केन्द्रीय संस्करण

२५औँ जनयुद्ध दिवस : मथिङ्गलमा हजार प्रश्न

person explore access_timeफागुन १, २०७६ chat_bubble_outline0

नेपालको अढाई सय वर्ष पुरानो राजतन्त्रात्मक व्यवस्थाविरुद्ध एक दशकसम्म लाखौँ जनतालाई सङ्गठित र व्यवस्थित विद्रोहमा सामेल गराएको राजनीतिक आन्दोलन यही फेब्रुअरी १३ देखि २५औँ हेमन्तमा  लाग्दैछ । आफैमा यो आन्दोलनको जीवन अहिले हेमन्त ऋतुको हिउँ सोहोर्दै  छ वा शरद ऋतुको सिरेटो व्यहोर्दै छ तर केही थान नेताहरुको जीवनमा भने वसन्त बहार आएको चाहिँ ध्रुव सत्य हो । यो पङ्क्तिकारले आफ्नो जीवनका पूरै दुई दशक स्वयंसेवी रूपमा यो आन्दोलनभित्र बिताएकाले आफ्ना केही विचार यहाँ लेख्दै छु ।

१९९६ फेब्रुअरी १३ लाई आरम्भ बिन्दु मानिएको राजतन्त्र विरुद्धको नेपाली कान्छो  सशस्त्र विद्रोहले पुरानो व्यवस्थाको अन्तिम मेरुदण्ड करिब एक लाख सेनाविरुद्ध एक चौथाइ सेना निर्माण गरेको इतिहासको तथ्य हो । देशका नब्बे प्रतिशत भूभागमा नयाँ सत्ताका भ्रुणहरु जन्माएको अर्काे तथ्य हो । राजनीतिक तथा फौजी रूपमा पुरानो सत्तालाई हायल कायल पारेको पनि सत्य हो । सुदूर कर्णालीका अनपढ युवा सुदूरपूर्वका सामरिक नक्सा कोर्दै फौजी श्रेष्ठता कायम गरेको र देशका हजाराँै फौजी ठेगानामा निर्मम हमला गरेको पनि सत्य हो । तर पच्चीस वर्ष लाग्दै गर्दा के यी सत्यहरु सपना जस्ता लाग्दैनन् ? र, केही थान नेताहरु र तिनका परिवार वा भजन मण्डली नयाँ सत्ताका मसिहा भएको मात्रै धु्रव सत्य हो जस्तो लाग्दैन ?

संविधान सभाबाट नयाँ संविधान  निर्माण भएको र पुरानो व्यवस्था आर्यघाटमा सेलाइएको सत्य हो तर केन्द्रदेखि गाउँगाउँ पुगेको सिंहदरबारमा जनताबाट चुनिएका भनिएकाहरु नेपालका अन्तिम राजा जस्तै व्यापारी र ठेकेदार भएको सत्य स्थापित हुन खोज्दैछ । के एउटा व्यापारी र ठेकेदार राजा फालेर सयौँ राजालाई पुनस्र्थापित गर्न लाखौँ जनताले आफ्नो आँशु पसिना र  बलिदानी गरेका थिए ? के समाजवाद ठेक्कापट्टा, कमिसन र भ्रष्टाचारको बाटो हुँदै आउने हो ? र वैधानिक रूपमा नियुक्त भएका केन्द्रदेखि गाउँसम्मका राजाको लागि आएको वा आउँदै गरेको समाजवादलाई आन्दोलनमा  इमानदार र क्रान्तिकारीहरुले काँध थामिदिनुपर्ने कुरो ठीक हो ? अथवा तिनलाई चुच्चे टोपी लगिदिन सल्लाह गर्नु अहिलेको सत्य होइन र ?


आन्दोलनको फुट र विभाजन गर्दै अप्राकृतिक एकतामा रमाउने र  नयाँ संकरणको राजतन्त्रविरुद्ध आवाज उठाउनेलाई अझै पनि जेलमा कोच्ने प्रचलनलाई वैधानिक बनाइएको छ ।  अन्याय, भ्रष्टाचार र अशान्तिका विरुद्ध शान्ति, न्याय र शिष्टाचारमार्फत अपूरा राजनीतिक मुद्दाहरु लागि आवाज उठाउनेहरुको  निवास जेल नै हो भने त्यो सत्य स्वीकार गर्न अर्काे पुस्ता जन्मनु अनिवार्य छ ।


