बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वएमालेले नस्वीकारेको ‘जनयुद्ध दिवस !’

बिहीबार, ०१ फागुन २०७६, १४ : ५३
बिहीबार, ०१ फागुन २०७६

काठमाडौँ । बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालय धुम्बाराहीमा बिहान नौ बज्नुअघि नेता कार्यकर्ता भरीभराउ भैसकेका थिए । विगतका आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको स्मरणमा आयोजित कार्यक्रमको निर्धारित समय नौ बजेका लागि तोकिएकाले नेता कार्यकर्ता त्यसअघि नै पार्टी कार्यालय पुगेका थिए । पार्टी कार्यालय पुगेका अधिकांशको जिज्ञाशा थियो– अध्यक्ष केपी ओली कार्यक्रममा सहभागी होलान् या नहोलान् ? 

निर्धारित समयमा कार्यक्रम सुरु भएन । निर्धारित समयमा कार्यक्रम सुरु नभएपछि अध्यक्ष ओली आइनपुगेका कारण कार्यक्रम सुरु हुन ढिला भयो भन्ने धेरैले अनुमान लगाए । घडीको सुइरोले साढे नौ कटाएपछि अध्यक्ष प्रचण्ड लगायत सवै नेता पार्टी कार्यालयको हलमा छिरे तर ओली आएनन् । ओली नआएपछि दर्शक दिर्घामा बसेका नेता कार्यकर्ताबीच खासखुस चल्यो, ‘यसपटक पनि ओली आएनन् ।’
लगत्तै कार्यक्रम सञ्चालकले सहिदहरुप्रति मौन धारण गर्न १ मिनेटको समय छुट्याए । त्यसपछि सहिदको तस्वीरमा फूलमाला चढाउन नेताहरु पालैपालो अघि बढे । जसमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल लगायत थिए । 

मौनधारणपछि एक कार्यकर्ताले व्यङ्ग्य गर्दै भने, ‘केपी ओली, माधव नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले चाहीँ सहिदहरुलाई सम्झनु नपर्ने रहेछ ?’

हलमा भरिभराउ भएका नेता कार्यकर्ताबीच त्यसको जवाफ दिने कोही थिएनन् । 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपाली जनताले गरेको महान जनयुद्ध र जनक्रान्तिको ठुलो उपलव्धिका रुपमा लिइन्छ । हजारौँको बलिदानी र योगदानपछि स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन विगतमा फरक फरक पार्टीले फरक फरक किसिमका आन्दोलनहरु गरेका थिए । 

कहिले एक्लै त कहिले संयुक्त रुपमा भएका यस्तै आन्दोलनहरुमार्फत मुलुकमा जरा गाडेर बसेको राजतन्त्रको बर्हिगमन सम्भव भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । 

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न खासगरी तत्कालीन माओवादी, एमाले र काँग्रेसको विशेष भूमिका रह्यो । प्रकारान्तरमा ती तीन दलमध्ये तत्कालीन एमाले र माओवादी मिलेर नेकपा बनेको हो । विगतमा फरक विचार र फरक सिद्धान्त अँगालेका एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको दुई वर्ष हुन लागे पनि यी दुई दलवीच एकताको भाव अझै झल्कन नसकेको बिहीबारको धुम्वाराहीको यस्तो दृश्य र नेता–कार्यकर्ताको खासखुसबाटै प्रश्ट बुझ्न सकिन्थ्यो । 

