेन । उसका बहादुर साथीहरु मध्ये कोही पनि आज यता आएनन् । उसलाई यो अप्रत्यासित पनि लागेन । आज ऊ आफैं नै पनि पुरानो बाटोबाट स्कुल जान्छ । फेरि जोखिम उठाउने कसको हिम्मत ? गमलाका टुक्रा, घाइते कुकुर, रिसाएको बुढाको अनुहार र घुमाएको लट्ठी सम्झने बित्तिकै ल्वो मिङमिङको कलेजो काप्न थाल्यो । मनमनै भन्यो, यस्तो खतरनाक बाटो किन हिँड्ने ? चाहिएन मलाई अब यस्तो नयाँ बाटो ।

स्कुल जाने बेला हुनै लागेको थियो । ली श्याओत्युन खोच्याउदै आएको देखियो । यो के अचम्म ? ल्वो मिङमिङले टाउको हल्लाएर आँखा ठूला पार्दै हेर्‍यो । आउने ली श्याओच्युन नै थियो । उसलाई हेर्दा ऊ पनि नयाँ बाटोबाट साहसिक यात्रा गर्न तयार देखिन्थ्यो । ल्वो मिङमिङले ड्रेस लगायो र घर बाहिर निस्केर सोध्यो, “ली श्याओच्युन, तिमी कता ?”

“आज पनि एक पल्ट नयाँबाटोबाट गइ हेरुँ न हुन्न ? ”

“पागल भयौ कि क्या हो ? हिजोको आपतविपतले पुगेन कि के त ?”

“हैन, एकपल्ट फेरि जाऊँ न ? डराउनु पर्ने कुरा के छ र ? हिँड, तिमी पनि जाऊँ । ”

“नाइँ म त्यो बाटोबाट जान्न । तिमीलाई जान मन लाग्छ भने गए हुन्छ ।” ल्वो मिङमिङ फर्कदा पनि नफर्की सोझै अगाडिको सडकतिर लाग्यो ।

ली श्याओच्युन जिल्ल पर्‍यो । ऊ सडकबाट एक्कासी मोडिएर गल्लीतिर अगाडि बढ्यो । ल्वो मिङमिङ यो फुच्चे लंङ्गडो सहपाठी यतिसम्म हठी होला भन्ने सोचेको कहिल्यै सोचेको थिएन । उसलाई अलि अकमक लाग्यो । मनमनै सोच्यो, म पनि उसले नदेख्ने गरी उसको पछि पछि गएर हेर्छु । केही गरी उसलाई घाउचोट लागे बचाउन त सक्छु ।

ली श्याओच्युन बडो कठिनाइका साथ लर्खराउँदै पर्खालनिर पुग्यो । उसले रुखको हाँगा समातेर माथि पर्खाल चढ्न मरिमेटेर प्रयास गर्‍यो । एक पटक, दुई पटक, तीन पटक ऊ सफल हुन सकेन । भुइँमा थुचुक्क बसेर आँसु भरिएका आँखाले उसले पर्खालतिर हेर्‍यो । पर्खाल साह्रै अग्लो त थिएन तर होचो पनि थिएन । ल्वो मिङमिङ उसलाई मद्दत गर्ने सोच बनाउँदै मात्र के थियो ली श्याओच्युनले ज्यानको बाजी लगाएर एक पटक कोसिस गर्ने अठोट गर्‍यो । उसले तत्काल जुत्ता फुकाल्यो । झोलामा राख्यो । झोला भिर्‍यो । दुबै हातमा थुक लगायो र रुखको लत्रेको हाँगा बेस्सरी समातेर है है गर्दै उफ्रदै माथिल्लो हाँगा समाउन प्रयास गर्‍यो । ज्यान छाडेर कोसिस गर्‍यो । अन्तमा उसले पर्खाल बराबरको अर्को हाँगा समात्न सक्यो । त्यो हाँगा समातेर ऊ तुन्द्रुङ्ग झुण्डियो । फेरि जोडतोडले अर्को प्रयासमा ऊ त्यस हाँगाबाट पर्खालमा उक्लन सफल भयो ।

स्वाबास ! साहसी ! ल्वो मिङमिङ मनमनै उसको प्रशंसा नगरी बस्नै सकेन । ली श्याओच्युनले घोडचडीले जस्तै दुबै घुँडा र कुहिनाको बलले रुखमा सुरेली खेलेर पर्खालको उतापट्टि पुग्यो । ऊ त्यहाँ फाल हानेको फाल हानेको भ्वाक्क आवाज आयो । ऊ जति सम्हालिनु पथ्र्यो वास्तवमा त्यति सम्हालिएर ओर्लन सकेको थिएन ।

ल्वो मिङमिङ मनमनै ब्याकुल भयो । छिटो छिटो पर्खाल चढेर तल हेर्‍यो । तै तै श्याओच्युनलाई चोट लागेको थिएन । ऊ भुइँमा बसेर जुत्ता लगाइरहेको थियो । पुरा शरीरमा धुलै धुलो लागेको थियो । तर उसको काँधको झोला ठीकठाक थियो । आश्चर्य त यहाँ के भयो भने ली श्याआच्युन त्यो फलामे ढोकाबाट छेलिएर जोगिँदै बाहिर निस्किने बाटोतिर जानुको सट्टा लडखडाउँदै त्यतैतिर अगाडि बढ्दै गयो । “अरे यो लम्फुको दिमाग त ठीक छ ? यसलाई फेरि लाठी खाने धुन चढ्यो कि कसो ?”

ल्वो मिङमिङ लुकेर हेर्दै थियो । ली श्याओच्युनको फलामे ढोकामा पुगेर जोडले खट्खटायो । यो देखेर ल्वो मिङमिङ झसङ्ग भयो । धेरै नै डरायो । अब त्यस द्वारभित्रबाट बढेमानको लाठो निस्कन्छ भन्ने ल्वो मिङमिङलाई थाहा थियो । उसको अन्दाज सही निक्ल्यो । कुकुरको भौं भौं आवाजसगैँ बुढाको लाठी मच्चिएर ली श्याओच्युनको तिघ्रामा लागेको देखियो । चोट त्यति चर्को नहोला तर लाठो न हो, सकिनसक्नुको थिएन । ली श्याओच्युनले दुबै हातले आफ्नो टाउकोको बचाउ गर्दै भन्यो, “हजुरबा, हातको लाठो छाड्नुस् म यहाँ बदमासी गर्न आएको होइन ।”

बुढाले रिसाउँदै भन्यो, “बुद्धि भुटिएको बदमास ! हिजो मात्र मैले तँलाई पाठ पढाएर पठाएको होइन ? आज फेरि के विध्वंश गर्न आइस् ? तँ मेरो अरु पनि गमला पनि फोर्ने दाउ गर्दैछस् हैन ?” बुढाले अनुहार रातो पारेर डर लाग्दा आँखाले हेर्दै झपार्‍यो । कुकुर पनि टोकूँ–टोकूँजसरी लम्कँदै झम्टँदै भुकिरहेको थियो । ली श्याओच्युनले रोकिई रोकिइकन भन्यो, “हजुरबा म तपाईंको हिजो फुटेका गमलाको हर्जाना तिर्न आएको । मेरो घरमा केही गमला बेकारमा बसेका थिए । मैले मेरो आमासँग दुईटा मागें र आज लिएर आएँ । तपाई त्यसमा कृत्रिम पहाडको चित्र बनाउनुस्..................। ” यति भन्दै उसले आफ्नो झोलाबाट दुई ओटा चीनी माटोको गमला निकालेर ढुंङ्गाको बेञ्चमा राखिदियो । “ए ! आज झोला यति गरूङ्गो भएको त यिनै गमलाले पो रहेछ” ल्वो मिङमिङले सोच्यो ।

बुढो सन्न भयो । उसको हाटबाट लाठी छुट्यो र भुइँमा झर्‍यो । ली श्याओच्युनको कपाल मुसार्दै भन्यो, “हरे, कुरा यस्तो पो रहेछ ? तिमीलाई हिर्काएर मैले ठूलो गल्ती गरें । बाबु, तिमीलाई घाउ त लागेन ? मेरो बानी अलि बढी नै झोकी छ । तिमीले आएर यसरी गल्ती स्वीकार गर्लाउ भन्ने सोचेको थिइनँ ।”

“दुखेको छैन ” ली श्याओच्युनले भन्यो । झोलामा हात हाल्यो र एउटा औषधिको शिशी निकालेर बुढाको हातमा राख्दै लीले पुनः भन्यो, “यो सुन्निएको बसाल्ने औषधि हो, केही दिन अगाडि म नराम्ररी लडेको थिएँ, पाता ठोक्किएको थियो, सुन्निएको थियो, त्यतिबेला मेरो आमाले मलाई यही औषधि खुवाउनु भएको थियो । अब यो औषधि तपाईँको कुकुरलाई पिलाइ दिनुस् ।”

बुढाले केही नबोली औषधिको शिशी लियो र बढो स्नेहले यो दुब्लो पातलो केटातिर हेर्‍यो । ली श्याओच्युन फेरि झोलामा खोतल्न थाल्यो । “हजुरबा, यो परीकथाको किताब हो, मैले धेरै पटक पढिसकेँ । असाध्यै राम्रो छ । तपाईँलाई यो किताब उपहार दिन्छु भनेर ल्याएको । तपाईँलाई पनि यो किताब अति नै मन पर्छ । पढेर हेर्नुस त !”

बुढाले ल्याओयुनलाई अंगालो हाल्यो र सोध्यो, “बाबु तिमीलाई यस्तो विचार कताबाट आयो ?”

ली श्याआच्युनले अलि रोकिँदै भन्यो, “हिजो तपाईँले म एक्लो बिचरो बुढो हुँ भन्नु भएको थियो अनि ।”

बुढो आँसु पुछ्दै ढुङ्गाको मेचमा बस्यो । उसले ली श्याओच्युनलाई काखमा लियो र भकभकाउँदै भन्यो, “बाबु तिमी साँच्चिकै सज्जन केटा रहेछौ । तिमीलाई भेटेर म धन्य भएँ । धेरै पढ, धेरै राम्रा काम गर र जीवनमा महान् बन । मेरो आशीर्वाद ! मेरो शुभकामना ! ”

त्यति बेला त्यो कुकुर पनि स्नेहपूर्वक ली श्याओच्युनको हात सुँघिरहेको थियो । पर्खालभित्र लुकेर यी सबै घटना हेरिरहेको ल्वो मिङमिङको मनमा विचारको लहर उठ्यो । अहिले उसको मान्यता डगमगाउँन थाल्यो र आखिर डगमगायो नै ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.