नेपाली जनयुद्धको पच्चीसौँ वर्षगाँठको स्मरण गरिरहँदा फागुन १ लाई सकभर बिर्सन खोज्ने नेतृत्वको इरादा बेपत्ता हाम्रा पत्रकार मिलन नेपाली लगायत हजारौँ असल नागरिकलाई बिर्सन खोज्ने होइन र ? बेपत्ता बनाउनेहरूलाई उन्मुक्ति, बढुवा र पुरष्कृत गर्न लाखौँ घडी र पला जाग्राम हुने नेताहरु बेपत्ता हाम्रा प्रिय कमरेडहरुको खोजीका लागि विनय गर्दा किन सुतिरहेका होलान् ? के यिनले फागुन १ सम्झिरहेका होलान् ? सत्य के हो– बेपत्ता योद्धाहरुको लास र सास नभेटिनु सत्य हो कि बेपत्ता गर्नेहरुका पक्षमा सास नफेरी लाग्नु सत्य हो ? के सङ्क्रमणकालीन न्यायको कुनै गुन्जायस छ ? पीडितलाई प्रलोभन वा डर धम्की होइन न्यायको बाटोका पक्षमा ओकालत गर्नु कर्तव्य हो वा अन्याय गर्नेहरुको शासन, व्यापार र फुल्ली थप्न रबर स्ट्याम्प बनेर उनीहरुसँग  लगनगाठो जोड्नु पच्चीसभित्रैको क्रान्तिकारी छलाङ्ग हो ?  (ओ–अ) प्रिय सत्तासीन कमरेड यो गर्न तिम्रा हातहरु काम्दैनन् ? फागुन १ तिमीले इतिहासको गौरवशाली दिन थियो भन्ने बिर्सिसकेको सत्य प्रमाण यही होइन र ?

यसै फागुनमा तत्कालीन राज्यले हत्या गरेका १४ वर्षका दिलबहादुर रम्तेल अहिले चालिसको फेरोमा लाग्थे र उनीपछि क्रमशः पछिल्लो मितिमा लगातार दस वर्षसम्म मारिएका र जनताको व्यवस्थाका लागि पीरतापूर्वक मृत्यु स्वीकार गरेका  १४ हजार सुन्दर  जीवनहरुको बलिदानमाथि नैतिकहीन राजनीति गर्नुभन्दा सहिदको रगत पोखिएको माटो छोएर नैतिकहीनहरुको भण्डाफोर गर्नु सत्यको पक्ष लिनु हो । सहिदको बलिदानीबाट आएको र ल्याएको सार्वभौम संसदमा राजतन्त्रको कुडा कर्कटलाई उनीहरुको डाकागिरी र हत्या हिंसाको पुरस्कार स्वोरूप भव्य शपथग्रहण गराउनु रातो गलैँचा कुल्चिँदै  प्रतिक्रान्ति आगनमा आइपुग्नु होइन र ?

प्रतिक्रान्तिलाई रातो गलँैचाको बाटो हुँदै स्वागत गर्ने तर क्रान्तिकारीहरु बाध्यताले देश निकाला भएकोमा क्रिसमस केक काट्नेहरुबाट  पछिल्लो क्रान्तिका उपलब्धिहरु अपहरित भएका छन् । के ती अपहरणकर्ताविरुद्ध बोल्नु यो युगको आवश्यकता होइन ? फागुन १ वा फेब्रुअरी १३ को सन्देश यो पच्चीस वर्षपछि पनि यही हो कि क्रान्तिका अपहरणकर्ताहरु विरुद्ध निरन्तर आवाज जारी राखौँ । शान्ति र अन्यायको पक्षको हाम्रो आवाजले उनीहरुको स्वर्गमा खैलाबैला मच्चिन्छ भने दुन्दुभी अझै जारी राखौँ । के अहिलेको सत्य यही होइन र ?  

आन्दोलनको फुट र विभाजन गर्दै अप्राकृतिक एकतामा रमाउने र  नयाँ संकरणको राजतन्त्रविरुद्ध आवाज उठाउनेलाई अझै पनि जेलमा कोच्ने प्रचलनलाई वैधानिक बनाइएको छ ।  अन्याय, भ्रष्टाचार र अशान्तिका विरुद्ध शान्ति, न्याय र शिष्टाचारमार्फत अपूरा राजनीतिक मुद्दाहरु लागि आवाज उठाउनेहरुको  निवास जेल नै हो भने त्यो सत्य स्वीकार गर्न अर्काे पुस्ता जन्मनु अनिवार्य छ । यदि (ओ–अ) प्रिय सत्तासीन लाल मित्रहरु तिमी बन्दुकले होइन विवेकले शासित छौ भने र राजनीतिक नैतिकताको झिनो अंश बाँकी छ भने अघिल्लो राजतन्त्रदेखि पछिल्लो तिम्रो राजतन्त्रसम्मका सबै झुटा मुद्दा माघ अन्तिम दिन अगेनामा जलाऊ र  फागुन १ मा निःसर्त आममाफी सहित शान्तिका परेवा गणतन्त्रको नील गगनमा उड्न देऊ ।

सलाम

महान नेपाली जनता

उसको अदम्य साहसको विद्रोह

जो  महान थियो,

रहिरहने छ– यो ‘प्लानेट’ रहेसम्म ।

तिमीले,

क्रान्तिकारीका हत्याराहरुसँग

रोज ‘रोज’ साटिरहँदा

र, उनीहरुसँगै प्रेम गर्ने ‘प्रपोज’ दोहोर्‍याउँदै गर्दा

हामी भने बिर्सने छैनौँ

फेब्रुअरी १३ को आँधीहुरी,

तर बरु बिर्सने छौ १४को भ्यालेन्टाइन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...