प्रसंग हो फागुन १ अर्थात् २५ औं जनयुद्ध दिवसको । यो दिवसलाई नेकपाले विगत वर्षदेखि ‘जनयुद्धका सहिदहरुको स्मृतिमा’ आयोजित ‘श्रद्धान्जली सभा’का रुपमा मनाउँदै आएको छ । यसअघि फागुन १ गतेका दिन तत्कालीन माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएकोमा पार्टी एकतापछि यसको भाषा परिवर्तन गरेर स्मृतिमा श्रद्धान्जली दिवसका रुपमा मनाउन थालिएको हो । यद्यपि यो दिवसका अवसरमा हुने औपचारिक कार्यक्रममा तत्कालीन नेकपा एमालेका नेताहरु भने विरलैमात्र सहभागी हुने गरेका छन् । यो बर्ष पनि सुरुमा फागुन १ मा पार्टी कार्यालयमा राखिएको ‘श्रद्धान्जली सभामा’ नेकपाका दुवै अध्यक्ष केपी ओली र प्रचण्ड सहभागी हुने र सम्बोधन गर्ने भनिएको थियो । तर अन्तिम क्षणमा पार्टी कार्यालयमा राखिएको उक्त कार्यक्रममा ओली सहभागी भएनन् । त्यसो त ओली गत वर्ष पनि सहभागी बनेका थिएनन् । 

कार्यक्रममा ओली अनुपस्थित हुनुको कारण नखुलाइए पनि ओलीले अझै पनि ‘जनयुद्ध दिवस’ नस्वीकारेका कारण उपस्थित नभएको हुनसक्ने अर्थका रुपमा कार्यालयमा उपस्थित नेता कार्यकर्ताहरुमाझ गाइँगुई चल्यो । 

ओलीमात्र होइन, फागुन १ को कार्यक्रममा एमाले पृष्ठभूमिकै अर्का नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि सहभागी भएनन् । 

‘जनयुद्ध दिवस हामीले स्वीकारेको नै छैन । त्यही भएर जनयुद्धका सहिदहरुको स्मृतिमा श्रद्धान्जली कार्यक्रम राखिएको हो’, तत्कालीन एमाले समूहका नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘त्यही भएर ओली लगायतका केही शीर्ष नेताहरु नजानुभएको हुनसक्छ ।’

तर माधव नेपाल भने देशभित्र नभएकाले पनि बिहीबारको कार्यक्रममा नगएको उनको सहयोगी मोहन गौतमले जानकारी दिए । खनाल भने एमसीसी कार्यदलको बैठकका कारण उक्त कार्यक्रममा सहभागी नभएको खनालका सहयोगीले बताए । 

प्रधानमन्त्री समेत रहेका ओलीका प्रेस सल्लाहकार सूर्य थापा जिम्मेवारी बाँडफाँड भएकाले पार्टीका कार्यक्रममा भन्दा सरकारका काममा बढी समय दिनु परेकाले ओली सहभागी हुन नसकेको बताउँछन् । ‘पार्टीका कार्यक्रममा उहाँ धेरै हिँड्नु भएको छैन । कार्यकारी अध्यक्ष सहभागी भएपछि त्यति जरुरी पनि रहेन’, थापाको भनाइ छ । 

हुन त नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच जनयुद्ध तथा जनआन्दोलनमा साहदत प्राप्त गर्ने सहिदहरुलाई विशेष रुपमा स्मरण गर्नुका साथै त्यस क्रममा घाइते, अपाङ्ग तथा बेपत्ता परिवारहरुलाई विशेष सम्मान प्रकट गर्ने गर्ने सहमति नै भएको हो । त्यही भएर कार्यक्रम पार्टी कार्यालयमै राख्ने गरिएको छ । तर लगातार ओली जनयुद्ध दिवसका रुपमा हुने कार्यक्रममा नआउँदा पूर्व एमालेले जनयुक्तलाई अझै स्वीकार गर्न नसकेको कतिपय कार्यकर्ताको बुझाइ छ ।

त्यसो त जनयुद्धलाई बढी महत्व दिने कि जनआन्दोलनलाई भन्नेमा नेकपामा मतभेद कायमै छ । तर नेतृत्वले सहमतिका आधारमा बराबरी महत्व दिने भनिए पनि व्यवहारमा एकरुपता देखिँदैन । किनभने पूर्वमाओवादी पक्षका प्रचण्ड भने पुष्पलाल, मदन भण्डारी र मनमोहनलगायतका नेताको स्मृति या श्रद्धान्जली कार्यक्रममा जान अक्सर छुटाउँदैनन् । ओली भने जनयुद्ध स्मृति दिवसका अवसरमा सहभागी हुन नचाहेको पटक पटक देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप