शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यती समूहको स्पष्टोक्ति : शोकको घडीमा बदनाम गर्न खोजियो

बिहीबार, ०१ फागुन २०७६, ११ : ४२
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं । यती समूहले सञ्चार माध्यममा आफूविरुद्ध आएका समाचारको खण्डन गरेको छ । दरबारमार्ग तथा ताहाचलमा रहेको नेपाल ट्रष्टको जग्गा, गोकर्ण गल्फ तथा रिसोर्टको जग्गा, ताप्लेजुङको पाथीभरामा केवलकार सञ्चालनमा लागि लिइएको जग्गा तथा नेपाल वाइल्डलाइफ डेभलपमेन्ट कम्पनीको जग्गाको लिजमा लिइएको विषयसँग जोडिएर आएका समाचारहरु कपोलकल्पित र भ्रामक भएको यतीले जनाएको हो ।

समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले जारी गरेको विज्ञप्तीमा सो समूहका प्रिय सदस्य आङछिरिङ शेर्पालाई गुमाएको एक वर्ष पनि पूरा नभएको अवस्थामा त्यसरी नियोजित रूपमा र सिलसिलाबद्ध ढङ्गले आफूहरुमाथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता र चासो व्यक्त भएको जनाइएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्रभित्र पर्ने पाथीभरा केवलकार आयोजनाका लागि जग्गा लिज प्रकरणलाई जोड्दै यतीले सो आयोजनामा आफ्नो समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व हुनेगरी ५ वर्ष अघि नै कम्पनी स्थापना गरिएको जनाएको छ । सो जग्गा समाचारहरुमा आएजस्तो ८० वर्षका लागि नभएर ३० वर्षका लागि लिइएको र वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन अनुसार ३१७ रोपनी नभएर ९८ रोपनी जग्गा मात्रै लिइएको समेत उसको दाबी छ ।

यो आयोजना बनाउनुको उद्देश्य पाथीभरा देवीको महिमा बढाउनु र ताप्लेजुङ जिल्लाको पर्यटन विकास गर्नु रहेको भन्दै सरकारसँग सो जग्गा लिँदा प्रतिहेक्टर १६०० रुख रोप्ने, ५ वर्षसम्म आफैं स्याहार गरी सरकारलाई हस्तान्तरण गर्ने, प्रत्येक १० वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने जस्ता बुँदा उल्लेख भएको भन्दै ती सबै सम्झौताहरु पालना गर्न आफू प्रतिबद्ध रहेको समेत यतीले जनाएको छ ।

त्यस्तै, फुङलिङ नगरपालिकाले जग्गा दिँदा समेत सबै कानूनी प्रक्रिया पूरा गरेको र यो प्रक्रियामा संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति रहेको उल्लेख गरिएको छ । ‘उक्त आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना रहेको पनि जानकारी गराउन चाहन्छौँ । राष्ट्रिय योजना आयोगले २०७५ भदौं ५ गते विशेष निर्णय गरी यस आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भनेर घोषणा गरेको थियो । यसबाट हामीलाई स्वदेशमै कमाएर स्वदेशमै लगानी गर्न अझ प्रोत्साहन मिलेको छ’ यतिले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । त्यस्तै, आफ्नो ग्रुपविरुद्ध सांघाई ग्रुपले हालेको मुद्दामा सर्वोच्च अदालतले २०७५ भदौमा फैसला गरी आफूलाई जिताएको समेत जनाइएको छ ।

त्यस्तै, दरबारमार्ग र ताहाचलको जग्गाको लिजका लागि भएको टेन्डर प्रक्रियामा आफ्नो समूहले सबैभन्दा बढी बोलकबोल गरि लिएको समेत सम्बन्धित निकायहरुको कागजातले पुष्टि गरेको समूहको तर्क छ । गोकर्णको गल्फ कोर्स र रिसोर्ट सो समूहको कम्पनीले विदेशी नागरिकबाट सेयर खरिद गरी प्राप्त गरेको र त्यसमा पुर्वाधार विस्तार र मर्मत कार्यको लागि पहिलेको भन्दा २१६ प्रतिशत बढी लिज रकम तिर्ने र आवश्यक मर्मतसम्भार समेत गर्नेगरी लिएको र त्यसमा सबै कानूनी प्रक्रिया पूरा गरेको जनाइएको छ । सो क्षेत्रको २७०० रोपनी जग्गामध्ये गल्फ कोर्टले ४०५ रोपनी र रिसोर्टले १३५ रोपनी जग्गा मात्रै प्रयोग गरेको र बाँकी जङ्गल र वन्यजन्तुको सुरक्षामा प्रयोग भएको जनाएको छ ।

उता, नेपाल वाइल्डलाइफ डेभलपमेन्ट कम्पनीको जग्गा तात्कालिन राजा वीरेन्द्रले २०५७ सालमा विदेशी नागरिकलाई लिजमा दिएको र ३ वर्ष अघि मात्रै आफ्नो समूहले लिएको भन्दै सो समूहले विदेशीले लिएसम्म कुनै चासो नहुनु तर आफूले लिएपछि सुनियोजित रुपमा आक्रमण हुनुको उद्देश्य के हो भन्दै समूहले प्रतिप्रश्न समेत गरेको छ । ‘ विदेशीको मातहतमा रहेको कम्पनी के एउटा नेपालीले देशकै हितमा देश भित्रै व्यवसाय सञ्चालन गर्न नपाउने ?’ विज्ञप्तीमा भनिएको छ ।

यती समूहका तात्कालिन अध्यक्ष आङछिरिङ शेर्पाको गत जेठमा हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएको थियो । परिवारको सदस्य गुमेको एक वर्षको अवधिभरलाई शोकको वर्ष मान्ने परम्परा अनुसार हाम्रो शेर्पा परिवार अहिले शोक भएको भन्दै यस्तो शोकको घडीमा भएका भ्रमपूर्ण नियोजित र कपोलकल्पित समाचारलाई यतीले संवेदनाहीन भन्दै त्यसवाट कतिपनि विचलित नहुने समेत स्पष्ट पारेको छ ।

‘तर आम नेपाली नागरिकलाई प्राप्त संविधान तथा कानुनी हकअनुसार स्वतन्त्रतापूर्वक व्यवसाय सञ्चालन गर्न पाउने हकमाथि नियोजित रूपमा सिलसिलाबद्ध भइरहेको प्रहारप्रति भने हामीलाई गम्भीर चिन्ता र चासो छ’ विज्ञप्तीमा यती समूहले भनेको छ, ‘सरकारले लगानीको वातावरण बनाउने नीतिगत व्यवस्था गरेको सन्दर्भमा यती समूहजस्तो राष्ट्रिय व्यवसायी एवं स्वेदशी लगानीकर्तालाई हतोत्साहित बनाउने अभिप्रायले गरिएको दुष्प्रचार निन्दनीय रहेको हाम्रो ठहर छ । सधँै सत्यको मात्र जीत हुनेछ । कानुनभन्दा माथि कोही हुँदैन । त्यसैले कानुनको मात्र जीत हुने छ भन्ने हाम्रो अटुट विश्वास आमरूपमा प्रकट गर्न चाहन्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप